आर्मी भन्दै लाखौँ रुपैयाँ ठग्ने पक्राउ

  प्रकाशित मिति
८ चैत्र २०७६, शनिबार १८:३३


भद्रपुर । विभिन्न व्यवसायी तथा सर्वसाधारणलाई ठगी गर्ने व्यक्तिलाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
भद्रपुर–१० घर भएका प्रदिप भन्ने राजकुमार राउतलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनी पछिल्लो पटक नक्कली आर्मी बनेर व्यापारी ठग्ने कार्यमा संलग्न भएको सूचनाका आधारमा पक्राउ परेका हुन् । राउतले छिमेकीदेखि आफन्तसम्मका दर्जनबढीलाई मोटो व्याज दिने प्रलोभनमा ५० लाख भन्दाबढी ठगेको आरोप समेत लागिरहेका बेला राउत पक्राउ परेका हुन् ।
राउतलाई प्रहरीले गत चैत ६ गते काँकरभिट्टाबाट पक्राउ गरेको झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले जानकारी दिए । विभिन्न स्थानमा रहेका किराना व्यवसायीलाई आफु आर्मी हुँ भन्दै छुटमा सामान ल्याइदिने आश्वासन दिलाएर लाखौं रुपैयाँ ठगी गर्दै आएको प्रहरीको भनाई छ । एसपी कोइरालाले राउतले अहिलेसम्मको सूचनाका आधारमा लगभग ८० जनाबाट लाखौं रुपैयाँ ठगी गरिसकेको पाइएको बताए ।
गत माघ १० गते चारआली स्थित सुम्निमा पारुहाङ किराना पसल पुगेका राउतले आफु चारआलीको आर्मी भएको बताउँदै छुटमा रासनका लागि आएको दाल, चिनी, तेल र मटर, नुन लगायतका किराना सामग्री ल्याइदिने भन्दै सञ्चालक डाकबहादुर राईसँग १ लाख २ हजार रुपैंयाँ लिएका थिए । ठगि गर्ने राउतले १ नम्बर गेटमा गाडी पठाइदिनु भनेपछि सञ्चालक राईले आफ्नो चालकलाई पठाउँदा फोन अफ् भएपछि चारआली प्रहरीमा उजुरी दिएका थिए ।
सो घटनापछि जिल्ला प्रहरीले राउतको खोजी शुरु गरेको थियो । यसरी ठगिने सबै किराना व्यवसायीलाई सोहि प्रकारका सामान छुटमा ल्याइदिने भन्दै पैसा उठाएको पीडितहरुले बताएका छन् । व्यवसायीको लोभका कारण राउतले निरन्तर ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
ग्रामथान–५ तेतरिया मोरङका रोहन भेट्वाललाई पनि त्यसैगरी ठगी गरिएको छ । उनलाई शसस्त्र बाहिनी बेस क्याम्पमा कार्यारत रहेको भन्दै १ लाख १० हजार लिएर गायव भएका थिए । ३५ बोरा चिनी, २ बोरा जिरा, २० काटुन तेल लगायतका सामान ल्याएदिने भन्दै पैसा लगेको भेट्वालले जानकारी दिए ।
नक्कली आर्मी राउतले धरानका ब्यापारी सञ्जय अग्रवालसँग १ लाख ५९ हजार ५ सय ५०, धनकुटाका ग्याल्जेन शेर्पासँग १ लाख ४० हजार र इलामका रतन अग्रवालसँग २ लाख ८० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
कतै आर्मी, कतै शसस्त्र प्रहरी भन्दै ठगि गर्दै आएका राउतले व्यापारीको लोभ लालचमाथि फाइदा उठाएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ । ठगिएका अरु नागरिकलाई पनि सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।
राउतले झापा, इलाम, धरान, मोरङ, धनकुटा, दैलेख लगायत देशैभरका किराना पसलमा ठगी गरेको पाइएको एसपी कोइरालाले बताए । उनले ठगिएका मानिसको संख्या अझ बढ्न सक्ने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: