मेचीनगर, १७ असोज । २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा फरार एक अभियुक्तलाई प्रहरी पक्राउ गरेको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार रहेका बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय बद्री सहनीलाई शुक्रवार नियन्त्रणमा लिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज सिंहले जानकारी दिए ।
सहनीलाई नेपाल–भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नम्बर ७ बड़की बंकुल एरियाबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको डिआइजी सिंहले बताए ।
घटनाका मुख्य योजनाकार सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम भने अदालतको निर्णय अनुसार पूर्पक्षको लागि थुनामा रहेका छन् । उनलाई गत असोज २६ गते इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग छ ।
२०६४ चैत २८ गते हुने संविधान सभाको चुनावलाई लक्षित गरी धाँधली गरी चुनाव जित्न चुनावको अधिल्लो दिन ६ बजरे ३० मिनेटमा रौतहटको हाल राजपुर नगरपालिका ४ स्थित शेख इद्रिशको गोठघरमा उनीले विष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम बिष्फोट हुँदा त्रिलोक प्रताप सिंह राजपुतसमेत केहीको मृत्यु भएको थियो ।
पक्राउ परेका सहनीले घटनामा परी मृत्यु भएका र घाइतेलाई ट्रयाक्टरमा लोड गरी नजिकैको इँट्टा भट्टामा लगि जलाइएको अभियोग रहेको छ । प्रारम्भिक अनुसन्धानमा घटना हुँदाको अवस्थामा सहनी इँट्टा भट्टाको हेड मिस्त्री रहेको खुलेको छ ।
उनले आलमको निर्देशनमा घटनाका घाइतेहरु तथा मृतकहरुलाई इँट्टा भट्टाको भुँग्रोमा हालेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।
(पहिलो पोष्ट)