आदिवासी–जनजाति एकोहोर्याउने दाउ

  प्रकाशित मिति
१६ बैशाख २०७४, शनिबार २३:४५


hansslal

पुरानो मेचीनगरमा हाल बाहुनडाँगी, धाइजन, दुहागढी र ज्यामिरगढी मिसिएको छ । जातीय बसोबासका आधारमा हेर्ने हो भने यस नगरमा आदिवासी जनजातिको मत लगभग ४५ प्रतिशत रहेको बताइन्छ ।

त्यही मत तान्न सके चुनाव जितिने योजनाका साथ माओबादी केन्द्रले आदिवासी नेता हंशलाललाई मेयरको उम्मेद्वार बनाएको हो ।
दुहागढी र ज्यामिरगढी क्षेत्रमा राजबंशी, सन्थाल, मेचेको सघन बसोबास रहेको छ भने धाइजन र मेचीनगरमा मेचे, धिमाल, किसान, मुण्डा लगायतका समुदायको बाक्लो बसोबास छ ।

मेचीनगरमा करीव ३० प्रतिशत मतदाता राजबंशी समुदायकै भएको उल्लेख गर्दै उनी अरु पार्टीले मेयर पदमा आदिवासी उम्मेद्वार खडा नगर्ने निश्चित जस्तै देखिएकाले आफुलाई झन् सजिलो हुने बताउँछन् ।

राप्रपाले मेयर पदमा बाहुनडाँगीका अशोक सुब्बालाई उम्मेद्वार बनाए पनि राप्रपाले आदिवासी जनजातिको कुनै पनि मुद्दा नबोकेको उनको जिकीर छ ।

आदिवासी जनजातिको अनुहार र एजेण्डा दुबै बोक्ने उम्मेद्वार माओबादीले प्रस्तुत गरेको धारणा व्यक्त गर्दै पार्टीका मेचीनगर निर्वाचन परिचालन कमिटीका संयोजक माधव अर्याल भन्छन्–‘हाम्रो जित्ने एउटा महत्वपूर्ण आधार यही हो ।’

मुलुकमा संविधानसभामार्फत संविधान निर्माण गर्ने, स्थानीय सत्ताको अवधारणा ल्याएर त्यसलाई कार्यान्वयन गर्ने, गणतन्त्र एवम् सङ्घीयता ल्याउन बलिदानी जनयुद्ध गर्ने पार्टी माओबादी भएको जनाउँदै संयोजक अर्याल अब जनताले ‘जसको नीति उसकै नेतृत्व’ बनाउने दावी गरेका छन् ।

माओबादीका पूर्व सांसद् चन्द्र मेचे हंशलाल नगरका जनता र समयले खोजेजस्तै उपयुक्त उम्मेद्वार भएको बताउँदै उनको पक्षमा जनलहर आउने दावी गर्छन् ।

मेयरका उम्मेद्वार हंशलाल माओबादीको जातीय मोर्चा कोचिला राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष तथा माओबादी पार्टीका जिल्ला कोषाध्यक्ष समेत हुन् ।

 

indira karki

कम्युनिस्ट आन्दोलनकै क्रममा ताप्लेजुङको सिनाममा २०४१ सालमा पक्राउ पर्दा २५ दिन जेल समेत बसेका उनी माओबादीको जनाधार नखस्केको दावी गर्छन् ।

पहिलो संविधानसभादेखि चुनावमा होमिन थालेको माओबादीले त्यसबेला समर्थन मतको सुनामी नै ल्याएको थियो ।
माओबादी पार्टीभन्दा अलग स्वतन्त्र बामपन्थीको रुपमा रहँदै आएका धर्म घिमिरेले माओबादीको टिकटबाट उसबेला यस क्षेत्रबाट सभासद्को चुनाव जितेका थिए ।

पहिलो संविधानसभामा काङ्ग्रेसले दोस्रो र एमालेले तेस्रो मत ल्याएको थियो ।
तर दोस्रो संविधानसभा चुनावमा परिणाम उल्टिएको थियो । सजिलै जित्ने आशाका साथ माओबादीबाट उम्मेद्वार बनेका बोधराज दाहालले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो भने एमालेका रविन कोइरालाले चुनाव जितेका थिए । काङ्ग्रेसका विश्वप्रकाश शर्माले दोस्रो स्थानमा बस्नु पर्यो ।

दोस्रो संविधानसभाको चुनावभन्दा अहिले परिस्थिति खासै नबद्लिएको मान्ने हो भने माओबादी उम्मेद्वारले जित्नका लागि पुरानो जनाधारमा मात्र भर पर्न सक्ने अवस्था छैन ।

त्यसैकारण माओबादीले प्रभावशाली आदिवासी उम्मेद्वार खडा गरेर नगरको चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको सहजै विश्लेषण गर्न सकिन्छ ।

यसैविच, मेचीनगरमा माओबादीले उपमेयरमा मेचीनगर–९ निवासी इन्दिरा कार्की (आयुषा)लाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
२०५९ सालदेखि माओबादी आन्दोलनमा लागेकी उनले २०६३ सालसम्म भूमिगत राजनीतिक जीवन बिताउनु परेको थियो ।
पार्टीभित्र सङ्घर्षशील र त्यागी नेतृको रुपमा पहिचान बनाएकी उनी नगरको उपमेयरमा निर्वाचित भएपछि आम उत्पीडित जनताको पक्षमा इमानदारीपूर्वक काम गर्ने र खासगरी महिलाको हितमा समर्पित रहने बताउँछिन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: