आफ्नै–आफ्ना भिड्दा काङ्ग्रेसमा अप्ठेरो

  प्रकाशित मिति
२ श्रावण २०७३, आईतवार ०९:२८


काङ्ग्रेसका समर्थकहरू भन्छन््–‘दुबै उम्मेदवार पार्टीकै कार्यकर्ता भएकाले जो जिते पनि हाम्रै हो भनेर चित्त बुझाउन सकिएला, तर खुलेर एउटा साथीविरुद्ध अर्को साथीलाई भोट मागेर हिँड्न सकिएन ।’

lila
Lila Chimaria

विर्तामोड । कनकाई नगरमा अहिले उद्योग वाणिज्य सङ्घको चुनाव लागेको छ । आम व्यवसायी मात्र होइन, राजनीतिक दलहरू समेत कसलाई जिताउने र कसलाई हराउने भनेर पक्ष र विपक्षमा लाग्न थालिसकेका छन् ।

व्यवसायीहरूको चुनावमा राजनीतिक दलहरू भिडन्तमा ओर्लिनु अनौठो लाग्न छाडिसकेको छ । तर कनकाईको नगरस्तरीय उद्योग वाणिज्य सङ्घको चुनावमा अध्यक्ष पदमा एउटै पार्टीका दुई उम्मेदवार खडा भएपछि नेपाली काङ्ग्रेस वृत्तमा भने असजिलो भएको देखिएको छ ।

सुरुङ्गाको सामाजिक जीवनमा सक्रियतापूर्वक लागेका प्रखर युवाद्वय लीला चिमरिया र कुमारमणि पोखरेलको नेतृत्वमा दुई प्यानल मैदानमा उत्रिएपछि सरगर्मी झनै बढेको छ । दुवै प्यानलले जित्ने दावी र तर्क गरेर मतदाता आकर्षित गरिरहेका छन् । तर परिणामका लागि साउन १४ गतेको मतदान कुर्नै पर्ने हुन्छ ।

Kumarmani Pokharel
Kumarmani Pokharel

कनकाई नगरवासीभित्र मात्र यो चुनावको चर्चा र चासो सीमित छैन । अध्यक्षमा उम्मेदवार बनेका प्रखर युवानेताहरू चिमरिया र पोखरेलका शुभेच्छुकहरू जिल्लाभित्र मात्र पनि सीमित छैनन् । यहीकारण चुनावी चर्चाले सिङ्गो जिल्ला र अझ त्यस बाहिर पनि माहोल गर्माएको हो । चुनावी रौनकलाई तीखो नजरले सबैले नियालिरहेका छन् ।

चर्चा र चासो हुनुका पछाडि धेरै कारण हुन सक्छन् । तथापि यो विषय चर्चित हुनुको मुख्य कारण चाहिँ अध्यक्षका दुबै उम्मेदवार नेपाली काङ्ग्रेसका कार्यकर्ता भएर पनि हो । दुबै उम्मेदवार सुरुङ्गा जेसीजको पूर्व अध्यक्ष समेत हुन् । दुबै उम्मेदवार लायन्स लगायतका विभिन्न सामाजिक संस्थामा सँगसँगै सक्रिय हुँदै आएका पनि छन् ।

‘दुबै जना सुरुङ्गाको समृद्धि र प्रतिष्ठाका लागि मरिमेट्ने सामाजिक कार्यकर्ता हुन्’, मानवीय सेवाको क्षेत्रमा क्रियाशील संस्थाको अगुवामध्येकै एकजना सुरुङ्गेली लोकतन्त्र पोस्टसँग भन्छन्–‘लीलाजी र कुमारमणिजीमध्ये एक जनालाई रोज्ने कार्य हामीलाई कठिन भइरहेको छ ।’ उनले आफुलाई जस्तै धेरै व्यवसायी र सामाजिक कार्यकर्तालाई एउटा उम्मेदवारको पक्षमा मात्र उभिन गाह्रो भइरहेको बताए ।

‘अरु पार्टीसँग भिड्नु पर्दा सजिलो हुन्छ’, बौद्धिक क्षेत्रमा क्रियाशील सुरुङ्गा काङ्ग्रेसकै अर्का शुभेच्छुक भन्छन्–‘आफ्नै आफ्ना चुनावमा भिडे भने चाहिँ समर्थकलाई असजिलो हुँदो रहेछ ।’ सबैभन्दा अप्ठेरो काङ्ग्रेसका कार्यकर्तालाई परेको देखिन्छ ।

‘दुबै उम्मेदवार काङ्ग्रेसकै कार्यकर्ता भएकाले जो जिते पनि हाम्रै हो भनेर चित्त बुझाउन सकिएला’, उनी थप्छन्–‘तर खुलेर एउटा साथीविरुद्ध अर्को साथीलाई भोट मागेर हिँड्न सकिएन ।’ दुबै जना एउटै पार्टीको कार्यकर्ता मात्र नभएर विगतमा सुरुङ्गाको हरेक अभियानमा एउटै विचार र एउटै ढिक्का भएर उभिएका व्यक्ति हुन् ।

चिमरिया र पोखरेलको चुनावी अभियानमा होमिएका समर्थकहरू समेत प्रचारमा जाँदा ‘एउटै पार्टीका कार्यकर्ता यसरी नभिडिदिएको भए हुन्थ्यो’ भन्ने सुझाव पाइने गरेको बताउँछन् । ‘दुबै अध्यक्षका उम्मेदवार राम्रा छन्, कसैलाई खोट देखाउने ठाउँ छैन’–अधिकांश स्थानीयको यस्तै धारणा पाइन्छ ।

विभिन्न सञ्चारमाध्यममा अध्यक्षका दुबै उम्मेदवारले एकले अर्कोका विषयमा नकारात्मक टिप्पणी गरेका छैनन् । अन्तरवार्ताहरूमा अध्यक्षका उम्मेदवार चिमरियाले भन्ने गरेका छन्–‘मेरो प्रतिष्पर्धी एकदमै राम्रो र सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व हुनुहुन्छ । मेरो एउटा आदरणीय दाइ हुनुहुन्छ । उहाँलाई मैले एउटा सामाजिक अभियन्ताको रुपमा लिएको छु ।’

अध्यक्षका अर्का प्रत्यासी कुमारमणि पोखरेलले पनि प्रतिष्पर्धी लीला चिमरियाका बारेमा यसो भन्ने गरेका छन्–‘मैले मेरो प्रतिष्पर्धीलाई प्रजातान्त्रिक अभ्यास, मूल्य, मान्यतामा रहेर स्वस्थ प्रतिष्पर्धा गर्ने किसिमको मान्छेको रुपमा हेरेको छु ।’

न आपसी शत्रुता, न त कुनै राजनीतिक स्वार्थ । सुरुङ्गाका आशलाग्दा दुबै युवा यसपटक वाणिज्य सङ्घको चुनावमार्फत जनमत जाँच्दैछन् । उनीहरूको लक्ष्य, योजना र कार्यशैलीमा समेत निकै समानता छन् ।

काङ्ग्रेस बाहेकका दलहरू भने कुनै एक उम्मेदवारको पक्षमा उभिएका छन् । नेकपा एमाले, नेकपा माले र राप्रपा नेपालले कुमारमणि पोखरेलको प्यानललाई समर्थन जनाउँदै विज्ञप्ति प्रकाशित गरिसकेका छन् भने नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी पार्टी, स्वतन्त्र वाम समूह, आदिवासी जनजातिहरूको गठबन्धनको समर्थन लीला चिमरियाको प्यानललाई रहेको छ ।

नेपाली काङ्ग्रेस कनकाई नगर समिति र क्षेत्रीय समितिको बहुमतले चिमरियालाई समर्थन जनाउने निर्णय गरेको छ । तर, मनोमानी निर्णय भएको भन्दै नगर समितिका पूर्व सभापति लीला कटुवाल लगायतले आफ्नो समर्थन पोखरेललाई रहेको स्पष्ट पारेका छन् ।

अध्यक्षमा चिमरिया र पोखरेलको भिडन्त

कनकाई उद्योग वाणिज्य सङ्घको आसन्न चुनावमा दुईपक्षीय प्रतिष्पर्धा हुने भएको छ । शनिवार सबै पदहरूमा दुई प्यानलका उम्मेद्वारहरूले मनोनयन गरेका छन् ।

एउटा प्यानलबाट लीलाप्रसाद चिमरियाले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । उनको प्यानलबाट वाणिज्य उपाध्यक्षमा जनक कार्की, उद्योग उपाध्यक्षमा डिल्लीराम पौडेल, महासचिवमा तुलसी बिमली, वाणिज्य सचिवमा डीपी गौतम, उद्योग सचिवमा पुण्यप्रसाद ओझा, कोषाध्यक्षमा भरतकुमार अधिकारी र सदस्यहरूमा गङ्गाराम गजुरेल (सञ्जय), मानबहादुर श्रेष्ठ (रोशन), शिव शङ्कर महासेठ, डिल्ले राई, छत्र प्रसाद पाण्डे, महिला सदस्यमा शान्ता अधिकारी र कविता बस्नेतले उम्मेद्वारी दर्ता गरेका छन् ।

चिमरिया नेतृत्वको प्यानललाई नेपाली काङ्ग्रेस कनकाई नगर कमिटी, नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी नेपाल, स्वतन्त्र वाम समूह, आदिवासी जनजातिहरूको गठबन्धनको समर्थन रहेको छ ।

त्यसै गरी अर्को प्यानलबाट अध्यक्ष पदमा कुमारमणि पोखरेलले उम्मेद्वारी दिएका छन् ।

उनको प्यानलबाट वाणिज्य उपाध्यक्षमा मिनाल तिम्सिना, उद्योग उपाध्यक्षमा कृष्णप्रसाद चुडाल, महासचिवमा सोमनाथ उप्रेती, वाणिज्य सचिवमा जीवन चुडाल, उद्योग सचिवमा ख्यामप्रसाद ओली, कोषाध्यक्षमा खिनमाया खतिवडा, सदस्यहरूमा श्रीप्रसाद खरेल, विश्वविजय खरेल, अनिलकुमार गोयल, पुण्यप्रसाद सिटौला, सहरमान कटुवाल तथा महिला सदस्यमा भगवती कटुवाल र नमिता काफ्लेले उम्मेद्वारी दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

पोखरेल नेतृत्वको प्यानललाई नेपाली काङ्ग्रेसको एउटा समूह, कनकाई उद्योग वाणिज्य सङ्घको वर्तमान अध्यक्ष युवराज सङ्ग्रौला, नेकपा एमाले, राप्रपा नेपाल र मालेले समर्थन जनाएका छन् ।

निर्वाचन सम्पन्न गर्न भवानी मैनालीको संयोजकत्वमा विकासप्रसाद उप्रेती र दुर्गाप्रसाद प्रसाई रहेको निर्वाचन समिति गठन गरिएको छ ।

सङ्घको आगामी दुई वर्षे कार्यकालका लागि २ जना महिला सदस्य अनिवार्य रहने गरी अध्यक्ष १, वाणिज्य उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, महासचिव १, वाणिज्य सचिव १, उद्योग सचिव १, कोषाध्यक्ष १ र सदस्य ५ समेत गरी जम्मा १४ जनाको कार्य समितिका लागि चुनाव हुन लागेको हो ।

साउन ३ गते दावीविरोध छानबिन पछिको निर्णय प्रकाशन, साउन ४ गते उम्मेद्वारी फिर्ताका लागि निवेदन पेश गर्ने तथा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, साउन ५ गते उम्मेद्वारलाई नमूना मत–पत्र वितरण, साउन १३ गते प्रचार–प्रसारको अन्तिम मिति र साउन १४ गते शुक्रवार मतदान हुने निर्वाचन समितिका सदस्य विकासप्रसाद उपे्रतीले जानकारी दिए ।

(२०७३ साउन २ गते प्रकाशित)

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: