मेचीनगर । चौथो राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा शनिवार उत्कृष्ट निजी तथा सामुदायिक वनलाई सम्मान गरिएको छ ।
मेचीनगरस्थित कालिका सामुदायिक वनमा आयोजित कार्यक्रममा जिल्लामै निजी वनतर्फ प्रथम हुने लक्ष्मी योञ्जन लामा, द्वितीय डिल्लीराम शिवाकाटी र तृतीय हुने कर्णखर चौलागार्इँलाई क्रमशः रु. २५ हजार, रु.१५ हजार र रु.१० हजार नगदले सम्मान गरिएको थियो ।
यसैगरी, सामुदायिकतर्फ प्रथम हुने आदर्श नमूना सामुदायिक वन, द्वितीय हुने दुर्गाभिट्टा सामुदायिक वन र तृतीय हुने शनि सामुदायिक वनलाई क्रमशः रु छ हजार, पाँच हजार र तीन हजारका दरले सम्मान गरिएको थियो ।
सामुदायिक वन महासंघ र डिभिजन वन कार्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई प्रमुख अतिथि प्रदेश नम्बर १ का सांसद गोपालचन्द्र बुडाथोकीले सम्मान गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे, सामुदायिक वन महासंघकी केन्द्रीय सदस्य संगीता थापा, सामुदायिक वनहरुको तर्फबाट चन्द्र तामाङ, निजी वन सञ्जालका सचिव जिवा तिमाले, वन वातावरण तथा विपद व्यवस्थापन समिति मेचीनगरका संयोजक टिकाराम मंग्रान्तीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महासंघका अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य देवेन्द्र उप्रेती व्यक्त गरेका थिए । दिवसको अवसरमा बृक्षारोपण समेत गरिएको थियो ।