आस्था फरक, आश्रय एउटै

  प्रकाशित मिति
१ माघ २०७३, शनिबार १२:३९


DSCN5010 (2)
काँकरभिट्टा । सिद्धान्त अलग अलग । आस्था र विचार पनि फरक छ । तर, यति भिन्नताका विच पनि उनीहरूको आश्रय भने एउटै छानोमुनि छ । त्यति मात्र होइन, फरक आस्थाभित्रैबाट पनि लक्ष्य र उद्देश्य भने एउटै छ । त्यो हो–मजदुर हक हित र अधिकारका लागि काम गर्ने ।

यो कथा हो नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको । नेपाल यातायात मजदुर सङ्घको मातृ पार्टी नेपाली काङ्ग्रेस र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको मातृ पार्टी नेकपा एमाले हो । तर, काँकरभिट्टामा काङ्ग्रेस र एमालेको यातायात मजदुर वर्गीय सङ्गठन सङ्घ र सङ्गठन भने बर्षाैँदेखि एउटै आमाका सन्तान झँै एउटै छानोमुनि मिलेर बसेका छन् । उनीहरूको मिलाप हेर्दा यी फरक पार्टीका वर्गीय सङ्गठन हुन् भन्नै गाह्रो हुन्छ ।

केन्द्रदेखि नगरसम्मको राजनीति हेर्दा काङ्ग्रेस र एमालेविचको सम्बन्ध निकै उतारचढावपूर्ण छ । कहिले एमाले सत्तामा र कहिलै काङ्ग्रेस सत्तामा पुग्यो भने कहिले दुबै मिलेर पनि सत्ता चलाए । सत्तामा जो पुगोस् त्यसले यहाँ केही फरक पारेको देखिदैन । काँकरभिट्टा बसपार्कमा रहेको लामो भवनमा दुबैको कार्यालय छ । आफ्ना फरक झण्डासहित गतिविधि दुबैले गर्छन् । तर कहिल्यै झगडा छैन, सँधै मिलाप मिलाप नै भइरहेको छ ।

यी दुई सङ्गठनले ३७ वर्षदेखि एउटै भवनमा काम गर्दै आएका छन् । भवनको पहिलो तलामा रहेका पसलबाट आउने भाडा दुबैले बराबरी बाँड्ने गरेका छन् । ४ वटा सटर र एउटा सिँढीको फेदीमा रहेको पसलबाट मासिक ४६ हजार भाडा उठ्ने गरेको छ । जुन रकम २३ हजारका दरले बाँडेर कार्यालयको कर्मचारी तथा अन्य प्रशासनिक खर्च गर्ने गरिएको मजदुर सङ्घका निवर्तमान अध्यक्ष गोपालप्रसाद सिवाकोटी बताउँछन् ।

बसपार्कमा पश्चिमतिर फर्किएको भवनमा माथिल्लो तला उक्लिने सिँढी पनि एउटै छ । सोही सिँढीबाट दुबैको कार्यालय जाने एउटै बाटो छ । दुबै संस्थाबिचको यस्तो सहकार्य अन्यत्र पाउन मुस्किल छ ।

‘हामीबिचमा राजनीतिक आस्था फरक छ, तर कामको उद्देश्य एउटै हो’, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका इकाइ अध्यक्ष खडानन्द भण्डारी भन्छन्– ‘काम गर्नका लागि आस्था भन्दा पनि मन चाहिँदो रहेछ । आआफ्नो आस्था र बिचारमा रहेर मजदुरको हक अधिकारका लागि हामी काम गरिहेका छौँ ।’

फरक वैचारिक आस्थाबिचमा सहकार्यको सूत्राधार पदम सुतार कार्की र शरण सुब्बा हुन् । पञ्चायत कालमा काँकरभिट्टा क्षेत्रलाई व्यवस्थित गर्ने नाममा जग्गाको बाँडफाँड गरियो । त्यहीबेला काँकरभिट्टाका अगुवा कार्की र सुब्बाले उक्त ठाउँको जग्गा अतिक्रमण हुनबाट रोकेर राखेका थिए । एउटा घुम्ती राखेर उक्त जग्गामा वरिपरि बाँसको घेराबेरा लगाएर रोकिएको थियो । २०४५ सालमा सोही जग्गामा एउटा भवन निर्माण गरियो । भवनको एउटा कोठामा यी दुबै सङ्गठनको काम गर्ने गरिएको थियो । पञ्चायत कालमा एउटै उद्देश्य लिएर स्थापना भएको नेपाल यातायात मजदुर सङ्गठनमा यातायात क्षेत्रका मजदुरहरू गोलबद्ध थिए । त्यहाँ कुनै राजनीतिक भागभण्डा थिएन ।
समयले कोल्टे फेर्दै लग्यो । २०३६ सालमै स्थापना भएको तर लामो समयसम्म भुमिगत रहँदै आएको नेकपा एमालेको भ्रातृ सङ्गठनको रुपमा रहेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन बहुदल आएपछि २०४६ सालमा खुला गतिविधिमा आयो । बहुदल आएपछि नेपाली काङ्ग्रेसले नेपाल यातायात मजदुर सङ्घको स्थापना गर्यो । बहुदल आउनु अघि घोषित रुपमा कुनै वाद र विचारसँग सम्बन्धित रहेर गतिविधि कम थियो ।

तर, नेपाल यातायात मजदुर सङ्गठनमा आवद्धता राख्ने मजदुरहरू २०४८ सालमा विभाजन भए । काँकरभिट्टाको हकमा पनि मजदुरहरू विभाजन हुन पुगे । काङ्ग्रेस समर्थक मजदुर सङ्घमा आवद्ध हुन थाले भने एमाले समर्थक मजदुर सङ्गठनमा । यी सङ्गठनले २०५५ सालमा बैशाख ६ गते दुबै संस्थाका नाममा जिल्ला मालपोत कार्यालयबाट धनीपूर्जा लिएका थिए ।

सङ्गठनका तत्कालीन अध्यक्ष राजकुमार श्रेष्ठ र सङ्घका तत्कालीन अध्यक्ष रमेश अधिकारीको नेतृत्वमा धनीपूर्जा बनाइएको थियो ।

त्यसको ५ महिनापछि सङ्घ र सङ्गठनका लागि कोठाको विभाजन गरिएको थियो । जसको पश्चिमतर्फको कोठामा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको कार्यालय र उत्तरपट्टि सङ्घको कार्यालय रहने व्यवस्था गरिएको पूर्व अध्यक्ष राजकुमार श्रेष्ठले बताए । त्यसबेलाकै सहमति अनुसार अहिले पनि कार्यालय सञ्चालन भइरहेको छ ।

यातायात मजदुरहरूले मजदुरहरूको गतिविधि बढिरहेको बेला आफ्नो सङ्गठनका निम्ति जग्गा सुरक्षित गर्ने मात्र होइन, काँकरभिट्टामा रहेको अहिलेको बसपार्क सुरक्षित गर्ने कुरामा पनि यहाँका मजदुरले दिएको योगदान भुल्न नहुने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका पूर्व अध्यक्ष तथा एमाले नेता गोपालचन्द्र बुढाथोकी बताउँछन् ।

‘हामीले इतिहास भुल्नु हुँदैन’, एमाले नेता बुढाथोकी भन्छन्–‘चाहे त्यो सङ्गठनका हुन्, या सङ्घका हुन्, बसपार्क सुरक्षित राख्न सबै मजदुरहरूको महत्वपूर्ण योगदान छ ।’

आधिकारिक रुपमा जग्गा बाँडफाँड गर्नका लागि आएको ग्रामीण आवास कम्पनीले बसपार्क क्षेत्रलगायत वरिपरिका जग्गाहरू मजदुरहरूलाई पनि बेच्ने तयारी गरिरहेको अवस्थामा तिनै मजदुरहरूले बसपार्क बेच्न दिनु हुँदैन, हामी मजदुरले पनि खरिद गर्नु हुँदैन, यो सार्वजनिक सम्पत्ति हो भनेर निजी स्वार्थलाई तिलाञ्जली दिँदै बसपार्कको संरक्षण गरेको नेता बुढाथोकी बताउँछन् ।
नेपाल यातायात मजदुर सङ्घका इकाइ अध्यक्ष विशाल तामाङ मजदुर क्षेत्रमा काम गर्ने संस्था भएकाले दुबै संस्था मिलेर एउटै छानोमुनि सञ्चालन भइरहेको बताउँछन् । ‘यो देशकै एउटा नमुना हो’, अध्यक्ष तामाङ भन्छन्–‘फरक विचार र आस्था भए पनि कामको प्रकृति एउटै भएकाले मजदुर एकताका लागि हामीबिचमा कुनै मतभेद छैन ।’

राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेस र नेकपा एमाले कयौपटक एकले अर्काेको सरकार ढाल्ने धाउन्नमा लागे । केही समय एक भएझँै गर्छन् लगत्तै पानी बाराबार हुन्छ । तर, झापाको काँकरभिट्टामा रहेको यी संस्थाविचको सहकार्य कहिले टुटेन र टुट्ने छैन पनि । यसबाट उनीहरूकै माउपार्टीहरूलाई समेत सहकार्यका साथ अघि बढ्न प्रेरणा मिलिरहेको हुनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: