आधुनिक प्रविधिबाट सरसफाईमा व्यवसायिक बन्दै युवाहरु

  प्रकाशित मिति
२१ पुष २०७७, मंगलवार १६:३७


अम्बिका भण्डारी
झापा, २१ पुस (रासस) ः बैदेशिक रोगजारबाट फर्किएका युवाहरु यतिबेला स्वदेशमै विभिन्न पेशा र व्यवसायमा रमाउन थालेका छन् । कोही कृषिमा त कोही व्यापार व्यवसायमा । तर दुई बर्ष अघि विदेशबाटै फर्किएका युवाहरुले भने फरक पेशालाई आफ्नो व्यवसायका रुपमा अंगालेका छन् ।

विर्तामोड नगरपालिका निवासी, लोकबहादुर दाहाल, तोयानाथ ढुङ्गाना, अनिल गौतम र भद्रपुरका काशीराज गुरुङ मिलेर फोरस्टार क्लिनिङ सर्भिस कम्पनी नै खोलेर सरसफाइको काम गर्न थालेका छन् ।
उनीहरु आफू मात्र गर्दैनन् अन्य आठ जना युवालाई समेत रोजगारी दिएका छन् । चार जनासँग खाडीमूलकको कतार र दुवईमा २० बर्ष क्लिनरको काम गरेर बिताएको अनुभव छ । परम्परागत शैलीलाई उछिन्दै अहिले आनुधिक शैली हावी हुँदै गएको छ ।

विदेशमा आफूले जानेको सीपलाई आफ्नै देशमा प्रयोग गर्ने र युवा जमातलाई समेत काम सिकाएर दक्ष बनाइ स्वरोजगार बनाउने उनीहरुको उद्देश्य छ ।

प्रायः सरसफाईको काम गर्न नपढेको भए पनि हुने र सामान्य झाडु लगाउन जान्ने भए पुग्ने मान्यता रहेको छ । तर उनीहरुको धारणा फरक छ । हिजो माटो र काठले बनेका घर हुन्थें । त्यो उनीहरुले गर्दा ठीकै थियो । आज नेपालमा पनि आधुनिक टायल्स र मार्वल लगाएर बनेका घरहरु छन् । सरसफाईमा ध्यान दिन सकिएन भने बेलैमा खुइलिने र भत्किएर जाने उनीहरुको भनाई छ ।

“सरसफाई मानव स्वाथ्यका लागि अपरिहार्य छ, हामी आधुनिक तरिकाले राम्रो र गुणस्तरीय केमिकलद्वारा सफा गछौं”, सञ्चालक मध्येकै अनिल गौतमले भने, “जसले घर, परिवार र समाजलाई सुरक्षित बनाउँछ ।” सुरुमा कम्पनी सुरु गर्ने विक्तिकै आफन्त र नातागोताले सरसफाइको काम नगर्न सुझाएका थिए । तर, आफूहरुले जानेकै काम गरेर समाजमा स्थापित हुने र व्यवसायिक बन्ने प्रणका साथ उहाँहरु लागि परेको बताउँछन् ।

त्यसो त सुरुमा उनीहरुलाई कम्पनी दर्ता गर्न सकस परेको थियो । आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले सरसफाई गर्ने पनि कम्पनी हुन्छ र भन्दै प्रतिप्रश्न गरेका थिए । जिल्लामै पहिलोपटक कम्पनी नै दर्ता गरेर सरसफाईको काम गर्ने उहाँहरु नै पहिलो हो । जो आज सरसफाईमा भविष्य खोज्दैछन् ।

“विदेशमा अन्य काम भन्दा महत्वपूर्ण सरसफाई हुन्छ”, यस्तो काम तालिम प्राप्त र दक्ष जनशक्तिले मात्र पाउँछन्”, उनले भने, “विडम्बना नेपालमा सरसफाईलाई सामान्य ठानिन्छ । आधुनिक प्रविधि र दक्ष जनशक्तिद्वारा काम गराउने थोरै छन् ।”

उनीहरुले मुनाफा कमाउन भन्दा पनि सरसफाईको महत्व दर्शाउन र अरु पेशा जस्तै यो पनि सम्मानित पेशा हो भनेर पहिचान बनाउन आफूहरु लागि परेको बताए । “हामीले विदेशमा जे सिक्यौं र गर्यौं त्यही काम आफ्नै ठाउँमा गर्ने प्रण गरेर विदेशबाट फर्कियौं”, काशीराज गुरुङले भने, “तर हाम्रोमा सरसफाई गर्नेलाई सम्मानित पेशा ठानिदैन, हामीलाई यसैको महत्व समाजमा बुझाउन र प्रशस्त आम्दानीको स्रोत हुन्छ भनेर युवालाई अभिप्रेरित गर्नुछ । कम्मर कसेर लागेका छौं ।”

यतिबेला दैनिक विभिन्न संघसंस्था, व्यक्ति र सरकारी कार्यालयका भवनहरु सफा गर्न उनीहरुलाई भ्याई नभ्याई छ । सहारा नेपाल, नेपाल बहुउद्देश्यीय सहकारी, आन्तरिक राजस्व कार्यालय भद्रपुरको कार्यालयलगायत दर्जनौं कार्यालयहरुको उनीहरुले सरसफाई गरिसकेका छन् । उनीहरुले कार्यालयको कक्ष कोठादेखि शौचालय समेत आफैं सफा गर्दै आएका छन् ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख युवराज श्रेष्ठ उनीहरुको कामबाट आफू सन्तुष्ट भएको बताउँछन् । एक बर्ष अघि सरुवा भएर यस कार्यालयमा आएदेखि नै उनले व्यवसायिक सरसफाई गर्ने कम्पनी खोजि गर्दा बल्ल उनीहरुसँग सम्पर्क भएको बताउँदै उनीहरुको कामको प्रशंसा गरे । यतिबेला उनीहरुको कम्पनीमा तालिम लिनका लागि आउने पनि उत्तिकै छन् । तालिम लिन आउनेहरुमा बैदेशिक रोजगारीमा जाने बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: