आम निर्वाचनमा हामी

  प्रकाशित मिति
१९ मंसिर २०७४, मंगलवार ११:२१


नेपालमा यो बम–बारुदको आगो कहाँबाट सल्कियो यो अनुत्तरित प्रश्न बनेर सोझा मतदाता र केही बुद्धिजीविहरुको दिमाग हल्लाइरहे छ । यसको खानी कहाँ छ ? बिना बीउ बिरुवा उम्रदैन, झाँगिदैन, फस्टाउँदैन । समथर प्रदेश र पहाडका कुना कन्दरामा बारुद–बम पड्किरहेछ । अब बन्दुकको निसाना छुट्न बाँकी छ, यो पनि हुनेछ, बन्दुक पड्किने छ । सरकार कागलाई तर्साउने बुख्याँचा झँै गरी नागरिकलाई तर्साइरहेछ ।

भरुवा बन्दुकहरु किन हामीलाइ जिम्मा लगाउँदैनन् नागरिक भनी हो हल्ला गरिरहेछ सरकार । गरीव नागरिकलाई सिमाना पारिबाट घरकाजका सौदा ल्याउँदा भन्सारमा सताइरहेछ, सरकार । भन्सारको बाटो गरी बारुद, बम, बन्दुक भित्रन्छ ठानिरहेछ सरकार । खुला सिमाना भएको हाम्रो देशमा भन्सार मात्र बाटो छ र ! सरकार राम्ररी किन बुझ्दैन ? हामी सुरक्षाका उपाय गर्न निरन्तर प्रयासरत छौँ । को नाटक मञ्चन गर्दै छ झैँ लाग्छ सरकार ।

कहाँबाट भित्रन्छ बारुद, बम, बन्दुक ? कि आफैँ उडेर आउँछ ? पटक–पटक बारुद, बम, बन्दुकबाट क्षतविक्षत भएको आलोघाउ सम्झिएर फुकीफुकी पाइला चाल्दैछ प्रहरी प्रशासन । गृह मन्त्रालय आफँैले राखेका प्रधानमन्त्री अनकनाउँदै छन्, डराउँदै छन् । नैतिकताका हैसियतले पनि यो त्रासदीको जिम्मेवारी कार्यरत मन्त्री मण्डल किन लिइरहेको छैन ? पञ्च सरकारको समयमा पनि सिंह दरबारमा आगलागी हँुदा नैतिक जिम्मेवारी सम्झी राजिनामा दिएका थिए, प्रधानमन्त्री कीर्तिनिधि विष्टले । तर, प्रजातान्त्रिक सरकार यो बारुद, बम, बन्दुकको त्रासदी हुँदा पनि किन जिम्मेवारी लिइरहेको छैन ?

प्रमिथसले मानिसलाई प्राणरक्षा गर्न आगो दिएका थिए । मानिसले आगो पाएर आधुनिक समाजमा पाइला टेकेको थियो । काँचो मासु, अन्न, सागसब्जी पकाएर खान सिकेको थियो । आगोबाट प्राण रक्षा गरेको थियो । प्रमिथसले मानिसलाई दिएको सभ्यताको आगो दुरुपयोग गर्दै आज त्यही मानिस बारुद, बम, बन्दुक जस्तो पदार्थ साधन बनाएर मानिसको हृदय जलाइरहेछ । आतङ्कको आगो धप धपाएर बलिरहेछ ।

एकखेप आगोको खेती गर्ने बारुद, बम, बन्दुक पड्काउन सिकाउने गुरु शक्तिशाली राजनेता प्रचण्ड जनतालाई चित्तबुझ्दो राष्ट्रिय रुपमा आफ्ना विचार किन प्रशारण गरिरहेका छैनन् ? प्रचण्ड विचारवाहक पनि हुन् । संघीयता गणतन्त्र उनकै चिन्तन हो । यस्ता प्रचण्ड किन डराइरहेछन्, भित्री रहस्य के छ भनी सचेत नागरिक गम्भीर छन् ।

विप्लव को हो ? के हो ? को बाट चोइटिएर आगो बोकेर चारैपटिट् छाइरहेछ । कि विप्लव विद्रोह उसैको मौलिक विचार हो ? के विप्लवभित्र हामी नै छैनौँ ? परिधि भित्र कालो बोकेर हामी नै हुर्किरहेका त छैनौँ ?

छिमेकी देश भारत नेपालमा आगो लाग्दा किन आनन्दले रमिते भइरहेछ ? यो अवस्थामा भारत किन मौन छ ? नेपालको निर्वाचन पदाधिकारी समेत छनोट गर्दा नेपाली जनताले आफँै संविधान बनाउँदा, नेपालको आन्तरिक मामलामा अम्लो ठड्याउने भारत आज किन मौन छ ? बामगठबन्धनका शक्तिशाली राजनेता केपी ओली प्रतिपक्षको भाषामा मात्र किन आफ्ना विचार अघि सारिरहेका छन् ?

पुलिस प्रशासन पनि विगतलाई सम्झिएर, डराएर ओल्टेकोल्टे त गरिरहेको छैन ? यो आतङ्कमा छदम्भेषी रुपमा कुनै दलकै त हात छैन ? के बारुद, बम, बन्दुक आफैँ पड्कन्छ ?

यस्ता धेरै अनुत्तरित प्रश्नहरु आज नेपाली आकाशमा मडारिरहेका छन् । दुःखले आर्जन गरेको मुलुक त हराउने होइन ? गम्भीर हुन आवश्यक छ । एकतन्त्रीय लामो शासनबाट प्रजातान्त्रिक अभ्यास गरिरहेको नेपाललाई पूर्ण प्रजातान्त्रिक अवस्थामा पुग्न धेरै समय लाग्ने छ ।

विभिन्न दलका नेताहरु एक ठाउँमा उभिएर यो त्रासदीको समाधान गर्न किन हिचकिच्चाइरहेका छन् ? यो बारुद, बम, बन्दुकको त्रासदी अन्त्य गर्न साना ठूला सबै दलको उत्तिकै जिम्मेवारी छ । नागरिकले पनि आ–आफनै ठाउँबाट यो आतङ्क अन्त्य गर्न उत्तिकै पहल गर्नु पर्छ । सरकारको मुख ताकी रहेर मात्र हुँदैन ।

अमेरिका, रुस, चीन जस्ता भिन्न–भिन्न विचारमा भएका राजनेताहरु पनि विश्वका जल्दाबल्दा समस्या, शक्ति कायम गर्न एउटै टेवलमा नआई धरै छैन भने नेपालका नेताहरु किन एक्लाएक्लै एक अर्कालाई आरोप लगाएर आफू पन्सिन खोजिरहेका छन् ? यो आतङ्कलाई अनेक कोणबाट जनता, बुद्धिजीवि राजनीतिक विश्लेषक, पत्रकारहरु आफ्नो तरिकाले सोचिरहेका छन् । यो आतङ्क समाप्त गर्न सरकार, सबै दल, मानववादीहरु तथा सम्पूर्ण नागरिक एकठाउँमा आउनै पर्छ । यसको अर्को विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: