इतिहासको आलोकमा

  प्रकाशित मिति
१२ जेष्ठ २०७३, बुधबार १०:४१


buddha017

(बुद्ध नेपालमा होइन लुम्विनीमा जन्मेका हुन् । बुद्ध वाज अ रिच योङ इन्डियन, बर्न अफ नोवल फेमेली । बुद्ध कुशीनगरमा जन्मेका हुन् । प्राचीन कपिलवस्तुको राजधानी नेपालको तिलौराकोट होइन भारतको पिप्रहवा हो ।)

कोष्ठभित्रका यी भनाइहरू अहिले पनि भारतीय पुस्तक–पत्रिकामा पढ्न पाइने र अन्य कति विदेशीका मुखबाट सुन्न पाइने उद्धरणहरू हुन् । हामीले गौतम बुद्ध नेपालमा जन्मेर आफ्नो जीवनको २९ वर्षसम्म नेपालमै बिताएको, नेपालकै तिलौराकोटमा राजकुमारको हैसियतले पढेको–बढेको र राज्यका गतिविधिमा भाग लिएको कुरा न नेपालभित्रका नेपालीलाई छ्याङ्ग पार्न सकेका छौँ न विदेशमा यस ऐतिहासिक तथ्यलाई छर्लङ्ग राख्न सकेका छौँ । लुम्विनी विकास गुरुयोजना बनाएको वर्षौँ भयो, न त्यसलाई अगाडि बढाउन सकेका छौँ ।
हामीले गरेको भनेको हरेक वर्ष कर्मकाण्डी बुद्धजयन्ती मनाएका छौँ । बुद्ध धर्मको गाँठी कुरा न कसैले खोजेका छौँ, बौद्ध दर्शनको सारभूत कुरा न हामीले पढेका छौँ । बरु प्रतिदिन कयौँ मान्छेको भाग्य मारेर बुद्धको अहिंसाको प्रवचन दिन्छौँ अनि परिवारको तनाव, समुदायको झगडा र राष्ट्रको अशान्तिको भारी टाउकामाथि हालेर विश्वलाई शान्तिको सन्देश छर्ने महामानव बुद्ध लुम्विनीमा जन्मेका हुन् भनी कुरा कथुर्छाैं ।

हामीले बौद्ध धर्म भनेर उपत्यकाका नेवार जातिका कर्मकाण्ड, तामाङ र सेर्पा जातिले मान्ने तिब्बती तन्त्रमन्त्रको अधिकता भएको निङमापा र ग्यालोक्पा (ज्ञानमार्गी) सम्प्रदाय प्रभावित धर्म र केही गुरुङहरूका आस्था र विश्वास बुझ्छौँ । बुद्ध जन्मेकै देशमा बौद्ध धर्मावलम्वीको सङ्ख्या ११% छ र तथ्याङ्कले त्यो घट्तो क्रममा छ भन्ने बताउँछ । प्रष्ट छ— हामीले बौद्ध धर्मको चुरो कुरो गुमाइसकेका छौँ । बुद्धका ४ आर्यसत्यलाई भुलिसकेका छौँ । उनले निर्दिष्ट गरेको मध्यममार्ग र निर्वाणका कुरा बिर्सिसकेका छौँ ।
वास्तवमा कहाँबाट चुक्यौँ हामी ? किन बुद्ध जन्मेकै देशमा बौद्ध धर्म यसरी उपेक्षित र अवहेलित भयो ? किन लुम्विनीलाई गौतम बुद्धको जन्मस्थलको रुपमा भँजाएर राज्य पर्यटक भित्र्याउने ध्याउन्नमा मात्र लाग्यो (त्यो पनि असफल) ? किन लुम्विनी बौद्ध राष्ट्रहरूले निर्माण गरिदिएका भिन्न भिन्न वास्तुकलाले सुसज्जित भवन, स्मारक, गुम्बा आदिले झकिझकाउ हुँदा तिलौराकोट ऐतिहासिक क्षेत्र काँडेतारले घेरिएको काँसघारीमा विलीन छ ? किन बुद्ध हाम्रा प्रवचन, भाषण र लेखहरूमा सीमित भए ? सनातन हिन्दू धर्म र ईपू. छैटौँ शताब्दीमा स्थापित र प्रवर्धित बौद्ध धर्ममा के के साम्य र के के वैषम्य छन् ? हामीले पर्गेलेका छैनौँ । बौद्ध धर्म एसियाका मुुलुकहरूमा कसरी फैलियो ? अत्यन्त लोकप्रियता प्राप्त गरेको बौद्ध धर्ममा कहिलेदेखि किन विचलन आयो, यसलाई सङ्क्षेपमा हेरौं ः—

बौद्ध भिक्षुहरूको प्रथम सङ्गीति ः
भोकै बर्त लिँदैमा, प्यास खपेर ईश्वर नाम जप्तैमा, शरीरलाई अनेक दुःखकष्ट दिएर तपस्या गर्दैमा मोक्ष प्राप्त हुँदैन भन्ने ज्ञान नै सिद्धार्थ गौतमले प्राप्त गरेको पहिलो ज्ञान थियो । यो ज्ञान प्राप्त गरेपछि उनले भोजन गर्दै, आराम लिँदै ध्यान गर्न थाले । उनले ध्यानबाट प्राप्त गरेको ज्ञानलाई विद्वान्हरूले ४ आर्य सत्यमा समेटेका छन् ।
ज्ञानको उपदेश गर्दागर्दै गौतम बुद्धले ८० वर्षको उमेरमा कुशिनारा (गोरखपुर)मा वैशाख पूर्णिमाका दिन निर्वाण प्राप्त गरे । त्यही साल असारमा मगध साम्राज्यको राजगृहमा बौद्ध धर्मावलम्वीहरूको प्रथम सङ्गीति सम्पन्न भयो । यसमा ५०० भिक्षुहरूको सहभागिता थियो । यस सङ्गीतिको सबैभन्दा महत्वपूर्ण कुरा भनेको बुद्धका उपदेशको पुनर्वाचन थियो । यस कृत्यले त्रिपिटकको रचना भयो । त्रिपिटक यस प्रकार छन् ः—

१. सुत्त पिटक ः
बुद्धका शिष्य आनन्दको अग्रसरतामा निर्मित “सुत्त पिटक” मा ५ निकाय छन् ः दीघ निकाय, मज्झिम निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय

२. विनय पिटक ः
भिक्षु उपालीले निर्माण गरेको यस “विनय पिटक” का ३ वटा अङ्ग छन् ः (क) सुत्त विभङ्ग, भिक्खपाति मोक्ख, भिक्खुनी पाति मोक्ख (ख) खन्धक–महावग्ग, चुल्लावग्ग (ग) तथा परिवार

३. अभिधम्म पिटक ः
सुत्त पिटकको दार्शनिक विकास भई बनेको अभिधम्म पिटकका ७ वटा ग्रन्थ छन्—पुग्गल पञ्ञति, धातुकथा, धम्मसङ्गणि, विभङ्ग, पठ्ठान, पकरण, कथावत्थु र यमक ।
पछिल्लो कालमा भिक्षु नागसेनले रचना गरेको “मिलन्द फञ्हो” पनि त्रिपिटक जत्ति नै आधिकारिक र विश्वसनीय ग्रन्थ मानिन्छ ।

दोस्रो सङ्गीति ः
बुद्धको महापरिनिर्वाणपछि एक सय वर्ष भित्रैमा बौद्ध भिक्षुहरूमा मतभिन्नता देखिन थाल्यो । तत्कालीन मगध साम्राज्यका सम्राट अजातशत्रुले बज्जीसङ्घमा आक्रमण गरे । अजातशत्रु परम्परागत राजा थिए भने बज्जीसङ्घ गणतन्त्रात्मक शासन पद्धतिको प्रारुप थियो । युद्धमा पराजित बज्जीसङ्घका कुलपुत्र (नेतृत्व वर्गका सन्तान)को ठूलो जमात भिक्षुसङ्घमा प्रवेश गरेको थियो । स्वतन्त्र र शासकीय फुइँ बोकेर बाँचेको यस जमातलाई भिक्षुसङ्घभित्रको कडा आचार र अनुशासनमा रहन गाह्रो प¥यो ।
यस्तैमा वैशाली नगरमा कालाशोक राजाको पालामा ‘यश’ नामक महास्थविरको अध्यक्षतामा दोस्रो सङ्गीति आयोजना गरियो । अघि भनियो–यस बेलासम्ममा भिक्षुहरूबीच मत भिन्नता सुरु भइसकेको थियो । एक थरी भिक्षुहरू बुद्धद्वारा निर्देशित नियममा बाँधिएर बस्ने र निर्वाण चाहने थिए भने अर्का थरी भिक्षुहरू ती नियममा संशोधन गर्ने र खुकुलो बनाएर बढी स्वतन्त्रताको उपभोग गर्न चाहन्थे ।
दोस्रो थरीका भिक्षुहरूको नेतृत्व बज्जीसङ्घबाट प्रवेश गरेका कुलपत्रहरूले गरे । द्वन्द्व बढ्यो । ७०० भिक्षुहरूको सहभागिता भएको यस दोस्रो सङ्गीतिमा बज्जीसङ्घका कुलपुत्रहरूको ठूलो जमातले भेला बहिष्कार ग¥यो र अर्को सम्मेलन ग¥यो । यसरी छुट्टिएर गएको समूहलाई महासाङ्घिक भनियो । मूल समूहलाई स्थविरवादी भनियो ।

तेस्रो सङ्गीति ः
बौद्ध धर्मावलम्वीहरूको तेस्रो सङ्गीति बुद्धको निर्वाणको २२८ वर्षपछि मौर्य सम्राट अशोकको समयमा पाटलीपुत्रको अशोकराम विहारमा सम्पन्न भएको थियो । दोस्रो सङ्गीतिमा छुट्टिएका महासाङ्घिकहरू यसमा सहभागी थिएनन् । मौग्दली पुत्र तिष्यको प्रमुख आचार्यत्वमा १००० भिक्षुहरू सहभागी भएको यो स्थरवादीहरूको सम्मेलन थियो । यस बेलासम्म बौद्ध धर्मभित्र १८ वटा सम्प्रदाय जन्मिसकेका थिए । बाह्रवटा स्थेरवादी र छ वटा महासाङ्घिकका सम्प्रदाय थिए । नौ महिनासम्म चलेको यस सम्मेलनमा स्थवीरवादीहरूका धेरजसो मतभिन्नता समाप्त भयो, तर मूलभूत कुरामा भिन्न मत राख्दै आएको महासाङ्घिकहरू यस सम्मेलनमा सहभागी थिएनन् ।
तेस्रो सङ्गीतिको महत्वपूर्ण परिणाम भनेको सम्राट अशोकको सहयोग र समर्थन नै हो । अशोक बौद्ध धर्म—दर्शनका लागि ईश्वर भएर देखा परे । झण्डै ३००० वर्ष अगाडि अयोध्याका तत्कालीन राजकुमार रामचन्द्रले वैदिक धर्मलाई दक्षिण भारतसम्म पु¥याएका थिए । अब सम्राट अशोकले भिक्षुहरूको नौ वटा समूह बनाएर चारै दिशामा बौद्ध धर्म प्रचार प्रसारमा पठाए । यही समयदेखि यो बौद्ध धर्म भारतभरि, श्रीलङ्का, वर्मा, सिक्किम, भुटान, तिब्बत आदि देशविदेश फैलिने क्रम सुरु भयो ।

यी नौ समूहमध्ये कुनै समूह पनि नेपाल आएको ऐतिहासिक प्रमाण छैन । बरु सम्राट अशोक स्वयम् नेपाल आएका थिए । लुम्विनीमा उनले स्थापना गरेको अशोक स्तम्भ यसको प्रमाण हो । यस बाहेक गोपाल राजवंशावलीमा केही कुरा उल्लेख भए पनि अरु ऐतिहासिक दसीप्रमाण नपाउन्जेल अशोकले पठाएको कुनै बौद्ध भिक्षु नेपाल आएको कुरा पत्याउन सकिदैन ।

स्थविरवाद र महासाङ्घिक ः
सम्राट अशोक आफैँ बौद्ध धर्ममा दीक्षित हुनु, उनको योजना र सहयोग समर्थनमा स्थविरवादी बौद्ध भिक्षुहरू देश विदेश जानु, बुद्धको पवित्र जीवनको सन्देशमा जनसामान्य आकर्षित हुनु, हिन्दू धर्मको यज्ञ विधान र अन्य जटिल कर्मकाण्डबाट अघाएका जनसाधारणको चाख यसमा बढ्नु यस धर्मको प्रचार प्रसारको आधार बने । तर, सम्राट अशोकको अवसानपछि स्थविरवादीहरूको प्रभाव घट्दै गयो । भिक्षु सङ्घमा विद्वान्–त्यागी अर्हत्हरू भए पनि साधारण भिक्षुको सङ्ख्या अधिक थियो । महासाङ्घिकहरूले पहिले नै परम्परागत मर्यादा, अनुशासन र नियम उल्लङ्घन गरेकै थिए । अब स्थविरवादी साधारण भिक्षुहरू पनि खुकुलो नियमपट्टि आकर्षित हुने स्थिति देखा प¥यो । फेरि सम्राट अशोक र अरु राजाहरूको आश्रय र संरक्षणमा बौद्ध विहारहरूमा प्रशस्त धन थुप्रेको थियो । धनले स्वभावैले भोग खोज्छ । भोगले मोहलाई निम्त्याउँछ अनि मोहले पतनको ढोका खोलिदिन्छ । यही स्थिति तत्कालीन बौद्ध विहारहरूमा देखा प¥यो ।

अर्कातिर सामान्य जनता वैदिक धर्मको छोटा तन्त्र–मन्त्र–स्तोत्र–जप–पूजा–पाठले इच्छित फल दिने परम्पराबाट पूरै विमुख हुन सकेका थिएनन् । वैदिक धर्मानुयायीहरूले मूर्तिका अगाडि नमन गरी लिएको सन्तुष्टिसँग बौद्धहरू प्रभावित थिए । यसैको परिणाममा बौद्ध पण्डितहरूले जातक कथाको निर्माण गरे । बुद्धका लामा–लामा उपदेशहरू छोट्याएर धारणी मन्त्र बनाए । स्मृति चिह्नका रुपमा बनाइएका साधारण बौद्ध स्तुपमा आकर्षण रहेन, वैदिक देवस्थलमा जस्तै त्यहाँ मूर्ति स्थापना गर्नु पर्ने भयो । वैदिक धर्मबाट बौद्ध भिक्षुहरू प्रभावित हुने अर्को पनि कारण देखिन्छ । अश्वघोष, असङ्ग, वसुबन्धु, नागार्जुन जस्ता प्रकाण्ड बौद्ध पण्डितहरूको बालककाल वैदिक धर्मसंस्कारमा बितेको थियो । उनीहरूले सुरुमा वैदिक साहित्य नै अध्ययन गरेका थिए । उनीहरूले प्रवचनका क्रममा उदाहरण—उपमा दिनु पर्दा वैदिक पात्रहरू नै दिने गर्थे । यसो गर्दा जनसाधारणले कुराका चुरो सजिलै बुझ्थे । त्यसो त बौद्धहरूले वैदिक मतको खण्डनै गर्नु पर्दा पनि वैदिक साहित्यको अध्ययन त गर्ने पथ्र्यो । यसैको पृष्ठभूमिमा बुद्धलाई अलौकिक व्यक्तिका रुपमा चित्रण गर्न थालियो । यस क्रममा महासाङ्घिकहरू नै अग्रणी भएको बुझिन्छ । स्थविरवादीहरूले पनि खासै प्रतिकार नगरेको पाइन्छ । बरु उनीहरू पनि बुद्धको सोझा र सरल उपदेशसँगै तत्व ज्ञानमाथि तर्कवितर्क गर्न थाले । बुद्धले ईश्वर सम्बन्धी चर्चा परिचर्चा गरेनन् । अनिर्वचनीय (बोलीले अथ्र्याउन नसकिने) सत्तालाई अव्याकृत भनेर छोडेका थिए । त्यसलाई अब बौद्ध पण्डितहरूले व्याख्या गर्न थाले । यसै मेसोमा वैदिक धर्मावलम्वीलाई बौद्ध धर्मप्रति आकर्षित तुल्याउन पञ्चध्यानी बुद्धको परिकल्पना गरियो ।

वास्तवमा महासाङ्घिकहरूलाई नै महायान सम्प्रदाय भनियो र महायान सम्प्रदायको उदय बौद्ध धर्म र दर्शनको इतिहासमा एउटा अत्यन्त महत्वपूर्ण मोड मानिन्छ । यिनीहरूको विस्तार भारत, तिब्बत, चीन, जापान, कोरिया, मङ्गगोलिया आदि देशहरूमा भयो । स्थविरवादीहरू थेरवादी हँुदै हीनयानी कहलाइए । यी दुवै बीच अन्तर यस प्रकार छ ः—
महायानीको मूल अभिप्राय हो—बोधिसत्व । (बोधो सत्वम् अभिप्रायो अस्य) । बोधिसत्वको खास अर्थ हो—आफू एक्लै मुक्त हुन नचाहनु, बरु अरुको पनि मुक्तिका लागि प्रयत्नशील रहनु । अर्थात् बोधिसत्व भन्नाले समस्त प्राणीको उद्धारको कामना गर्नु हो । महायान सम्प्रदायको अनुशरण गर्नेहरू विशिष्ट भक्तिमा विश्वास गर्छन् । भक्तिका लागि अलौकिक ईश्वरीय सत्ता भएको देवताको आवश्यकता पर्दछ । त्यस देवतालाई प्रतिनिधित्व गर्ने मूर्ति हुँदा साधारण मनुवालाई लोभ्याउन झन् सजिलो पर्छ । यसै कारण बौद्ध धर्मावलम्वीले श्रद्धावश बुद्धका स्मृति चिह्नका रुपमा निर्माण गरेका चैत्यहरूमा बुद्धका मूर्ति राख्न थाले । वैदिक देवताका प्रतिस्पर्धामा बुद्धका मूर्ति बनिन थाले । ईशाको दोस्रो शताब्दी पूर्वमा नै महायान सम्प्रदायको विचार, दर्शन र शास्त्रको विकास भयो । यसै बेलादेखि जीवनभर मूर्ति पूजाको निष्प्रयोजनको उपदेश गर्ने बुद्ध स्वयम्को मूर्ति बनिन थालेको पाइन्छ । प्रथम शताब्दीका सम्राट कनिष्कका समयमा बुद्धको मूर्तिले आशातीत व्यापकता पायो ।

बुद्धका उपदेश हुबहु अनुशरण गर्नेहरू स्थविरवादी थिए । जसलाई थेरवादी भनियो । यिनीहरूको आदर्श हो–अर्हत् अर्थात् व्यक्तिको उद्देश्य प्रज्ञाको प्राप्ति र प्रज्ञावान् भए पछि निर्वाण प्राप्त गर्नु हो । तर थेरवादीहरू एउटा व्यक्तिको निर्वाणको कुरा गर्छन्, सम्पूर्ण प्राणीको होइन । उनीहरू प्रज्ञापारमिताबाट वैयक्तित निर्वाणको कुरालाई अभिष्ट ठान्दछन् । भनिन्छ —त्यसैकारण उनीहरूलाई हीनयानी भनियो ।

चौथो सङ्गीति ः
ई.सं. १४० तिर कुषाण साम्राज्यका सम्राट कनिष्कका समयमा कास्मिरमा छ महिनासम्म ५०० भिक्षुहरूको सहभागितामा भएको बौद्ध धर्मावलम्वीहरूको चौथो सङ्गीतिका अध्यक्ष भिक्षु वसुमित्र र सहायक अश्वघोष थिए । यही सङ्गीतिमा संस्कृत भाषामा बौद्ध पिटकका प्रामाणिक टीका लेखियो । महाविभाषा (बौद्ध ज्ञान कोश) तयार गरियो । सम्राट कनिष्कले बौद्ध धर्म ग्रहण गरेपछि यस धर्ममा देखिएका मत–मतान्तरलाई समन्वय गर्न सम्राटले यो सङ्गीति गराएका थिए भनिन्छ । यस सङ्गीतिको मुख्य उपलब्धी भनेको बौद्ध धर्ममा महायान सम्प्रदाय (महासाङ्घिक)को मान्यता पाउनु थियो । महायानीले खुकुल्याउँदै ल्याएको अनुशासन, फेर्दै ल्याएको आस्था, स्थानीय अरु धर्मबाट ग्रहण गर्दै ल्याएको प्रभाव आदिले बुद्धलाई अलौकिक र चमत्कारी दैवी व्यक्तित्वका रुपमा स्थापित ग¥यो । बुद्धका पाषाण मूर्तिहरू बनिए । मूर्ति–चैत्यमा पूजा–अर्चना सुरु भयो । बोधिसत्वलाई बुद्धकै अवतारका रुपमा स्थापित गरियो । अझ मूल कुरा—बौद्ध धर्म ग्रहण गर्न अखण्ड ब्रह्मचर्य, असञ्चय, शुचिता नै पालन गर्ने बाध्यता रहेन । अरु धर्मसँग हात मिलाएर पनि अरु धर्मका कतिपय कुरा मानेर पनि बौद्ध धर्मावलम्वी बन्न सकिने अवस्था आयो । यस्तो अवस्थाले महायानी मतको प्रचार–प्रसार युद्धस्तरमा भयो । सम्राट अशोकले स्थविरवादी (हिनयानी) मतको प्रसारमा जुन योगदान दिएका थिए कनिष्कले महायानको प्रवर्धन र प्रसारमा उत्तिकै योगदान दिए । त्यस बेलासम्ममा विकसित बौद्ध दर्शनलाई विद्वान्हरूले चार भागमा वर्गीकरण गरेका छन् ः—
१) वैभाषिक—वाह्यार्थ प्रत्यक्षवाद (संसार सत्य, निर्वाण पनि सत्य)
२) सौत्रान्तिक—बाह्यार्थानुमेयवाद (संसार सत्य, निर्वाण असत्य)
३) योगाचार—विज्ञानवाद (संसार असत्य, निर्वाण असत्य)
४) माध्यमिक—शून्यवाद (संसार असत्य, निर्वाण सत्य)

यी मतहरू बौद्ध दर्शनको पछिल्लो चरणमा विकसित भएका हुन् । मूल हीनयानीहरू पहिलो मतका पक्षपाती मानिन्छन् भने चौथो मत बौद्ध दर्शनको सबभन्दा पछिल्लो र विकसित मत मानिन्छ ।

यिनै मत र वादका शाखा–प्रशाखा हँुदै मन्त्रयान, सहजयान–बज्रयानको स्थापना भएको हो । बज्रयानसम्म आइपुग्दा बौद्ध धर्मको मूलसार पूर्णरुपमा परिवर्तन भइसकेको पाइन्छ । अझ शुद्ध हीनयानी र महायानीले बज्रयानलाई धार्मिक मतका रुपमा मान्यता नै दिएका छैनन् । तर, यसैका आधारमा तिब्बतमा लामावादको विकास भयो र त्यो नेपाल प्रवेश ग¥यो । बज्रयान पनि नेपालमा प्रचार–प्रसार भयो । यसले कला, संस्कृति र स्थापत्यमा निकै योगदान पु¥याएको छ । तर, बज्रयानीहरूको तन्त्रमन्त्र माथिको विश्वास, अभिचार र पञ्चमकार साधना जस्ता कुराको बुद्धको उपदेशसँग गोरु बेचेको साइनुसम्म छैन । त्यसैकारण बौद्ध दर्शनका प्रशंसक–समर्थकहरू हीनयान र महायानभन्दा अगाडि व्याख्या विवेचना गर्न रुचाउँदैनन् ।

अन्धपरम्परा र अमानवीय धार्मिक क्रियाकलापले प्राधान्य पाएको बज्रयानी मतमा दार्शनिक पृष्ठभूमि पाइँदैन । तर्क र विवेचना छैन । छ त केवल अन्धपरम्परा र विश्वास । यसरी वैदिक धर्मको स्थापना स्रोत मानिएका ४ वेदमध्ये कान्छो अथर्ववेदमा मारन, उच्चाटन, सम्मोहन जस्ता अभिचारहरूको सङ्ग्रह गरी त्यसलाई महाज्ञानको रुपमा मान्यता दिएपछि सामान्य जनता चमत्कारी–सिद्ध पुरुषप्रति आकर्षित भए । त्यसैको सिको गर्दै बौद्ध भिक्षुहरू जनमत आफ्नो पक्षमा पार्न तन्त्रमन्त्र र सिद्धितिर लागे । अनि बज्रयान र लामा धर्म सुरु भयो ।

बिडम्वना, यो धेरै मात्रामा भारतबाट तिब्बत र तिब्बतबाट नेपाल भित्रिएको पाइन्छ र नै यो मूल स्वरुपसँग पूरै मिल्दैन । तर, बज्रयान धर्मले नेपाली स्थापत्य कला र संस्कृतिको इतिहासमा अपूर्व परिवर्तन र प्रगति गरिदिएको छ । नेपाली कला संस्कृतिको समृद्धिमा यस धर्मको योगदान अविस्मरणीय छ । त्यति भएर पनि महामानव गौतम बुद्धको मूल उपदेशसँग बज्रयान र लामा धर्मको जोडा मिलाउन कसै गरे पनि सकिँदैन ।

(लेखक बुधवारे झापास्थित सीता रमेश बहुमुखी क्याम्पसका प्रमुख हुन् । मो.९७४२६०४९४२)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: