मेचीनगर, ७ भदौ । मेचीनगर–७ को ईटाभट्टा चोकदेखि एक किलो मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिणबाहेक अन्य सबै वडामा लकडाउन खुलेको छ ।
मेचीनगरपालिकाको आइतबार बसेको वैठकले उक्त निर्णय गरेको हो । यसअघि नगरपालिकाले वडा नम्बर ६, ७ र ८ मा लकडाउन गरेको थियो ।
मेचीनगर–७ को ईटाभट्टा चोकदेखि एक किलो मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण क्षेत्रमा पर्ने वडा नम्बर ८ बाहेक सबै वडामा लकडाउन खुला भएको नगरपालिकाले जनाएको छ ।
ईटाभट्टाको प्राइम बैँककी एक महिला कर्मचारी र अर्का एकजना पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ७ नम्बर वडामा लकडाउन कडा बनाउने नगरपालिकाले निर्णय गरेको हो ।
मेचीनगर–७ नम्बर वडामा अत्यावश्यक र मालबाहक बाहेकका सबै सवारी साधान चलाउन नपाइने, घरभित्र सुरक्षित भएर बस्ने, सामानिक दुरी कायम गरेर कृषि कार्य गर्ने, डेरी, खाद्यान्न तथा सागसब्जी पसल विहान ८ देखि १० वजेसम्म मात्र, अस्पताल र अन्य स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्र नियमित सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।
वडा नम्बर ७ को हकमा अर्को सूचना जारी नहुन्जेल सम्मका लागि लकडाउन गरिएको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।
।। अर्जुन कार्की ।।