आलोचना गर्न अघि तथ्य बुझौँ

  प्रकाशित मिति
१५ मंसिर २०७४, शुक्रबार ११:०८



भर्खरै वाम गठबन्धनका नेता केशव स्थापितले पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएका गगनकुमार थापालाई आफु मन्त्री हँुुदा वा पदमा हुँदा अधिकारको दुरुपयोग गरी उनको (गगन थापाको) समूहले सञ्चालन गरेको बाख्रा फार्म लगायतका विषयमा प्याक्टबाट अनुदान रकम स्वीकृत गराएको भनेर आरोप लगाए । त्यसको प्रतिउत्तरमा गगन थापाले सामाजिक सञ्जालमा एउटा भिडियो निकाल्दै उक्त कुराको पुष्टि गर्न चुनौति दिँदै पुष्टि भए राजनीति छाडिदिने बताए । उनले लगाएका आरोप एउटा पनि कुरा सावित भए तत्काल सजाय भोग्न तयार रहेको भन्दै पत्रपत्रिकामा वक्तव्य समेत निकाले ।

त्यस्तै, अर्को घटना एउटा अन्तरवार्ता कार्यक्रममा डा. सुरेन्द्र केसीले उहाँले भनेका कुराहरु झुटो हो भनेर भनेपछि सँगै अन्तरवार्ता दिइरहेका नेमकिपाका उम्मेद्वार पे्रम सुवाल र केसीबीच निक्कै तनाव सिर्जना भयो । कार्यक्रम प्रस्तोता सुशील पाण्डेलाई नियन्त्रण गर्न हम्मेहम्मे भयो । यस्ता प्रतिनिधि घटनाहरुले मानिसले बोल्दा कति सचेत भएर बोल्नु पर्ने वा सामाजिक सञ्जालमा लेख्दा कति सचेत भएर लेख्नु पर्दो रहेछ भनेर सचेत गराउँदछ ।

अहिले देशमा निर्वाचनको माहोल छ । पहिलो चरणमा ३२ वटा जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ । अब बाँकी जिल्लामा २१ मंसिरमा हुँदैछ । उम्मेरद्वारहरु एक अर्काप्रति भनाभन, लेखालेख गर्ने क्रम जारी छ । तर, हामीले यतिबेला संयमित भएर आफूले गर्र्ने र अरुले गरेका कुराहरु सामाजिक सञ्जालमा लेखिने विषय वस्तुप्रति विषयको गहिरो अध्ययन नभई बोल्न वा लेख्न हुँदैन । यसले समाजमा नकारात्मक धारणा बन्न जान्छ । भोट लाउन पाउने आम जनताको मौलिक अधिकारको कुरा हो, त्यसकारण हामीले कसैप्रति पूर्वाग्रही भएर व्यङ्ग्य गर्न जरुरी छैन । यस्तो कार्य हामीले गरेमा हाम्रै तौल घटने छ । लखेक गोविन्द न्यौपानेकै शब्दमा भन्ने हो भने हामीले आम मानिसको धारणा बनाउने काम गर्नु हुँदैन, यसले मतदाताको मौलिक हकमाथि असर पुर्याउँदछ ।

बुद्धिजीवि भनिने मानिसहरुको धारणा हेर्न लायक देखिन्छ, फेसबुकमा, ट्विटरमा । कुनै व्यक्तिप्रति पूर्वाग्रही भएर, कुनै दलप्रति पूर्वाग्रही भएर दिनहुँ पछि, घन्टौँ पछि स्टाटस्हरु हाल्ने गरेको देखिन्छ । फलना पार्टीका उम्मेद्वारले यो भन्यो, फलना पार्टीको उम्मेद्वारले फलना ठाउँमा यो भन्यो भनेर बडो नकारात्मक टिप्पणी गरेको देखिन्छ । चुनाव पश्चात अनि त्यो स्टाटस्को के अर्थ हुन्छ हामीले सोच्नु पर्दछ ।
प्रमाणित नहुने वा तथ्यमा आधारित नभएका कुनै पनि कुराहरु गरेर हामीले समाजको ध्यान आफूतिर आकर्षित गर्न खोज्यौँ भने कलान्तरमा त्यसले दुर्घटना निम्त्याउँछ । कसैलार्ई खुसी पार्र्नका लागि हामीले टिकाटिप्पणी गर्न थाल्याँै भने त्यसले भविष्यमा हामीलाई समस्या पार्न सक्दछ । यसमा दोष केवल टिकाटिप्पणी गर्ने मानिसको मात्र नभएर त्यस्ता पुष्टि नहुने अर्काको चरित्र हत्या गर्ने खालको सामग्री आफ्नो सञ्चार माध्यमको भीवर बढाउन, लाइक, कमेन्ट बढाउन खोलिएका सञ्चारमाध्यमको पनि दोष रहेको छ । विशेषतः अनुगमन गर्ने संस्थाको कमजोरीको कारणले पनि यस्तो हुन गयो भनिन्छ । नेपालमा जस्तो मिडियालाई स्वतन्त्रता दक्षिण एसियाको कुनै पनि देशहरुमा छैन । तर, त्यसको गलत फाइदा लिने क्रम बढ्दो छ । कसैप्रति मलाई चित्त बुझेन फेसबुकमा गयो एउटा स्टाटस् बझाइ हाल्यो । यो प्रवृत्ति समाजशास्त्रको दृष्टिकोणले हेर्ने हो भने समाजका लागि घातक छ । आज मैले कसैको विरुद्ध लेखँे, भोलि उसले लेख्छ । अनावश्यकै यसले द्वन्द्व निम्त्याउने बाहेक अन्य कुनै काम गर्दैन । एउटा सानो कथा छ, एकजना मान्छेको घरमा एकजना हत्यारा आएछ । उसले त्यो मान्छेका परिवारलाई मार्न लागेछ । अनि उसले छिमेकीलाई गुहार्दै बचाउ(बचाउ भनेछ । तर, छिमेकीले मलाई मार्र्ने होइन क्यारे, म किन बचाउन जाने भनेर नसुने झैँ गरेछ । भोलिपल्ट फेरि त्यो हत्यारा अर्को छिमेकीको घरमा गएर त्यसरी नै मार्न खोजे छ । ऊ पनि फेरि बचाउ(बचाउ भन्दै करायो । तर, छिमेकीले फेरि त्यही सोचेछ मलाई मार्ने होइन क्यारे, म किन बचाउन जाने ? अनि पर्र्सीपल्ट उसकै घरमै आएछ त्यो हत्यारा अनि उसलाई देखेपछि त्यो छिमेकीको सातो उडेछ र उसले बचाउ(बचाउ भन्दै कराउन थाल्यो तर उसलाई बचाउने कोही छिमेकी रहेनछ, सबै उसले पहिले नै मारिसकेछ ।

त्यसकारण अर्कालाई गाली गरेर भन्दा वा अर्कालाई आरोप लाएर भन्दा पनि आफुसँग भएको योजना, नीति, रणनीति, जस्ता कुरालाई अघि सार्दै हाम्रा उम्मेरद्वारहरु अगाडि बढनु पर्दछ र ती नेतृत्वहरुको पछि हिँड्ने आम मानिसले पनि गुण र दोषको आधारमा निर्णय गर्नुपर्दछ । कसैले भनेका भरमा वा कसैले आरोप लगाएको भरमा उसको हनुमान भइयो भने एउटा बुटी लिएर आउँदा हुने ठाउँमा पहाड बोक्नु पर्ने हुन्छ अनि त्यो पहाडको ओजन थाम्न नसकेर दम तोड्न पर्ने पनि हुन सक्दछ ।

आम मानिसले गर्न हुने या भन्न हुने वा नहुने कुराहरु छुट्याउन जरुरी छ । किनकी तपाईले गरेको गल्तीको सजाय तपाईले मात्र भोग्नु हुन्न । त्यसको सजाय आम नेपालीले भोग्नु पर्ने हुन्छ । तपाईको समस्या हामी सबैको समस्या हो । त्यसकारण केवल साँघुरो सोच मात्र राखेर हिँड्न खोज्यो भने गन्तव्यमा पुग्न नपाई चेपटिएर मरिने सम्भावना बढी हुन्छ । हामीले विहंगम सोचका साथ सिर्जनशील विचारलाई चाहे त्यो आफ्ना पक्षको होस् वा प्रतिपक्षको होस् ग्रहण गर्दै लानुपर्दछ । यसबाट मात्र लोकलाई भलाई हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: