आमिस : असन्तुष्टिको कथा

  प्रकाशित मिति
२९ बैशाख २०७७, सोमबार १८:५८


फिल्म सुरुमा रोमान्टिक लाग्दछ अनि यसले गति लिन पनि थोरै समय खर्चन्छ । आनन्ददायी रोमान्टिक गतिमा बगेको फिल्मले अचानक थ्रिलरको रुप लिन्छ ।

हेमन्त निरौला

जीव विज्ञानले मानिसलाई अन्य जीवको तुलनामा श्रेष्ठ घोषणा गरेको छ । भिन्न सोच, भिन्न प्रवृति अनि भिन्न स्वभावले नै मानिसलाई अन्य प्राणीको मापनमा बेग्लै पहिचानमा राखिएको तथ्य सत्य हो भन्न सकिन्छ । तर, जब मानिस आफ्नो स्वभावले प्रकृतिमाथि धावा बोल्दछ तब प्रकृतिको सन्तुलन बिग्रन पुग्दछ । प्राकृतिक धरातलमा उभिएर मानिसले आफ्नो हैसियतमा जीविकोपार्जन गर्नु पर्दछ ।

मानिसले यी सबै बिर्सिएर प्रकृतिको नियम उल्लङ्घन गरी आफ्नो अस्तित्व रक्षार्थ प्रकृतिसँग जब मुठभेडको स्थिति सिर्जना गर्दछ तब प्राकृतिक असन्तुलनको भीषण अवस्था सिर्जना हुन पुग्दछ । आसामिस भाषाको आमिस फिल्मले पनि मानव जाति र प्रकृतिको यही आन्दोलनको कथा भन्दछ ।

एक महिला डाक्टर निर्मली छन्, जो वैवाहिक छन् अनि आफ्नो पति र छोरासँग खुसी छन् । अर्काे तर्फ एकजना विद्यावारिधीका विद्यार्थी सुमोन छन्, जो आफ्नै विद्यार्थी जीवनमा खुसी छन् ।
यी दुवैमा एउटा समानता छ, यी दुवै खानेकुराका सौखिन छन् । खानेकुरा पनि विशेष गरी मासुका विभिन्न परिकार खानामा यी दुवै हुरुक्क हुन्छन् । यी दुवैको विचारमा संसारमा पाइने कुनै पनि मासुजन्य कुरा खान अयोग्य हुँदैनन् ।

यही मासुका परिकारको माध्यमबाट महिला डाक्टर र विद्यार्थी केटो नजिक हुन्छन् । फिल्म सुरुमा रोमान्टिक लाग्दछ अनि यसले गति लिन पनि थोरै समय खर्चन्छ । आनन्ददायी रोमान्टिक गतिमा बगेको फिल्मले अचानक थ्रिलरको रुप लिन्छ ।

सुमोनले निर्मलीको स्वादका लागि आफ्नै अंग काटेर परिकारको रुपमा पस्किन्छ । यो कुरा थाहा पाएपछि निर्मलीलाई सुरुमा त घृणा उत्पन्न हुन्छ तर विस्तारै त्यो स्वादले निर्मलीलाई आकर्षित बनाउन थाल्छ ।

मान्छेको मासुको स्वाद पाएकी निर्मलीलाई असन्तुष्टिले घेर्न थाल्दछ । उसले सुमोनलाई अरु मासुका लागि आग्रह गर्छिन् । आफ्नो सम्पूर्ण अंग नै काटेर निर्मलीलाई पस्कन सक्ने सम्मको आँट गर्ने सुमोनले फिल्मको अन्त्यमा गहिरो सन्देश दिएर जान्छ ।

आमिसको अर्थ हुन्छ–मासु । भाष्कर हजारिकाद्वारा निर्देशित फिल्म आमिसले मानिसभित्र रहेको व्रmुरता अनि लाचारीको पर्दाफास गर्ने काम गर्दछ । सभ्यताको पर्याय घोषणा गर्दै हिँड्ने मानिस कसरी प्रकृति अनि यसबाट निर्देशित मार्गदर्शनको विरुद्ध जाइलाग्दछ यही नै आमिसको गतिलो उदाहरण हो ।

यसअघि पनि कोथानोदी फिल्मबाट राष्ट्रिय पुरस्कार प्राप्त गरेका भाष्कर हजारिकाले आसामी फिल्मलाई नयाँ गति दिएका छन् । बलिवुडको चमकधमक र दक्षिण भारतको मारधाडबाट निक्कै पर बनेका यसप्रकारका फिल्मले भारतीय क्षेत्रीय भाषामा बन्ने उत्कृष्ट फिल्महरुको दौडमा आफूलाई सामेल गरेका छन् ।

मराठी फिल्म जोग्वा अनि तमिल फिल्म रट्सासन जस्तै ओेस्करको दौडमा हुँदाहुँदै पनि कुटिल राजनीतिको मारमा परेको फिल्म हो–आमिस । आमिस आफैँमा कलाको उच्चतम विन्दुमा बनेको त्यो फिल्म हो जसले भारतीय फिल्मलाई विश्वस्तरमा चिनाउन एउटा थप इँटाको काम गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: