आर्मी बन्न चाहन्छन् सेवा दलका विद्यार्थी

  प्रकाशित मिति
१६ भाद्र २०७४, शुक्रबार १६:०१


7 मेचीनगर–७ इटाभट्टाका सचिन तिम्सिनाको एक महिनादेखि दैनिकी फेरिएको छ । काँकरभिट्टा मावि कक्षा ९ मा अध्ययन गर्दै गरेका उनी सधैँ ९ बजे मात्र विद्यालय जाने गरेका थिए । तर, यतिबेला उनी बिहान ६ बज्न नपाउँदै काँकरभिट्टा माविको खेल मैदानमा पुग्छन् । भविष्यमा नेपाल आर्मी बन्ने सपना बोकेका उनी राष्ट्रिय सेवा दलको तालिममा सहभागी हुनका लागि जाने गरेका छन् । उनी भन्छन्–‘देशको सेवा गर्ने ठूलो सपना छ ।’

यसो त प्रमिला राईको पनि दैनिकी सचिनको भन्दा फरक छैन । उनको पनि भविष्यमा आर्मी बन्ने लक्ष्य छ । तालिममा सहभागी हुन थालेपछि आफूमा परिवर्तन आएको बताउने राई सानै उमेरदेखि यस क्षेत्रमा रुचि लाग्ने गरेको बताइन् । बिहान ६ बजेदेखि ८ बजेसम्म उनी मैदानमै व्यस्त रहन्छिन् ।

सचिन र प्रमिला मात्र होइन, उनीहरु जस्ता ३६ जना विद्यार्थीको दैनिकी यतिबेला एउटै छ । हरेक दिन बिहान मैदान आएर तालिममा लिन व्यस्त छन् उनीहरु । काँकरभिट्टा माविले राष्ट्रिय सेवा दलको तालिम लिने अनुमति पाएपछि उनीहरु यसमा सहभागी हुने अवसर पाएका हुन् ।

नेपाल सरकारको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष विद्यार्थीको व्यक्तित्व विकास गराउँदै युवाहरुमा नेतृत्व विकास गराउने लक्ष्यका साथ आयोजना गर्दै आएको छ । जसमा शिक्षा मन्त्रालयले विद्यालयहरुसँग सहकार्य गर्ने गरेको छ भने रक्षा मन्त्रालयको मातहतमा प्राविधिक सहयोग उपलब्ध गराउने गरेको छ ।
साउन २२ गतेदेखि औपचारिक रुपमा सुरु गरिएको तालिममा कक्षा ८ र ९ का १८ छात्र र १८ छात्र सहभागी छन् । उक्त तालिमको प्राविधिक सहयोग कालीबहादुर गण चारआलीको रहेको छ । प्राविधिक सहयोगमा तालिम भइरहेको छ । उनीहरुलाई चारआली गणका श्याम कर्मचार्य, प्रदिपकुमार चौधरी र सिजन गुरुङले सहजीकरण गरिरहेका छन् ।

6

यस तालिमले विद्यार्थीलाई अनुशासन, विद्यार्थीलाई राष्ट्रिय एकताको भावनाको जागृत तथा सामाजिक क्षेत्रमा काम गर्न सक्ने सक्षम नागरिक निर्माण गर्न सकिने विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद निरौलाले बताए । उनले तालिम सुरु गरेदेखि विद्यार्थीहरुमा अनुशासनको पाटोमा आमूल परिवर्तन आएको समेत बताए ।

७९ दिनसम्म तालिम लिएपछि उनीहरुलाई २१ दिनका लागि आर्मी क्याममा सहभागी गराइने प्रशिक्षक श्याम कर्मचार्यले बताए । उनका अनुसार विद्यालयमा तालिम सकिएपछि २१ दिनको सामुहिक क्याम तालिम मोरङको याङ्सिलामा गराइनेछ । जुन क्याम्पमा पूर्व क्षेत्रबाट सहभागी भएका विद्यालयहरुबीच विभिन्न विधामा प्रतियोगी कार्यक्रमको आयोजना हुनेछ । उक्त क्याममा हरेक जिल्लाका विद्यार्थीले नृत्य, गायन, मार्चपास, पिटी, दौडलगायतमा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी देशभरबाट उत्कृष्ट हुने विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।

उक्त तालिम सञ्चालनका लागि विद्यालयका शिक्षक गोपाल खनाललाई संयोजक शिक्षकको रुपमा परिचालन गरेको छ । विहान प्रशिक्षक र विद्यार्थी सहभागी भएपछि शिक्षक खनाल पनि सँगै सहभागी हुन्छन् । विद्यालयका आन्तरिक तथा विद्यार्थीका समस्यालाई शिक्षक खनालले सहजीकरण गर्ने गरेका छन् । खनालले तालिम सञ्चालन गरेपछि विद्यार्थीमा स्वतः परिवर्तन आएको बताए ।

5

‘सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी विद्यार्थीको सहभागिता रहेको छ,’ संयोजक शिक्षक खनालले भने–‘यो तालिमपछि कम्तीमा पनि विद्यार्थीमा अनुशासन, व्यक्तित्व विकास र सामाजिक क्षेत्रमा काम गर्न सक्ने सक्षम नागरिक तयार हुनेछन् ।’

तालिम सञ्चालन गर्नका लागि सम्पूर्ण खर्च नेपाल सरकारको हुनेछ । विद्यार्थीहरुका लागि कपडा, जुत्तादेखि लिएर आवश्यक सम्पूर्ण सामाग्री उपलब्ध गराइने छ । यसैगरी दैनिक रुपमा विद्यार्थीलाई दिइने खाजा आधा लिटर दूध र जेरी समेत उपलब्ध हुने गरेको छ । हरेक शनिवार उनीहरु अतिरिक्त क्रियाकलापमा सहभागी हुन्छन् ।

‘हामीले पहिलेदेखि यो तालिम सञ्चालन गर्ने सोच बनाएका थियौँ,’ प्रधानाध्यापक तुलसीप्रसाद निरौलाले भने–‘यो विषयमा सञ्चालक समितिमा कुरा राखेपछि स्वतः पास भएपछि प्रक्रियालाई अघि बढाएका थियौँ, जुन आज सफल पनि भएको छ ।’
अघिल्लो वर्ष झापाको पुहाँतु जनज्योति माविले मात्र यसको अनुमति पाएको थियो । तर, यो वर्ष ५ वटा विद्यालयले राष्ट्रिय सेवा दलको अनुमति पाएका छन् । जसमा काँकरभिट्टा मावि, बलभद्र जनता मावि, लिटल फ्लावर्स बोर्डिङ स्कुल विर्तामोड, विरेन्द्र नमूना मावि चन्द्रगढी र शहिद धर्मभक्त मावि केर्खा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: