इ–क्यान शैक्षिक परामर्श मेला आज दोस्रो दिन

  प्रकाशित मिति
२८ बैशाख २०७५, शुक्रबार १०:५४


विर्तामोड । शैक्षिक परामर्श प्रदान गर्ने नेपालका प्रख्यात संस्थाहरु मोफसलमै पहिलोपल्ट विर्तामोडमा एउटै छानोमुनि बसेर सेवा दिइरहेका छन् ।

विहीवार सुरु ‘इ–क्यान एजुकेसन फेयर’ले यस्तो अवसर पहिलोपल्ट राजधानी बाहिर ल्याएको हो ।
वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थी र उनीहरुका अभिभावकका लागि यो मेला अभूतपूर्व अवसर भएको जानकारहरु बताउँछन् ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इ–क्यान)ले मेलाको आयोजना गरेको हो ।
विर्तामोडमा विहीवार सुरु मेला शनिवार समापन हुने छ भने आइतवार र सोमवार यस्तै मेला विराटनगरमा आयोजना हुने छ ।

विर्तमोडको एजुकेसन मेला होटल फ्लोरिडाको पार्टी हलमा सञ्चालन भइरहेको छ । जहाँ विभिन्न परामर्शदातृ कन्सल्टेन्सीहरुले ४० भन्दा बढी स्टल राखेका छन् ।

भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, न्यूजील्यान्ड, साइप्रस, नर्वे, चीन, बङ्गलादेश लगायतका दर्जनौ मुलुकमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरु वर्षेनी हजारौको सङ्ख्यामा जाने गरेका छन् ।

विदेश पढ्नका लागि जानु भन्दा अघि कन्सल्टेन्सी संस्थाहरुले त्यहाँको शिक्षा, शुल्क र सुविधा बारेमा जानकारी दिने गरेका छन् ।

विर्तामोडका मेयर ध्रुव शिवाकोटीले एजुकेसन मेलाको रिवन काटी उद्घाटन गरेका छन् ।
विशेष कार्यक्रमविच मेयर शिवाकोटीले मेलाको उद्घाटन गर्दै मोफसलका विद्यार्थीहरुले अब वैदेशिक अध्ययनका लागि परामर्श लिन काठमाडौँको मेला धाउनु पर्ने बाध्यताको अब अन्त्य भएकोमा खुशी व्यक्त गरे ।

उनले शिक्षा देश विकासको जरा भएको उल्लेख गर्दै मेलाको सफलताको कामना पनि गरे ।
मेलालाई भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठ, अर्जुनधाराका मेयर हरिकुमार राना, इ–क्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डे, इ–क्यानका केन्द्रीय महासचिव शेषराज भट्टराई, अस्ट्रेलियाबाट आएका अतिथि खालिद हामा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

इ–क्यानका पूर्वाञ्चल अध्यक्ष रोशन निरौलाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अर्जुनधाराकी उपमेयर कमला आचार्य, इ–क्यान पूर्वाञ्चल समितिका पूर्व अध्यक्ष दिवाकरलाल चौधरी, झापा क्यानका अध्यक्ष लक्ष्मी खनाल, इ–क्यानका केन्द्रीय उपाध्यक्ष देवीदास भट्टराई, इ–क्यानका केन्द्रीय निवत्र्तमान अध्यक्ष प्रकाश पाण्डे र खड्गबहादुर ताम्ली, इ–क्यानका केन्द्रीय पूर्व सल्लाहकार विष्णु पोखरेल, इ–क्यानका केन्द्रीय सचिव विक्रम केसी लगायतको उपस्थिति थियो ।

मेलाको उद्घाटन गर्न १ नं. प्रदेशका मन्त्री आउने पूर्व निर्धारित कार्यक्रम भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सम्बन्धी विभिन्न तयारीका कारण मन्त्री आउन भ्याएनन् ।

मन्त्री नआउने भए पछि विर्तामोडका मेयर ध्रुव शिवाकोटीलाई मन्त्रीले नै फोन गरेर मेलाको उद्घाटन गरिदिन आग्रह गरेको स्रोतले जनाएको छ ।

कार्यक्रममा इ–क्यानका पूर्वाञ्चल उपाध्यक्ष कमल तिम्सिनाले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

मेलामा झापामा विश्वास आर्जन गर्दै आएका एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, क्याम्ब्रिज इन्स्टिच्युट आफ टेक्नोलोजी, बोस्टन एजुकेसन, फास्ट ट्रयाक एजुकेसन कन्सल्टेन्सी, ओली एन्ड एसोसिएसन लगायतले छुट्टा छुट्टै परामर्श प्रदान गर्ने स्टल सञ्चालनमा ल्याएका छन् ।

बोस्टन एजुकेसन विर्तामोडका संस्थापक सुमन शर्मा जमरकट्टेलले पूर्वाञ्चलमै पहिलोपल्ट आयोजना भएको एजुकेसन फेयरले झापा लगायतका पूर्वका विद्यार्थी र अभिभावकहरुलाई विदेशको उच्च शिक्षा सम्बन्धी जानकारी लिने अपूर्व अवसर प्रदान गरेको बताउँछन् ।

अस्ट्रेलियाको उच्च शिक्षा सम्बन्धी परामर्श दिने नेपालका संस्थाहरुमा अग्रणी रहँदै आएको एक्सपर्ट एजुकेसनका विर्तामोड प्रमुख कृष्ण शर्मा एजुकेसन मेला उपलब्धिपूर्ण हुनेमा विश्वस्त रहेको धारणा व्यक्त गर्छन् ।

क्यानडा वा अस्ट्रेलियामा छोरीलाई डाक्टरी शिक्षा पढाउने तयारी गरिरहेका मेचीनगर–६ का पुण्यप्रसाद उप्रेतीले लोकतन्त्र पोस्टसँगको कुराकानीमा मेलामा प्रभावकारी रुपमा जानकारी लिन पाएको भन्दै खुशी व्यक्त गरे ।

इ–क्यानका पूर्वाञ्चल अध्यक्ष रोशन निरौलाले मेलाबाट फाइदा उठाउन पूर्वका अभिभावक तथा विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।

मेलामा प्रवेश र परामर्शका लागि कुनै शुल्क लाग्दैन । पहिलो दिन नै मेलामा परामर्श लिन र वैदेशिक उच्च शिक्षा बारे बुझ्न विद्यार्थी तथा अभिभावकहरुको घुइँचो लागेको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: