मेचीनगर । नेकपाकै सरकारका भातृ संगठनले काँकरभिट्टामा भारत विरुद्व चर्का नारा जुलुस गरेका छन् ।
नेकपा निकट भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल मेचीनगरको संयुक्त आयोजनामा विहीबार काँकरभिट्टामा भारत विरुद्व नारा जुलुस प्रर्दशन गरेका हुन् ।
लिम्पियाधुरा (लिपुलेक) हाम्रो हो, भारतीय हस्तक्षेप बन्द गर, हाम्रो भुमि प्राण भन्दा प्यारो छ, गो व्याक इन्डिया लगायतका नारासहित काँकरभिट्टामा विरोध प्रर्दशन गरेका थिए ।
काँकरभिट्टा बजारमा विरोध प्रर्दशनपछि कोणसभामा परिणत भएको थियो । मेची पुलसम्म जान लागेको उक्त जुलुसलाई प्रहरीले रोकेको थियो । डिएसपी राजेन्द्र पोखरेलको नेतुत्वमा प्रहरीहरुको बाक्लै उपस्थिति थियो ।
कोणसभालाई अनेरास्ववियुका जिल्ला सहसंयोजक दुर्गा धमलाले सम्बोधन गरेका थिए ।
विहीबारै अनेरास्ववियुको ५५ औँ र राष्ट्रिय युवा संगठन नेपालको ३० औँ स्थापना दिवस समेत परेको थियो ।
कोणसभामा अनेरास्ववियु मेचीनगर अध्यक्ष सन्तोष धमला, पूर्व युवा संघ नेपालका मेचीनगर अध्यक्ष सरोज मेहरा, वासिएलका पूर्व मेचीनगर अध्यक्ष विनोद मण्डल, पूर्व युवा संघ नेपालका क्षेत्रिय अध्यक्ष राजु धिमाल, भोजराज पराजुली, योगेश भण्डारी, लुसन तिवारी, विकास निरौला लगायतका जिल्ला, क्षेत्र तथा नगरका युवा नेताहरुको सहभागिता रहेको थियो ।
कोणसभाको सञ्चालन मेचीनगरका युवा नेता आसिस पौडेलले गरेका थिए ।
केहि दिनअघि भारतले लिम्पियाधुरामा बाटो खनेर सडकको रक्षा मन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए । सडकको उद्घाटनपछि नेपाली नागरिकले त्यस्को चर्को विरोध गर्दै आइरहेका छन् ।
।। अर्जुन कार्की ।।