इलामको एक मतदान केन्द्रमा महिला मात्रै कर्मचारी

  प्रकाशित मिति
१९ मंसिर २०७४, मंगलवार ११:२२


 

इलाम  ।  यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ ।

इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

महिला कर्मचारी परिचालन भएका मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र दुई जना सहयोगी पनि महिला नै नियुक्ति गरिएको छ ।

रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृत सरिता स्याङतान, सहायक मतदान अधिकृतमा विनिता शाह, सहायक कर्मचारीहरूमा रेणुका राई, सविता तामाङ, निर्चला राई, तेजमाया गुरूङ तथा सहयोगी कर्मचारीहरूमा इन्द्रकला घिमिरे र तारादेवी बस्नेतलाई खटाइएको हो ।

यसपटक गोलाप्रथाद्वारा मतदान र सहायक मतदान अधिकृत छनौट गरिएकाले एउटा मतदान केन्द्रमा मात्र महिला पर्नुभएको भट्टराईले बताउनुभयो ।

चारवटा नगरपालिका र छवटा गाउँपालिका रहेको इलाममा दुईलाख चारहजार ४६ मतदाता छन् । सबै मतदान केन्द्रमा सोमबारसम्ममा कर्मचारी पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: