इतिहास अध्ययनमा ‘नीपजन र नेपाल’

  प्रकाशित मिति
५ जेष्ठ २०७५, शनिबार ०९:०७


प्राचीन ग्रिकका इतिहासकार हेरोडाइट्सले इतिहासका सन्दर्भमा बडो रोचक कुरा उल्लेख गरेका छन् । ‘इतिहासमा देशका जनता, उनीहरुको जीवन, राजनीतिक, आर्थिक तथा सामाजिक विकासका कुराहरु समेटेर राखिएको हुनुपर्छ । इतिहास राजा महाराजाका स्तुति र गुणगान मात्र होइन । यो त सिङ्गो मानव समुदायले निर्माण गरेको सभ्यता पनि हो ।’
इशापूर्व ४८४ मा जन्मेका हेरोडाइट्सले इतिहासका विषयमा गरेको व्याख्या आज पनि उत्तिकै मननीय छ, । यिनै दार्शनिकले व्याख्या गरेको इतिहास सम्बन्धी अवधारणालाई कति फलो गरिएको छ त ? आजपर्यन्त निरन्तर बहसको रुपमा रहेको छ । राजतन्त्र उन्मूलन भएको एक दशक मात्र भएको हाम्रो जस्तो शैशवकालीन गणतन्त्रात्मक देशमा त अझ यो विषय पेचिलो बन्न पुग्छ । इतिहासको विरासतले समाजलाई हम्मेसी नछोड्ने हुँदा शिशु गणतन्त्रात्मक देशमा इतिहासको व्याख्या त झन् बहसको विषय बन्छ नै ।

हाम्रा विद्यालय, विश्व विद्यालयमा इतिहास अध्ययन अध्यापन गराउन थालिएको लामो समय भयो तर इतिहास अध्ययनको उद्देश्य चाहिँ प्राज्ञिक कर्मभन्दा पनि विद्यार्थीहरुका लागि सजिलोसँग कक्षा उक्लिनका लागि मात्र पढ्ने विषय बन्न पुग्यो । प्रमाण पत्र प्राप्त गर्ने हेतुले लिएको ज्ञानले शैक्षिक उन्नयनमा खासै महत्त्व राख्दैन । यसको ज्वलन्त उदारण अहिले आफू र आफ्नो समाजको इतिहासप्रति बेपर्वाह गर्ने पुस्ता निर्माण भइरहेको तथ्यले उजागर गरिरहेको छ । विगतको अध्ययनसँगै वर्तमानलाई बुझ्ने र भविष्यको प्रक्षेपण गर्नका लागि इतिहास अध्ययन गरिन्छ भन्ने मान्यता स्थापित हुन सकेन । जसले गर्दा हाम्रा शिक्षालयहरुले इतिहास पढ्ने शिक्षार्थी नै पाउन छाडे । भर्खरै मात्र त्रिभुवन विश्व विद्यालयले विद्यार्थी अभावमा इतिहास विभाग नै खारेज गर्नसक्ने उद्घोष गरेको छ ।

विश्व विद्यालयले समाज विज्ञान, इतिहासका विषयलाई महत्त्वका साथ अध्यापन गराएर समाज र सभ्यताप्रति सचेत नागरिक उत्पादन गर्नुपर्नेमा विभाग नै खारेज गरेपछि बेपर्वाह नागरिक उत्पादन हुन्छन् । आफ्नो समाजको इतिहास र वर्तमानमा घटिरहेका अनेकवली घटनाका ऐतिहासिकता नबुझ्दा वा त्यसप्रति उदासीन हुँदा हामीले हाम्रो भविष्य कस्तो बनाउने भन्नेमा ठूलो अन्योल सिर्जना हुने रहेछ । 

पश्चिमा संसारबाट सापट लिएका सिद्धान्त र उनीहरुका अनुभव मात्रै पढेर हुर्कँदा एकातर्फ हामीले हाम्रो मौलिकता गुमाउँदै जाने रहेछौँ । हामी आफँैले विकास गरेका महासभ्यताहरु समेत हाम्रै नजरबाट धुमिल हुँदै जाने रहेछन भन्ने अहिले नेपालमा काम गरिरहेका विद्वान् र अनुसन्धाताहरुले महसुस गर्न थालेका छन् । नेपाली समाज आफँैमा ठूला राजनीतिक र सांस्कृतिक उथलपुथलबाट गुज्रिरहेको समयमा कतिपय घटना, आन्दोलन र कतिपय अवस्थामा सिर्जित अराजकतालाई ठम्याउन नसक्ने हुँदा रहेछौँ । त्यसैले आफ्नै समाजको गम्भीर अध्ययन गर्न नागरिक स्तरबाट समेत नथालिने हो भने विद्यालय, शिक्षानीति र विश्व विद्यालयको बाटो हेरेर बस्दा एउटा सिङ्गै पुस्ता भ्रम र विभ्रमा कैद भएर बित्ने खतरा महसुस भएको छ ।

रिडर्स झापाले इतिहास र नेपाली समाज अध्ययन गरिरहेका विभिन्न विद्वान् र अध्येताहरुसँग गरेका घनीभूत छलफलबाट यही निष्कर्ष निकालेको छ । त्यसैले युवाहरुलाई समेटेर २०७५ वैशाखदेखि नेपालको इतिहास अध्ययन र प्रस्तुतीकरणको शृङ्खला चलाइरहेको छ ।

यसै सन्दर्भमा मार्टिन चौतारीले प्रकाशन गरेको दिवाकर आचार्यद्धारा लिखित ‘नीपजन र नेपाल ः एक छोटो आद्य इतिहास’ नामक एक अनुसन्धनात्मक कृति हामीले अध्ययन गरेका छौँ । नेपालको इतिहास लेखनमा विभिन्न प्रवृत्ति र धारहरु छन् । आचार्यले पुस्तकमा नेपाल नामकरणका सन्दर्भमा विभिन्न विद्वानहरुका तर्क सप्रमाण खण्डन गरेका छन् । उनले नेपाल शब्दको व्युत्पत्तिसँग जोडिएर आउने नीपजन समुदायको प्राचीन इतिहास पनि जोडिएको छ भन्ने पुष्टि गर्ने प्रयास गरेका छन् । नीप शब्दलाई उपत्यकाको भूगोल र त्यहाँ बसोवास गर्ने प्राणी, जीव वनस्पति लगायतसँग नेपाल शब्दको व्युत्पत्तिमा प्राचीनता गाँसिएको विषयलाई विभिन्न वैदिक साहित्य, कथा, पुराणका घटना र प्राचीन कालका विभिन्न ग्रन्थहरुका अनेकौँ श्लोकहरुलाई पनि प्रस्तुत गरेर नीप जनपदका कारण नेपाल शब्दको व्युत्पत्तिको इतिहासलाई पुष्टि गर्न खोजेका छन् ।

नेपाल शब्दको व्युत्पत्तिका सन्र्दभमा हामीले हाम्रा विद्यालय वा विश्व विद्यालयका पाठ्यक्रममा पढेकाभन्दा फरक इतिहास यस ग्रन्थमा पाइन्छ । नीपहरु कुनै जाति नभएर जनपद थिए । यी जनपदमा अनेकौँ गणहरु थिए । गणका आआफ्ना विशेषताहरु थिए । अहिले कुनै पनि जातीय अस्तित्व नदेखिनुमा यिनीहरु धेरै वटा गणहरु मिलेर बनेका जनपद थिए । लामो अन्तराल पश्चात् यहाँका स्थानीय जनसमूहसँगको संसर्गका र अन्तर्घुलनका कारण छुट्टै अस्तित्व पाइँदैन । यिनीहरु गङ्गाको तटीय मैदानमा विचरण गर्दथे । आफ्नै जनसमूहका अङ्गीरसहरुसँग वैमनस्य उत्पन्न भएपछि क्रमशः यिनीहरु दक्षिणी पाञ्चालबाट बिस्तारै उत्तर तर्फका दुन, भावर, खोँच हुँदै उपत्यका वा यसको वरिपरि आएर बसेको र यिनैका नामवाट नेपाल शब्दको व्युत्पत्ति भएको उनले उल्लेख गरेका छन् ।

उनको तर्क छ “नीप शब्द “नि” उपसर्ग र पानीलाई बुझाउने “अप्” शब्द जोडिएर बनेको पानीसँग सम्बन्धित शब्द हो । यो वैदिक संस्कृतिमा नै भेटिन्छ । यसको यौगिक अर्थ पानी (अप) नजिकको होचो र गहिरो (नि) ठाउँ हुन्छ । यो शब्दले त्यहाँका वनस्पति र प्राणीलाई समेत बुझाउँछ । यो व्युत्पत्ति नेपालको भौगोलिक परिप्रेक्ष्यसँग पनि मेल खान्छ । यसकारण यो व्युत्पत्ति नपत्याई “अर्को वैकल्पिक सत्य” को खोजी गर्नु पर्दैन । नेपाल शब्द चलनचल्तीमा अउनुअघि नीप शब्दले नीपजन र तिनको बसोवास क्षेत्र दुबैलाई बुझाउँथ्यो । नेपाल शब्दको नामकरण र विश्लेषणका कारण बनेका नीपजनाबारेका सामग्री वैदिक साहित्यदेखि प्राचीन अभिलेख र पुराणमा छरपस्ट देखिन्छ” ।

उनको जोड भनेको होचो ठाउँ र यसमा बस्ने मानिस वनस्पति र प्राणीहरु पनि हुन् भनेर गहिरो होचो ठाउँ भनेको काठमाडौँ उपत्यकामा बसोवास भएका कारणवाट नेपाल शब्दको व्युत्पत्ति भएको भनेर पुष्टि गर्न खोजेको देखिन्छ ।
नेपाल शब्दको उल्लेख अथर्ववेदमा पाइन्छ । शब्दको प्रयोगका बारेमा यो नै सबैभन्दा पुरानो मानिन्छ । नेपालको नामकरण संस्कृत शब्द ‘निपालय’बाट भएको हुनसक्ने देखिन्छ । संस्कृतको ‘निप’ र आलय’ शब्दको सन्धिबाट निपालय शब्द निर्माण हुन्छ । जसको अर्थ पहाडको खुट्टा (आधार) हो । यसलाई हिमालको खुट्टामा रहेको निवास क्षेत्र भन्न सकिन्छ । हिमालको काख, पानी जम्ने ठाउँ तथा त्यहाँ पाइने वनस्पति र प्राणीलाई समेत बुझाउने नीप शब्द नीपजनको बसोवास रहेकाले निपालयबाट नेपाल नामकरण भएको हुनसक्छ ।

नेपाल शब्दको नामकरण सम्बन्धमा शाब्दिक दृष्टिले अध्ययन गर्दा निपालय नै आधार रहेको भन्ने कुरा आलय शब्द हो । आलय संस्कृत भाषाको शब्द हो । भारतमा आर्यहरुको प्रवेशसँगै नीप जनपद रहेको वेद र पुराणमा उल्लेख छ । भारतवर्षमा लामो समय नीपहरु रहेका तथा शासन सत्ता सम्हालेको उल्लेख पाइनु अनि उनीहरु बसेको स्थानलाई निपालय भनिनुले उनीहरु भारोपेली परिवारका भाषा बोल्ने वक्ता रहेको आलय शब्दको प्रयोगलाई लिन सकिन्छ । किनकि नेपालमा बोलिने भोटबर्मेली, आग्नेली र द्रबिड परिवारका भाषामा आलय शब्द पाइँदैन । नीपहरु हिमालयको काखतिर बसोवासका लागि गएको तथ्य निपजन र नेपाल पुस्तकमा प्रस्तुत गरिएको छ ।

विभिन्न तर्क प्रस्तुत गरिए पनि पुस्तकको अन्त्यसम्म पुग्दा लेखक आफैँ अलमलमा परेको देखिन्छ । पाठकले लेखकका असहजतालाई सजिलै खोट्याउने ठाउँ रहेको छ । नीपजन र नेपालमाथि अनेकौ प्रश्न खडा हुन्छन् तर जवाफ पुस्तकमा पाउन सकिँदैन । जसले गर्दा जिज्ञासुलाई अझ बढी खोज्ने बनाउँछ ।

गङ्गाको तटीय मैदानमा घटेका अनेकौँ घटनाहरु, मध्य ऋृग्वेदकालीन श्रुति परम्पराका अनेकौँ कथ्यहरुदेखि महाभारत कालसम्मका विवरणले पाठकमा अलमल थपिदिन्छ । अर्कोतर्फ संस्कृत भाषा साहित्यबाट उद्धृत शब्द र श्लोकहरुले उक्त भाषामा ज्ञान नभएका अध्येतालाई पुस्तक झिँजो लाग्न सक्छ । विभिन्न कालमा घटेका अनेकौँ घटनाहरु एक अर्कासँग नमिल्दा रनभुल्लमा पर्ने प्रस्टै छ । प्राचीन इतिहास भएका कारण भाषिक क्लिष्टता सामना गर्नुपर्छ । अन्त्यसम्म पनि नीपहरुको इतिहास, यिनीहरु कुन जातिका थिए ? लगायत प्रश्न र यिनीहरुको प्रामाणिक ऐतिहासिकता स्पष्ट नभएका कारण लेखकका यथेष्ट अलमल ठम्याउन सकिन्छ ।

नीपहरु को हुन् भन्ने सन्दर्भमा उनले एउटा प्रसङ्ग उल्लेख गरेका छन् “उपत्यकामा किराँतहरुले शासन गरिरहँदा दक्षिण पश्चिम क्षेत्रबाट कुम जोर्न आइपुगेका आर्यजन नीपहरु नै थिए । उनीहरु बिस्तारै यो क्षेत्रमा हाबी भएर यिनकै नामले सम्पूर्ण क्षेत्र चिनिन थाल्यो । लिच्छवीहरुको उदयसँगै नीपहरुको शासकीय पहिचान मेटिई सामान्य नागरिक नैपाल अहिलेको भाषामा भन्दा नेवार पहिचान विकसित हुँदै थियो । यसका भागीदार क्षेत्रका नीपहरु बाहेक अन्य बासिन्दा पनि थिए ।” उल्लिखित प्रसङ्गमा समयावधि किटान नभएकाले अनुमान ठहर्छ ।

अर्को एउटा प्रसङ्ग छ, “महाभारतको युद्ध हुनुअघि नै नीपवंशको उच्छेद भइसकेको थियो ।” यो घटनापछि के भयो ? नीपहरु कहाँ गए भनेर महाभारत तथा पुराणहरुले बताएका छैनन् । इश्वीको पहिलो शताब्दीताका नेपाल उपत्यका र आसपासको क्षेत्रमा नेपाल नैवाल नामले चिनिसकेको थियो । यसबिच नीपहरुले यो क्षेत्रमा आई बसोवास गरी यसलाई आफ्नो नाम दिन भ्याएका थिए भन्ने ठाउँ देखिन्छ । तर, प्रश्न उठ्छ यस्तो कहिले भयो ? कहिले यस क्षेत्रमा आए र कहिले बिलाए ?

उल्लिखित दुबै प्रसङ्गलाई सूक्ष्म ढङ्गले अध्ययन गर्दा एउटा प्रसङ्गमा नीपहरु दक्षिण पश्चिमबाट आएका आर्यहरु थिए । बिस्तारै यस क्षेत्रमा हावी भए र पछि यिनको शासकीय पहिचान मेटिएर नेवार वा अन्य यस्तै केही भए भन्ने कुरालाई जोड दिएको छ । अर्को प्रसङ्गमा महाभारत युद्ध हुनुअघि नै नीपवंशको उच्छेद भइसकेको थियो र यो घटनापछि नीपहरु कहाँ गए भनेर भन्न नसक्ने कुरालाई जोड दिएको छ । पहिलो प्रसङ्गले नीपहरु आर्य थिए र काठमाडौँ उपत्यका आए भन्ने देखिन्छ । अर्को प्रसङ्गले चाहिँ महाभारत कालमा नै उच्छेद भएका नीपहरु उपत्यका आए तर कालक्रम मिलाउन सकेका छैनन् । यो अनुमान मात्र हो । यस आधारमा नीपहरुको वंशवृक्षसँग जोडिएर गरेको अनुसन्धानले सत्य उद्घाटित गर्न सकेको छैन ।

आफ्नै समुदायका अङ्गीरसहरुसँग वैमनस्य भई हिँडेका नीपहरुलाई काठमाडौँ उपत्यका आइपुग्न चारपाँच पुस्ता लाग्यो भनेर लेखकले उल्लेख गरेका छन् । तर, आखिरमा नीपहरुलाई केले जोडेर राख्यो त्यत्रो समय ? धर्म, गोत्र वा अन्य केहीले नजोडिकन नीपहरु कसरी एकीकृत भएर बस्न सके होला भन्ने कुरा चाहिँ अन्योल नै छ । यी विषयमा लेखक अलमलमा परेको माथिका प्रसङ्गले देखाउँछन् ।

नीपहरु किराँत पनि थिएनन् । लिच्छवीहरु पनि होइनन्, भने नीपहरु को हुन् त ? भन्ने प्रश्न स्वाभाविक लाग्छ । जसको स्पष्ट जवाफ पुस्तकमा पाउन मुस्किल छ । अब नेवार जातिसँग जोडेर यसको व्युत्पत्तिलाई हामीले हेर्यौ भने शासकीय क्षमता ह्रास भएपछि नीपहरु क्रमशः त्यहाँका स्थानीयहरुसँगको संसर्गबाट नेवार जातिको विकास भएको हो कि भन्ने अनुमान लाउन चाहिँ सकिन्छ । जस्तै ः नेपाल शब्दको उत्पत्तिसँग नेवारको सम्बन्ध जोडिएको छ कि ? यसका लागि नेपाल भाषाको भाषिक अध्ययन आवश्यक देखिन्छ ।

नेपालमा किराँत राज्य विस्तार हुँदै गर्दा भारतखण्डमा के हुँदै थियो ? महाभारतकालीन समाज भनेको इश्वीको कुन समय हो ? यी तथ्य नकेलाई हामी अनुसन्धानको गहिराइमा पुग्न सक्दैनौँ । यहाँ दिएको महाभारतको प्रसङ्ग, ऋृग्वेदकालको प्रसङ्गलाई समयक्रमको हिसाबमा पनि खोतल्नु पर्ने हुन्छ । प्रामाणिक इतिहास नभएपछि प्राचीन इतिहासका अध्येताले विभिन्न पुराण, श्रुति परम्परा र कथाहरुलाई आधार मानेर आफ्ना अनुमानहरु पेस गरेका हुन्छन् । इतिहासका अध्येतालाई यो एउटा चुनौतीको रुपमा रहने गरेको छ, जसको सामना स्वभाविक रुपमा दिवाकर आचार्यले पनि गरेका छन् ।

एङ्लो अमेरिकन कवि डब्लु एच् औडेनले भनेका छन्, “मानव जाति इतिहासको निर्माता हो, जो आफ्नो अतीतलाई न दोहो¥याउन सक्छ न बिर्सन ।” त्यही दोहो¥याउन नसकिने र बिर्सन नसकिने भएकाले मानिस वर्तमानमा इतिहास रचिरहन्छ अनि इतिहास अध्ययन गरिरहन्छ ।

(लेखकद्वय रिडर्स झापामा आबद्ध छन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: