मेचीनगर । मोरङको याङ्सिलामा सञ्चालित ४६ आँ जुनियर डिभिजन एनसीसीको २१ दिने तालिम सम्पन्न भएको छ । गत मङ्सिर २३ गतेबाट सुरु भएर पुस १३ गते दीक्षान्त समारोहका साथ तालिम समापन भएको हो ।
झापा, सिराहा, सप्तरी, खोटाङ, सिन्धुलीलगायतका विभिन्न जिल्लाबाट १५ वटा विद्यालयले सहभागिता जनाएका थिए । जसमा ५३१ छात्राछात्रले तालिममा भाग लिएका थिए ।
झापाबाट २ वटा विद्यालयले सहभागिता जनाएका थिए । तालिमको दौरानमा विभिन्न प्रतियोगितात्मक क्रियाकलापमा इस्ट होराइजनले आफ्नो उत्कृष्ट प्रदर्शन दिन सफल भएको छ । होराइजनकी छात्रा सलिना लिम्बु सर्वोत्कृष्ट छात्रा हुनुको साथै सम्पूर्ण टोलीको नेतृत्व बहन गर्ने सिनियर अन्डर अफिसर बन्न सफल भएकी हुन् ।
त्यसैगरी, छात्रा भलिबलमा प्रथम, ड्रिल प्रदर्शनीमा प्रथम, उत्कृष्ट वक्ता क्याडेट प्रज्ञा ढुङ्गेल र झापा जिल्लामा बसोबास गर्ने मेचे जातिको साँस्कृतिक नृत्य प्रदर्शन गरेर इस्ट होराइजनले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
इस्ट होराइजनमा गतवर्षबाट एनसीसी तालिम सुरु भएको र प्रथम वर्षदेखि नै
विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गरेको प्रिन्सिपल सन्जीव राईले बताए ।
गतवर्ष पनि सर्वोत्कृष्ट क्याडेट भएकी विद्यार्थी सविना राईले तालिम प्राप्त क्याडेटहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा समेत सहभागिता जनाएर नेपाल फर्किसकेको बताए । यस वर्षको तालिममा पनि आफ्ना विद्यार्थीले उत्कृष्ट प्रदर्शन दिएकै कारण क्याडेट सलिना लिम्बु र क्याडेट प्रज्ञा ढुङ्गेलले क्याडेटहरुको अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउन पाउने भएको संस्थाका प्रमुख प्रशासक सावित्रा राईले जानकारी दिइन् ।
तालिमको अन्तिम दीक्षान्त समारोहमा होराइजनको ब्याक पाइपर टोलीले समेत आफ्नो ब्यान्ड प्रदर्शन गरेको एनसीसी समन्वय शिक्षक विमल शाहीले बताए ।