आन्तरिक पर्यटक लोभ्याउँदै ह्याप्पील्यान्ड

  प्रकाशित मिति
१६ भाद्र २०७५, शनिबार ०९:४४


कनकाई । कनकाई नगरपालिका वडा नम्बर–३ मा रहेको ह्याप्पील्यान्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षकको केन्द्र बनेको छ ।

सुरुङ्गा बजारबाट डेढ किलोमिटर उत्तर चार विगाह क्षेत्रफलमा बनेको सो फनपार्क कनकाई –२ का दिनेश शिवाकोटी र मनोज शिवाकोटीले गत पुसदेखि सञ्चालनमा ल्याइएको हो । ३९ बर्षीय दिनेश शिवाकोटी गार्डेन डिजाइनर समेत हुन् ।

. १२ करोड रुपैयाँको लगानीमा स्थापित फनपार्कमा दैनिक ५०० देखि एक हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन् । ह्याप्पील्यान्ड फनपार्क रिसर्च प्रा.लि. दर्ता गरेर शिवाकोटी बन्धुले सञ्चालनमा ल्याएको यो झापाको पहिलो निजी पर्यटकीय क्षेत्र हो ।

फनपार्कमा माटोको ढिस्को उठाएर बनाइएको सेल्फी डाँडाले आगन्तुकहरुलाई सबैभन्दा बढी आकर्षण गरेको छ । त्यहाँ आइफल टावर, पानीको फोहोरा, गार्डेन र चिल्ड्रेन पार्क निर्माण गरिएको छ भने हात्ती, बाघ, ड्राइगन, गैंडालगायतका फाइबरका प्रतिमा समेत राखिएको छ ।

पार्कभित्रै बनाइएको मिनि चिडियाखानामा विभिन्न जातका चुराचुरुङ्गी र वन्यजन्तु पालिएका छन् । यसले पनि फनपार्कको आकर्षण बढाएको छ ।

पार्कभित्रै ४ कठ्ठा क्षेत्रफलमा फैलिएको कृत्रिम पोखरी छ । जहाँ बनाइएको आकाशे पुलमा फोटो खिच्नेको घुइँचो लाग्छ ।

‘शनिवार, चाडपर्व र सार्वजनिक विदाको दिन त भीड थेग्नै गाह«ो हुन्छ’, सञ्चालक शिवाकोटीले भने–‘ भारत, बङ्गलादेश र भूटानबाट समेत पर्यटकहरु केही बेरको लागि घुम्न आउन थालेका छन् ।’
पार्कमा प्रवेश गर्ने पर्यटकले प्रतिव्यक्ति रु ५० शुल्क तिर्ने गरेका छन् । टिकट बेचेरै ९ महिनाको अवधिमा पौने २ करोड आम्दानी गरेको सञ्चालक दिनेश शिवाकोटीले बताए ।

उनले फनपार्कमा नौ महिनाको अवधिमा २ लाख ८६ हजार पर्यटक आएको बताउनुभयो । फनपार्क सञ्चालनमा आएपछि वरपर दुई दर्जनभन्दा बढी रेष्टुरेन्ट र अन्य पसलहरु खुलेका छन् ।

पर्यटकको आकर्षण अझै थप्नका लागि फनपार्कमा म्यूजियम बनाउन थालिएको छ । सञ्चालक शिवाकोटीले ५६ सिट भएको पुरानो जहाजभित्रै म्यूजियम बनाउन सुरु गरेको बताए ।

फनपार्कमा ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । करोडौ निजी लगानीमा पर्यटकीय स्थलको निर्माण गरी शिवाकोटी बन्धुले मुलुकको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल बताउनुहुन्छ ।

पछिल्लो समय झापामा पर्यटकलाई आकर्षित गर्नका लागि यस्ता पार्क निर्माण गर्न युवाहरु लागेका छन् । दमक नगरपालिका वडा नम्बर –२ मा युवा व्यवसायी प्रकाश प्रसाईले आफ्नै ७ विघा निजी जग्गामा १० करोडको लागनीमा फनपार्क निर्माण गर्नका लागि शिलान्यस गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: