‘उचित पारिश्रमिक’ दिलाउने प्रतिबद्धता

  प्रकाशित मिति
१२ माघ २०७४, शुक्रबार १०:३६


बाहुनडाँगी । मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा वातावरण संरक्षण मञ्चको अध्यक्षमा निर्वाचित हरिप्रसाद उप्रेतीले विद्युतीय तारवारको रेखदेख गरिरहेका कर्मचारीहरुलाई उचित पारिश्रमिक दिलाउन प्रयास गर्ने बताएका छन् ।

हात्तीको आक्रमणबाट मुलुकमै सबैभन्दा बढी पीडित रहँदै आएको बाहुनडाँगीमा विश्व बैङ्क, डब्ल्यूडब्ल्यूएफ लगायतको सहयोगमा विद्युतीय तारवार गरिएपछि त्यसको रेखदेख गर्न प्राविधिक कर्मचारीलाई खटाइएको हो ।

२०७१ सालदेखि ती कर्मचारीहरु मञ्चको आग्रहमा मासिक ३ हजारको तलवमै काममा खटिदै आएका छन् । अहिलेसम्म उनीहरुको तलव बढेको छैन ।
यति थोरै तलबमा जोखिम मोलेर काममा खटिदै आएका उनीहरुलाई उचित पारिश्रमिक दिलाउनु पर्ने पहिल्यैदेखि आवाज उठ्दै आएको छ ।
हालै पहिलोपल्ट भएको मञ्चको निर्वाचनमा अध्यक्ष पदमा विजयी उप्रेतीले ती १२ जना कर्मचारीलाई उचित पारिश्रमिक दिलाउन स्रोतको व्यवस्थापनमा ध्यान दिने आफ्नो प्राथमिकता भएको लोकतन्त्रसँग बताए ।मञ्चसँग ती कर्मचारीहरुलाई पारिश्रमिक बढाउन पर्याप्त स्रोत छैन । अध्यक्ष उप्रेती मेचीनगर नगरपालिका, जिल्ला वन कार्यालय र नेपाल सरकारका अन्य निकायहरुसँग सहयोग मागेर मञ्चको कोष वृद्धि गर्ने सोचाइ बनाइएको बताउँछन् ।

‘अहिले पर्याप्त स्रोत छैन’, अध्यक्ष उप्रेती भन्छन्–‘तर अति न्यून तलवमा काम गरिरहेका कर्मचारी साथीहरुलाई उचित पारिश्रमिक दिलाउन प्राथमिकताका साथ हामी स्रोतको खोजी गर्ने छौँ ।’

रेखदेख कर्मचारीको रुपमा खटिदै आएका बाहुनडाँगीका शङ्कर लुइँटेल विद्युतीय व्यवस्थापनको काम जोखिमपूर्ण हुने जनाउँदै कर्मचारीहरुलाई उचित पारिश्रमिकका साथै वीमाको समेत व्यवस्था गरिनु पर्ने बताउँछन् ।

मेचीनगरको वडा नं. ६ को नकलबन्दा क्षेत्रदेखि उत्तर इलामको जिर्मलेसम्म मेची नदीको किनारै किनार १७ किलोमिटरको दूरीमा हात्तीको आगमन रोक्न सौर्य विद्युतीय घेरावेरा गरिएको छ ।

२०७१ सालमा दातृ निकायले ३० लाख रुपैयाँ बीऊ पूँजी दिएर सो परियोजना समुदायमा हस्तान्तरण गरेको थियो ।
स्थानीय समुदायले मञ्चको स्थापना गरेर परियोजना जिम्मा लिएका छन् । तर अन्य स्रोत नभएका कारण मञ्चले कर्मचारीलाई उचित पारिश्रमिक समेत दिलाउन सकेको छैन ।

तारवारको पुछारदेखि सिरानसम्ममा २५ वटा गेट छन् । ती सबै गेट वेलुका बन्द गर्ने र विहान खोलिदिने मुख्य काममा कर्मचारीहरु खटिदै आएका छन् ।

स्रोतको अभावमा हालसम्म विद्युतीय तारवारको पर्याप्त मर्मत सम्भार समेत हुन सकेको छैन । सोलार विद्युत प्रवाहका लागि राखिएका कतिपय व्याट्री पुराना भएकाले फेर्नु पर्ने, ४५ डिग्रीमा ढल्काइएको विद्युतीय बारलाई ६० डिग्रीमा उठाउनु पर्ने र कार्यालय समेत व्यवस्थित गर्नु पर्ने अवस्था छ ।

पारदर्शिता र इमान्दारी आफ्नो प्रतिबद्धता भएको बताउँदै आएका अध्यक्ष उप्रेतीले चुनावका बेलाको प्रतिष्पर्धा स्वाभाविक भए पनि अब काम गर्ने बेलामा सबै पक्षको सल्लाह, सहभागिता र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
हाल मञ्चमा २ हजार ३ सय ७४ सदस्य रहेका छन् । हालै भएको मञ्चको निर्वाचनबाट सर्वदलीय प्रतिनिधित्व रहेको कार्य समिति चुनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: