मेचीनगर, ३० साउन । युवाहरुको सामाजिक संस्था धुलावारी युनिटीले भारतबाट आइरहेका ढुवानीका साधनको चालक र सहचालकहरुको अनिवार्य पीसीआर टेस्ट गराउन माग गरेको छ ।
मालबाहक गाडीभित्र लुकेर भारतीय मजदुरहरु भित्रिरहेको आशंका बढिरहेको बेला युनिटीले त्यस्ता गाडीका स्टाफलाई कोरोना जाँचको दायरामा अनिवार्य समेट्न आवाज उठाएको हो ।
युनिटीका अध्यक्ष प्रकाश खड्काले समुदायमा कोरोनाको संक्रमण फैलिइरहेको अवस्थाप्रति मेचीनगरका जनप्रतिनिधि र प्रदेशका सांसद्हरु गम्भीर बन्न समेत आग्रह गरेका छन् ।
खड्काले कोरोना संक्रमितलाई राख्ने ठाउँको अभाव हुन थालेको जटिल अवस्था बारे अवगत गराउँदै आम्दा मेची अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न कोभिड हस्पिटलको रुपमा विकास गर्न जोदार माग गरेका छन् ।
हाल मेचीनगरमा पीसीआर टेस्टमा ३ जना मात्र कर्मचारी खटाइएको जनाउँदै खड्काले कर्मचारीको संख्या बढाउन र एक घर एक व्यक्तिका आधारमा पीसीआर टेस्टलाई व्यापक विस्तार गर्न जोडदार माग गरेका छन् ।
हाल साविक मेचीनगरमा मात्र पीसीआर टेस्टको लगातार परीक्षण भइरहेको हुँदा साविकको ज्यामिरगढी, धाइजन, बाहुनडाँगी र दुहागढीमा टेस्टको व्यवस्था मिलाउन धुलावारी युनिटीले नगरपालिकालाई आग्रह गरेको छ ।
यसैबीच, भद्रपुर नगरपालिकाले भारतबाट मालसामान बोकेर आउने ढुवानीका साधनलाई अनिवार्य निर्मलिकरण गराउने र त्यसका चालक दललाई पीसीआर टेस्ट गराउने निर्णय गरिसकेको छ ।