आपतकालीन क्वारेन्टाइन तयारीका लागि स्थानीय तहलाई प्रजिअको आग्रह

  प्रकाशित मिति
४ चैत्र २०७६, मंगलवार ०७:२०


भद्रपुर, ३ चैत (रासस) । झापामा कोराना भाइरसविरुद्ध सचेतना अपनाउँदै आपतकालीन क्वारेन्टाइन तयारी गर्न प्रमुख जिल्ला अधिकारीले सबै स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ ।
आज बसेको कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ उदयबहादुर रानामगरले कोभिड–१९ लागेको हो या होइन भनेर थाहा पाउनका लागि प्रदेश नम्बर १ मै ल्याब टेस्टको व्यवस्था गर्न माग गरिरहेको जनाउँदै सबै पालिकालाई तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको हो ।

‘सीमा नाकाहरुमा उच्च सतर्कता अपनाएका छौं, आजका मितिसम्म झापामा त्यस्तो संक्रमित कोही छैन’, उहाँले भन्नुभयो, तर भइहाल्यो भने पूर्व तयारी अवस्थामा रहँदा समस्या हुँदैन ।’ प्रजिअ मगरले सबै पालिकालाई वडावडा सम्म स्वयम्सेवक समिति गठन गरेर सचेतनामूलक कार्यक्रम गर्न, सर्वसाधारणमा भ्रम सिर्जना हुने गतिविधि नगर्न र सबैलाई अनिवार्य रुपमा साबुन पानीले हात धुन सिकाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईंले झापाका सीमा नाकाहरु काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज र भद्रपुर विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ स्थापना गरेर भारतलगायत तेस्रो मुलुकबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरिरहेकोे बताउनुभयो ।

उहाँले हालसम्ममा २४ हजार बढीको ती परीक्षण कक्षमा स्वास्थ्य जाँच गरेको बताउँदै पूर्वी नाका काँकडभिट्टाबाट कोभिड १९ संक्रमणको आशंका गरिएका १२ जनालाई भारततिर फिर्ता पठाइएको जानकारी दिनुभयो ।

मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले मेची अञ्चल अस्पतालमा दुई दिनभित्रमा चार वटा बेड भएको आइसोलेसन कक्ष स्थापना गर्ने बताउनुभयो । उहाँले भन्नभयो, ‘हामीसँग खाली कोठा छैन, इलेक्ट्रोनिक सर्जरी बन्द गरेर त्यही रुमलाई आइसोलेसन कक्ष बनाउँछौं ।’

उहाँले सरकारले चाँडै बजेट पठाइदिएमा एक हप्ताभित्रमा पाँच वटा आइसोलेसन कक्ष र दुईवटा भेन्टिलेटरसहितको आइसियू कक्ष बनाउन अस्पताल समिति तयार रहेको बताउनुभयो ।
बैठकमा स्थानीय तहका प्रशासकीय अधिकृतहरुले आ–आफ्ना क्षेत्रमा तयारीका बारेमा छलफल भइरहेको र आफूहरुले गरिरहेको गतिविधिका बारेमा जानकारी दिएका थिए । प्रजिअ अधिकारीले सबै कार्यालयका कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटिँदा अनिवार्य माक्सको प्रयोग गर्न र सेवाग्राहीहरुका लागि कार्यालयमा साबुन पानीको व्यवस्था गरिदिन कार्यालय प्रमुखहरुलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: