मेचीनगर । काँकरभिट्टा नाका हुँदै भारतबाट भित्रिने सागसब्जीको आइतवार पहिलोपटक विषादी जाँच गरिएको छ ।
त्यसरी जाँच्दा भारतबाट ल्याइएको काउलीमा सबैभन्दा धेरै विषादी भएको पुष्टि भएको छ ।
मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र विर्तामोडस्थित विषादी अवशेष विरुद्ध विशलेषण इकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गरेको हो ।
संयुक्त टोलीले काँकरभिट्टा प्रवेशद्वारमै पुगेर भारतबाट साइकल र ठेलामार्फत भित्रिएका करेला, काक्रा, ब्रोकाउली र खुर्सानीमा त्यस्तो जाँच गरेको मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिए ।
विहान साढे ७ बजेतिर टोलीले सब्जीको नमुना सङ्कलन गरी जाँचका लागि विर्तामोडस्थित प्रयोगशाला पठाएको थियो ।
विषादीको मात्रा जाँच्ने प्रयोगशाला विर्तामोडमा मात्र रहेको छ । कृषि विभागको बाली संरक्षक निर्देशनालयले विर्तामोडको कृषि थोकमा प्रयोगशाला स्थापना गरेको हो ।
प्लान्ट क्वारेन्टाइन कार्यालयका क्षेत्रीय प्रमुख सुकदेव मैनालीले आइतवार लिइएको सब्जीको नमुनामा विषादीको मात्रा मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने लेभलभन्दा न्यून पाइएको बताए ।
जाँच गरिएको करेलामा अर्गेनोफोस्फेट ०.००२२ प्रतिशत र कार्वामेट १.२६७० प्रतिशत पाइएको छ ।
यसैगरी, ब्रोकाउलीमा अर्गेनोफोस्फेट १२.७२८ र कार्वामेट २.५१८३ पाइएको छ ।
काक्रामा अर्गेनोफोस्फेट ८.४७८८ र कार्वामेट २.३२८५ तथा खुर्सानीमा अर्गेनोफोस्फेट ०.३०४३ र कार्वामेट ३.२३८७ प्रतिशत पाइएको छ ।
जाँचले भारतबाट आयातीत हुने ब्रोकाउलीमा सबैभन्दा बढी र करेलामा सबैभन्दा न्यून विषादीको मात्रा फेला परेको देखाएको छ ।
नमुना सङ्कलन कार्यमा प्लान्ट क्वारेन्टाइनका प्रमुख मैनाली, नगरपालिकाका खाद्य विश्लेषक कार्की, विर्तामोडस्थित प्रयोगशालाबाट आएका प्राविधिकहरु राजेन्द्र खरेल र अञ्जु आचार्य लगायत सुरक्षा निकायका प्रतिनिधिहरु खटिएका थिए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
………….