‘इलाम सच्याएर विराटनगर तोक’

  प्रकाशित मिति
६ मंसिर २०७३, सोमबार ०८:५४


Exif_JPEG_420
Exif_JPEG_420

भद्रपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) झापाले उच्च अदालतको सेवा प्राप्त गर्न झापावासीले इलाम जानु पर्ने सरकारी निर्णय अव्यावहारिक भएको ठहर गर्दै त्यसलाई सच्याएर विराटनगर तोक्नु पर्ने माग गरेको छ ।

डीएलए झापाले झापाका लागि उच्च अदालतको प्रादेशिक क्षेत्राधिकार विराटनगर नै हुनु पर्ने मागलाई अभियानको रुपमा अघि बढाउने भएको छ ।

नयाँ संविधानमा सातै प्रदेशमा एक एक वटा उच्च अदालत रहने उल्लेख छ भने प्रदेश नं. १ मा इलाम, धनकुटा र ओखलढुङ्गामा इजलास रहने सरकारले निर्णय गरिसकेको छ ।

सरकारले इलाममा रहेको इजलासले नै झापालाई समेत हेर्ने गरी क्षेत्राधिकार तोकिदिएको हुँदा यो निर्णय झापालीका लागि अनुपयुक्त देखिएको छ । भौगौलिक दूरी र यातायातका दृष्टिले विराटनगर नै झापाको उच्च अदालतको क्षेत्राधिकार हुनु पर्ने डीएलए झापाको अभियान हो ।

डीएलए नेपालको २६ औँ स्थापना दिवसको अवसरमा आइतवार चन्द्रगढीमा आयोजित ‘न्यायमा पहुँचको परिप्रेक्ष्य र झापाको सन्दर्भमा उच्च अदालतको क्षेत्राधिकार’ विषयक विचार गोष्ठीमा अधिकांश वक्ताले झापाका लागि विराटनगर नै उच्च अदालतको क्षेत्राधिकार पर्नु जायज हुने धारणा व्यक्त गरेका छन् ।

डीएलए झापाले सोही गोष्ठी मार्फत अभियानलाई समथृन जनाउन सबै झापालीलाई अपिल गरेको छ ।

संस्थाकी अध्यक्ष यज्ञलक्ष्मी चौलागाइँले सोसियल इन्जिनियरको रुपमा डीएलएले जनमत सिर्जना गर्न अभियान चलाएको बताइन् । उनले अभियान केवल अधिवक्ताको सुविधाको मात्र विषय नभएको प्रस्ट पार्दै यो मुद्दा आम झापालीलाई सहज रुपमा न्यायमा पहुँच पुर्याउने सवाल भएको बताएकी छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले डीएलएले उठान गरेको अभियानलाई आफ्नो पूर्ण समर्थन रहने जनाउँदै अव्यावहारिक निर्णयलाई सच्याउनका लागि झापाबासी समेत रहेका एमालेका अध्यक्ष केपी ओली, नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलासँग परामर्श गरेर अभियानलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

न्यायालयको प्रादेशिक क्षेत्राधिकार सङ्घीयताको व्यवस्थापनसँग जोडिएको विषय भएको उल्लेख गर्दै प्रखर युवा नेता शर्माले झापाली जनमत विपरीत निर्णय गरेर सरकारले हस्तक्षेपकारी भूमिका खेलेको भए सच्याउन बाध्य बनाइने बताए ।

‘कस्तो लोकतन्त्र र कस्तो न्याय भन्ने विषय महत्वपूर्ण हुन्छ’, नेता शर्माले डीएलएले उठान गरेको अभियान सबै झापालीको साझा आवाज भएको बताउँदै भने–‘एक जनाको पीडा पनि लोकतन्त्रमा सुनिनु पर्छ, यहाँ त सिङ्गै झापाले इलाम होइन, विराटनगर भनिरहेको छ ।’

अर्का वक्ता एवम् डीएलए झापाका संस्थापक सचिव अशोक पोखरेलले आम झापाली जनतालाई न्यायमा सहज पहुँचका लागि इलाम भौगोलिक र यातायातको दृष्टिले विराटनगरको तुलनामा अपायक पर्ने बताए ।

उनले अभियानमा झापाका सबै दल तथा नागरिक समाज एकठाउँमा उभिन जरुरी भएको जनाउँदै त्यसो भए मात्र सरकारले निर्णय सच्याउने धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै झापा वारका अध्यक्ष गजेन्द्र आचार्य, बारका पूर्व अध्यक्ष टङ्क उप्रेती, पीपीएलए झापाका अध्यक्ष टङ्क दङ्गाल, आरपीएलए झापाका संयोजक कालीप्रसाद सञ्जेल र लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीले डीएलए झापाको अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।

डीएलए झापाकी अध्यक्ष यज्ञलक्ष्मी चौलागाइँको सभापतित्व र अधिवक्ता सूरज खत्रीले स्वागतसहित विषयवस्तु माथि प्रकाश पारेको सो कार्यक्रमको सञ्चालन डीएलए झापाका कोषाध्यक्ष भीम सिटौलाले गरेका थिए ।

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ मंसिर ६ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: