आमाबुवा सम्झेर कसैले नङ काटिदिए, कसैले कपाल (फोटो फिचर)

  प्रकाशित मिति
९ पुष २०७७, बिहीबार २१:३१


कनकाई, ९ पुस । सडकमा आश्रय लिदै आएकाहरुलाई एकाविहानै उद्धार गरेर मेचीनगरकी उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेम ओझा र कर्मचारी जयन्ती खरेल कनकाईको खानेपानी परिसर पुग्दा कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेल हातमा नेलकटर बोकेर पर्खिरहेका थिए ।

जब असहायहरु गाडीबाट ओर्लिए, नगरप्रमुख पोखरेलले कुर्सीमा सम्मानपूर्वक बसाएर नङ काटिदिन थाले । पोखरेल विहीवार दिनभरि असहाय आमाबुवाहरुको सेवामा खटिए ।

यो दृश्य थियो आज झापाभरिका सडक मानवको वृहत उद्धार कार्यक्रमको । जिल्लाका सबै पालिकाबाट भेला गरिएका सडक मानवहरुलाई कनकाईको खानेपानी परिसरमा भेला गरेर आजै विराटनगरको मानव सेवा आश्रम लगिएको छ ।

कनकाई नगरपालिकाले एकत्रित सडक मानवहरुलाई नुहाउने, लुगा फेराउने र खाना खुवाउने व्यवस्था मिलाएको थियो ।

दिनभरि पालिकाहरुबाट उद्धार गरेर सडक मानवहरुलाई ल्याउने क्रम चलिरहँदा कनकाईका नगरप्रमुख पोखरेलले तिनीहरुको सेवामा आफुलाई समर्पित गरे ।

विराटनगरको मानव सेवा आश्रमबाट आएका एक दर्जन स्वयम्सेवक युवाले उनीहरुलाई तातो पानीले नुहाइदिने र हातखुट्टाका घाउहरुमा औषधि लगाइदिने काम गरेका थिए । कपाल काटिदिने अधिकांश महिला स्वयम्सेवक थिए ।

नगरप्रमुख पोखरेलले स्वयम्सेवक भाइवहिनीहरुले गरेको सेवा देखेर सबैले शिक्षा लिनुपर्ने बताए ।

आज झापाभरिका ७५ जनालाई उद्धार गरिएको थियो । जिल्लालाई आज सडक मानवमुक्त घोषणा गरिएको छ । साथै, आजदेखि सडकका सम्पूर्ण मानवलाई उद्धार गर्ने मेची महाकाली अभियान समेत सुरुवात गरिएको छ ।

अभियानको उद्घाटन गर्दै सामाजिक विकास राज्यमन्त्री जसमया गजमेरले मानव सेवामा कलिलो उमेरका भाइवहिनीले देखाएको लगनशीलताको उच्च प्रशंसा गरेकी थिइन् ।

झापाका जिसस प्रमुख सोमनाथ पोर्तेलले मानव सेवामा आज देखिएको समर्पण भावबाट आफु प्रभावित भएको उल्लेख गर्दै कोही महलमा र कोही सडकमा बस्नु पर्ने बिडम्बनाको अन्त्य हुनुपर्ने बताए ।

दमक नगरपालिककी उपप्रमुख गीता अधिकारीले सडकमा आश्रय लिने आमावुवाहरुको उद्धार र संरक्षण गर्ने दायित्व स्थानीय सरकारले लिनुपर्ने धारणा व्यक्त गरिन् ।

उद्धार गरिएकाहरुलाई सहारा साकोसले पहेलो रङको न्यानो ट्रयाक सुट सित्तैमा दिएको थियो ।

उद्धार गरिएकाहरुमा विर्तामोडको मुक्तिचोकमा बर्षौदेखि बस्दै आएका लामो लट्टा कपाल पालेका व्यक्ति पनि थिए ।

यसैगरी, मेचीनगरको धुलावारीस्थित टिमाइको पुलमुनि बेरा बारेर बस्दै आएका कुमाल दम्पत्ति समेतको उद्धार गरिएको थियो ।

चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भिक्षा मागेर गुजारा चलाउँदै आएकाहरु, मानसिक सन्तुलन गुमाएर सडकमा बर्बराउँदै हिँड्नेहरु, नाच्दै हिँड्नेहरु, कतिपय लागू औषध सेवन गरेर सडकमै बास बस्दै आएकाहरु समेतलाई उद्धार गरेर ल्याइएको थियो ।

(सबै फोटो : लोकतन्त्र पोस्ट)

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: