आयात निर्यात समस्या बारे छलफल

  प्रकाशित मिति
३० जेष्ठ २०७३, आईतवार १८:०६


धुलाबारी । वाणिज्य मन्त्रालयले झापाका उद्योगी–व्यवसायीहरुसँग आइतबार आयात–निर्यातका समस्या तथा समाधानका विषयमा छलफल गरेको छ ।

मन्त्रालयको क्षेत्रीय व्यापार पारवहन आयोजना र मेची उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा आयोजित गैरभन्सार अवरोध व्यापार सहजीकरण कार्यशालामा यस क्षेत्रका उद्योगी–व्यवसायीले नाकामा हुने समस्याहरु अवगत गराएका थिए भने आयोजनाका तर्फबाट गैरभन्सार अवरोधका सन्दर्भमा चर्चा गरेका थिए ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्रालयकी उपसचिव मीना अर्यालले नेपालमा व्यापार सहजीकरणको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने उपसचिव हिमाल थापा र हेमन्त दवाडीले गैरभन्सार अवरोध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

संघका महासचिव ऋषिराज तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा मन्त्रालयका उपसचिव योगेन्द्र पौडेलले स्वागत गरेका थिए । कार्यक्रममा मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैनलगायत व्यवसायीहरुले मुख्य रुपमा भारतसँगको आयात–निर्यात व्यवसायमा देखिएका समस्याका बारेमा चर्चा गरेका थिए । उनीहरुले खासगरी कृषि वस्तु निर्यात गर्दा क्वारेन्टाइनको समस्या रहेको उल्लेख गरे ।

मन्त्रालयकी उपसचिव अर्यालले भन्सार जाँचपास प्रक्रियालाई सरल एवं चुस्त बनाउन छिमेकी राष्ट्रका भन्सार बिन्दुुहरूसँग समेत समन्वय गरी एकीकृत जाँच चौकीको निर्माण र विस्तार गरिने कार्यक्रम मन्त्रालयको रहेको जानकारी दिइन् ।
विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरुबीच भन्सारमा बिनाअवरोध व्यापार गर्ने अन्तराष्ट्रिय नियम रहे पनि कुनै राष्ट्रले आफ्नो राष्ट्रको हितका लागि गैरभन्सार अवरोध गर्नसक्ने दवाडीले बताए । उनले त्यस्तो अवस्थामा सहजीकरण गर्न यो मन्त्रालयले यो आयोजना ल्याएको पनि उल्लेख गरे ।

कार्यक्रममा नेपाल चिया उत्पादक संघका का. वा. अध्यक्ष सुरेशकुमार मित्तल, चिया उद्योगी तथा संघका पूर्व अध्यक्ष चण्डी पराजुलीले चिया निर्यातमा देखिएका समस्याबा बारे जानकारी गराएका थिए भने छविलाल खतिवडा, ध्र्रुव कनाल, भुपाल ओली, कृष्ण कनाल, राजु महर्जनलगायतले जिज्ञासा राखेका थिए । मेची भन्सार कार्यालय प्रमुख भीमप्रसाद अधिकारीले पनि भन्सारका नीति–नियमहरु बरे जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: