आदिकवि होइन, भानुभक्त हुँ

  प्रकाशित मिति
३० असार २०७३, बिहीबार १६:०२


4 bhanubhaktaअसार २९ गते । नेपाली साहित्यका आदिकविको जन्मदिन । मिल्दो नाउँ भएकाले मलाई समेत जन्मदिनको शुभकामना दिने शुभेच्छुकहरू हुनुहुन्छ । नेपाली साहित्यका अमर नक्षत्रप्रति हार्दिक शब्दश्रद्धा अर्पण गर्दै यो लेख सुरु गर्छु ।

भानुभक्त आचार्य मेरो न्वारानको नाउँ हो, मैले आफूखुसी राखेको होइन । मेरो नाउँसँग अरू कसैको नाम मिल्दो रहेछ भन्ने मैले तीन कक्षामा पढ्दा पत्तो पाएँ । गाउँकै एकजना दाईले पढ्ने नेपाली किताबको एउटा फोटो देखाए । उतिबेला लेटर प्रेसमा छापिएको श्यामश्वेत त्यो फोटो आदिकवि भानुभक्त आचार्यको थियो । त्यो फोटोमा मेरो खासै ध्यान गएन तर त्यस मुन्तिर आफ्नै नाउँ लेखिएकाले भने म चकित परेँ ।

कक्षा चारमा उक्लिनासाथ मैले आदिकवि भानुभक्तका बारेमा लेखिएको त्यो पाठ निकै चाख मानेर पढेँ । दोहो¥याएँ, तेहे¥याएँ । कविता लेखेरै सारा देशले चिन्ने ठूलो मान्छे बनेका ती व्यक्तित्वबाट म यति प्रभावित भएँ कि म जानी नजानी कविता लेख्न थालेँ । कक्षा ६ मा पुग्दा म विद्यालयले आयोजना गर्ने कविता प्रतियोगितामा भाग लिन थालिसकेको थिएँ । हाईस्कुल छाड्ने बेलासम्ममा म गाउँछिमेकमा र साथीभाइबीच एउटा ठिनेमिने कवि भइसकेको थिएँ । झापा जिल्लाको डोरामारी स्कुलमा कक्षा ६ मा पढ्दा नेपाली शिक्षकले कविता लेख्ने गृहकार्य दिए । त्यस कविताले मलाई विद्यालयमा कविको परिचय दियो ।

आफ्नै परिचयका बारेमा लेखिएको कविताका केही हरफ यस्ता थिए–
नाम मेरो भानुभक्त आचार्य हो थर,
नेपालको झापा जिल्ला डोरामारी घर ।।
डोरामारी निमाविमा कक्षा ६ मा पढ्छु,
पढी ज्ञानी ठूलो भई भोलि अघि बढ्छु ।।

प्रसिद्ध व्यक्तिहरूसँग नाउँ मिल्दाका केही फाइदा छन् । पहिलो, जो कोहीले तपाईँको नाउँ तत्कालै सम्झिहाल्छ । कुनै सानो ठूलो सभा–समारोहमा जाँदा आफ्नो नाउँ भन्नेबित्तिकै मान्छेका कान ठाडा हुन्छन् । सबैको आकर्षणको केन्द्र भइन्छ । कुनै ठाउँमा पढाउन, तालिम दिन वा अन्य कुनै समारोहमा जाँदा तुरुन्तै चिनिन चलेका नाउँले फाइदा पु¥याएको कुरा व्यक्त गर्न म संकोच मान्दिन । दोस्रो कुरा, राम्रो मान्छेसँग नाउँ मिल्दा आफूलाई अलिकति भए पनि सकारात्मक हुन दबाब पर्छ । त्यस्तो दबाब आफूले अनुभव गर्न सक्नुपर्छ । नामको शाब्दिक अर्थ र त्यस शब्दसँग जोडिएको कुनै ऐतिहासिक वा सांस्कृतिक पृष्ठभूमि पनि थाहा पाउन सकियो भने त अझ सुनमा सुगन्ध नै भयो । तेस्रो कुरा, अचेल तपाईँका बारेमा कसैले जान्न चाह्यो भने गुगलमा नाउँ टाइप गर्छ र तपाईँका बारेमा थप सूचनाहरू खोज्छ । त्यहाँ उपलब्ध हुने सूचनाका आधारमा तपाईँका बारेमा कसैले धारणा बानाउने हो ।

यो लेख लेख्ने क्रममा गुगलमा भानुभक्त आचार्य नाउँ हालेर खोज्दा अङ्ग्रेजीमा ९८ हजार २ सय र नेपालीमा ४२ हजार ९०० फाइल फेला परे । मेरो बारेमा कसैले गुगलबाट जान्न खोज्यो भने आदिकविको बखान देखेर त्यो जिल्ल पर्छ ।
ठूला मानिससँग नाउँ मिल्दाका व्यथाहरू पनि उत्तिकै छन् । यहाँ म केही प्रसङ्गहरू राख्न चाहन्छु ।

प्रसङ्ग एक, मेरो शब्द र सत्यकला राईको स्वरमा ०५८ सालतिर रेकर्ड भएको ‘भँवरालाई त के छ र उडिदिए पुग्छ’ गीतलाई आदिकवि भानुभक्तकै रचना होला भनेर कसैले भानु सेवा समिति, रानीपोखरीमा लगेर दर्ता गरेछ । अनि आदिकविले यो गीत कुन सन्दर्भमा रचना गरेका रहेछन् भनी त्यहाँका केहि पदाधिकारी धुइँधुइँ खोज्दै रहेछन् ।

एक दिन त्यस समितिका एकजनाले मसँग परिचय गरिसकेपछि त्यो रहस्य खोले । मैले त्यो गीत मैले रचना गरेको हो, नपत्याए सत्यकलालाई सोध्नु भनी उनको रहस्य फुकाइदिएँ । त्यसपछि त्यो गीत आदिकविको श्रेयबाट हटाइयो रे । ज्यूँदै गीतकारलाई झन्डै मारिसकेछन् ।
प्रसङ्ग दुई, मैले पत्रकारिता र आमसञ्चारसम्बन्धी केही पुस्तक पनि लेखेको छु । नेपालीमा लेखिएका पुस्तकमा भानुभक्त आचार्य र अङ्ग्रेजीमा लेखिएका पुस्तकमा बीबी आचार्य लेखिएको छ । बीबी आचार्य लेख्नुका पछाडि अर्कै कहानी छ । यहाँ प्रासङ्गिक नहोला ।

मैले सुनेअनुसार रत्नराज्यलक्ष्मी (आरआर) कलेजमा एकजना प्रशिक्षकले स्नातक तहका विद्यार्थीहरूलाई पत्रकारिताका बारेमा प्रश्नोत्तर गर्दै थिए । यसै क्रममा एकजना छात्राले ‘आदिकवि भानुभक्तले लेखेको आमसञ्चार र पत्रकारिता पुस्तकमा यस्तो लेखेको छ त सर’ भनेर फरक मत राख्न खोजिन् । सर पनि के कम, ‘आदिकविका पालामा यो देशमा पत्रकारिता सुरु भएको थियो ?’ भनी कड्किएछन् । उनी नीलो–कालो भएर थचक्क बसिछन् । यो प्रसङ्ग मलाई चिन्ने त्यहाँकै समकक्षी एक विद्यार्थीले सुनाएका हुन् ।

प्रसङ्ग तीन, ०६० सालको एक दिन विराटनगर गएका बेला एभरेस्ट बैङ्कको मेरो एटिएम कार्डले काम गरेन । कतै खातामा पैसा सकियो कि भनेर चेक गर्नलाई मेरो खाता भएको एभरेस्ट बैङ्कको पुल्चोक (ललितपुर) शाखामा मोबाइलबाटै फोन गरेँ । त्यसबेला मोबाइलको कल गरेको र उठाएको पनि चर्को पैसा लाग्थ्यो । उताबाट एकजना महिला कर्मचारी बोलिन्, ‘तपाईंको नाम के हो ?’ मैले जवाफ दिएँ, ‘भानुभक्त आचार्य ।’ ती महिला खित्का छाडेर हाँसिन्, उनको छेउमा भएका साथीहरूलाई समेत भानुभक्त आचार्य भन्ने मान्छे बोल्दै छ, मलाई त डरै लाग्यो भनेर सुनाइन् । उनीहरू पनि हाँसे । यता, मोबाइलमा कति पैसा सकियो होला भनेर मेरो मुटु ढुकढुक भइरहेको थियो । तैपनि मन थामेर कुरेँ खातामा भएको रकम थाहा पाउनलाई । अनि युवती बोलिन्, ‘तपाईं अहिले स्वर्गमा हो, तपाईंका पालामा हाम्रो बैङ्क थियो र ?’ मसँग जवाफ थिएन, केवल रिसको ज्वाला मात्रै थियो । प्रतिवाद गर्दा झन् बढी पैसा सकिएला भनेर फोन काटेँ । मलाई कसैको नाउँमा चिनिनुको पीडाको उत्कर्ष त्यस दिन थाहा भो ।

प्रसङ्ग चार, ०६५ सालमा नेपाल पत्रकार महासङ्घले कर्णाली महोत्सव आयोजना ग¥यो । जुम्लामा आयोजना गरिएको त्यस कार्यक्रममा मूल प्रशिक्षक भएर म गएको थिएँ । तेस्रो दिनको तालिम कार्यक्रम सकिए पनि एकजना सहभागी एलपी देवकोटा (हाल कान्तिपुर संवाददाता) ले मलाई जुम्ला बजारका विभिन्न स्थानमा घुमाउन लिएर गए । बाटोमा हिँड्दै गर्दा उनले सोधे, ‘तपाईँको नाम ठ्याक्कै भानुभक्त आचार्य हो र सर ? न्वारानको नाउँ अर्कै होला नि ?’ मैले भने, ‘मेरो योबाहेक अरू कुनै नाउँ छैन, म के गरूँ ?’ उनले थपे, ‘अनि नाउँ सुनेर मान्छे हाँस्दैनन् ?’ फेरि मैले भने, ‘हाँसे हास्दै गर्छन् नि !’ उनले भने, ‘मेरो नाउँ पनि खासमा लक्ष्मीप्रसाद देवकोटा हो, तर मान्छेले जिस्क्याएर हैरान पारे अनि एलपी देवकोटा राखेको हुँ । अहिले धेरै राहत भएको छ ।’ उनी अलि गम्भीर देखिए । मैले ठट्यौली पारामा भने, ‘ल हेर, मरेका कविहरू ज्यूँदै भेट भएछौँ । अर्को समाचार बन्ने भो ।’

प्रसङ्ग पाँच, म मात्रै होइन, अन्नपूर्ण पोस्टका हेटौँडा संवाददाताको नाउँ पनि भानुभक्त आचार्य हो । उनीसँग मेरो औपचारिक चिनजान थिएन । उनको बाइलाइनमा मकवानपुरका समाचारहरू पढ्ने गरेको थिएँ । त्यसबेला अन्नपूर्ण पोस्टमा मानवअधिकार र पत्रकारिताका विविध पक्षबारे मेरा लेखहरू बरोबर प्रकाशित हुन्थे । उनी हेटौँडामा बसेर बधाइ थाप्दा रहेछन् ।

सन् २०१० को मानवअधिकार दिवसका दिन प्रकाशित मेरो लेखमा उनलाई बधाइ दिनेहरू झन्डै दुई दर्जन थिए रे । तपाईंले किन बधाई थापिरहनुभयो त ? भन्ने मेरो जिज्ञासामा उनले बडो व्यावहारिक जवाफ दिए– ‘हरेकलाई त्यो व्यक्ति म होइन भनी स्पष्टीकरण दिन भ्याइएन । अनि लेख्ने व्यक्तिलाई आफैँले समेत नचिनेकाले फलानो व्यक्ति भनी बुझाउन सकिन ।’ पछि लेखसँगै फोटो पनि छापिन थालेपछि भने उनलाई बधाई दिनेहरू घटेछन् । यता काठमाडौँमा म हरेक वर्षजसो पुस्तक प्रकाशन वा परिमार्जन गरिरहन्थेँ । उता हेटौंडामा उनीसँग पुस्तक माग्नेहरूको भीड लाग्ने रहेछ अनि उनले त्यो व्यक्ति म होइन नभनी सुखै पाएनन् ।

कहिलेकाहीँ व्यावहारिक तनाब वा झमेलाबाट दिक्क हुँदा मनमा अनेकथरी कुराहरू खेल्छन् । जेसुकै होस्, यो दैनिक लफडामा पर्नुभन्दा आदिकविको पुनर्जन्म भएको हो, म त्यही मान्छे हुँ भन्दै हिँडूँ कि जस्तो पनि लाग्थ्यो कुनै समय । भानुभक्तको जीवनी कण्ठ पार्ने, दुई चारओटा कविता घोक्ने अनि किताबमा नभएका कुरा आफैं फूल पार्ने । भन्दिए भैगो । पत्याउने मान्छेको हुल भइहाल्छ । आदिकवि भानुभक्तका बुवा धनञ्जय आचार्य, हजुरबुवा श्रीकृष्ण आचार्य । मेरा बुवा कृष्णप्रसाद आचार्य र तीन हजुरबुवामध्ये कान्छाको नाउँ धनञ्जय आचार्य । मिलेन त कुरा ।

तर, मभित्रको अस्तित्ववादी धारले त्यस्ता हचुवा कुरामा बहकिन वा विचलित हुन दिएन, दिँदैन र नदेओस् पनि । जब मैले एमए (अङ्ग्रेजी) मा अस्तित्ववादका बारेमा पढेँ, मलाई आफ्नै मौलिक नाउँ नभएकामा ग्लानी भयो । मैले आफ्नो नाउँभन्दा मान्छेहरूले अरु कसैलाई सम्झिदिन्छन् । मेरो विचार व्यक्त गर्दा इतिहासको कुनै व्यक्तिको विचार होला भनी बुझिदिन्छन् । मैले लेखेका गीत, कविता आदि समेत आदिकविका हुने भए । अरू त अरू, मेरो नाउँ सुन्नेबित्तिकै मरेको मान्छे भन्दै हाँस्न थाल्छन् । म आफ्नो अस्तित्वका लागि लेखिरहेको छु । म पुरानै नाउँमा नयाँ अस्तित्व खोज्न चाहन्छु । आदिकविको नाउँ सापटी लिएबापत लोकहित गर्न मेरो सत्प्रयास जारी छ ।

(२०७३ असार ३० गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: