शान्तिनगर । बुद्धशान्ति गाउँपालिका–६ मा रहेको ऐतिहासिक स्थल ठुटेवरमा मेला लागेको छ ।
मङ्गलबारदेखि सुरु भएको मेला पाँच दिनसम्म चल्नेछ । करिब २ सय वर्ष अघिको इतिहास बोकेको ठुटेवर मेला वर्षको दुई पटक बैशाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन लाग्दै आएको छ ।
परापूर्वकालमा बिहेमा जन्ती, न्याय अन्यायको छिनोफानो, आत्मीयता र सद्भाव साटासाट गर्दागर्दै ठुटेबर मेलाको रुपमा परिणत भएको किम्वदन्ती रहेको स्थानीय ६७ बर्षीय बलबहादुर तामाङले बताए । पहिले–पहिले स्थानीय स्तरमा पाइने उखु, तरुल, सुन्तला, बाँसबाट बनिने सामाग्री जस्तैः डोको, नाम्लो, थुन्से लगायतका सामाग्री किनबेच हुने सो मेला आधुनिक युगको विकास सँगसँगै आधुनिक ढङ्गले सञ्चालन हुन थालेको छ । अहिले स्थानीस्तरमा उत्पादित कृषि सामाग्रीका साथै अन्य विविध आधुनिक सामाग्रीहरुको किनबेच मेलामा हुन थालेको हो ।
मेलाको माध्यमबाट सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग पुग्ने स्थानीय युवा शिरोमणि गुरुङको विश्वास छ । १० वर्षे द्वन्द्वकालमा रोकिएको सो मेला चारवर्ष अघिबाट ठुटेवर संरक्षण तथा विकास समितिको सहयोगमा मेला आयोजना गरिँदै आएको छ । ठुटेवर परिसरभित्र तथा त्यस वरपर पर्यटकीय दृष्टिकोणले पनि उति नै सम्भावना बोकेका क्षेत्रहरु रहेका छन् ।
मेलालाई थप परिस्कृत बनाउँदै ठुटेवर परिसरलाई रक क्लाइम्बिङ, बन्जी जम्प लगायतका साहसिक खेलको क्षेत्रको रुपमा विकास गरिने योजना रहेको ठुटेबर संरक्षण तथा विकास समितिका अध्यक्ष शिवकुमार पौडेलले जानकारी दिए । झापा, इलाम, भारतको दार्जिलिङबाट समेत गरी करिब ५० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजक समितिको अनुमान रहेको छ ।