उत्कृष्ट शहर चितवन

  प्रकाशित मिति
४ चैत्र २०७४, आईतवार १०:३४


प्रदिप सिञ्जाली मगर

मध्य नेपालको चितवन जिल्ला राजनीतिक, भौगोलिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक, शैक्षिक, पर्यटकीय तथा आर्थिक आधार र दृष्टिकोणले समृद्ध पहिचान बोकेको जिल्लामा गनिन थालेको छ ।

दिनानुदिन विकास गरिरहेको चितवन जिल्लाले राजधानी काठमाडौंको विकल्पको रुपमा पनि आफुलाई उभ्याएको छ । जसको पुष्टि कुनै समयमा नेपालको राजधानी चितवनमा सार्नुपर्छ भन्ने राजनीतिक नेतृत्वहरुको भनाइहरुले नै गर्छ ।

नेपालको राजनीतिमा ठुलो महत्व राख्ने १० बर्षे सशस्त्र विद्रोहका प्रमुख नेतृत्वहरु पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल जस्ता राजनीतिक हस्तीहरुको गृहक्षेत्र रहेको यस चितवनले वर्तमान राजनीतिमा पनि ठुलै प्रभाव राख्छ भन्ने उदाहरण यस अगाडिको स्थानीय तहको निर्वाचनमा मतपत्र काण्डले मुलुककै ध्यान केन्द्रित गर्नुले नै प्रष्टसँग जनाउँछ ।

त्यस्तै बाम नेताहरु नेता सुरेन्द्र पाण्डे, देवी ज्ञवाली, नारायण दाहाल, रेणु दहाल लगायत राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे जस्ता राजनीतिक हस्तीहरुको कार्यक्षेत्र यहि चितवन नै रहेको छ । वर्तमान राजनीतिमा एक दशकदेखि केन्द्र विन्दुमा रहेका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा तत्कालीन काँग्रेस सभापति शुशिल कोइरालाले राजनीतिलाई अघि बढाउन यहि चितवनको क्षेत्र नं. ३ लाई रोजेर आफ्नो राजनीतिक यात्राको विरासत थामेको पाइन्छ ।

नेपालको ऐतिहासिक घटनाक्रमहरुमा पनि यस चितवनले आफ्नै र बेग्लै स्थान बनाएको छ । राणाकालमा राणाहरुले अधिकारविहिन राजाहरुलाई भेट्न भारतमा शासन गरिरहेका अङ्ग्रेजहरु काठमाडौं आउँदा यहि चितवनको चारकोशे जङ्गलमा हप्तौंसम्म शिकार खेलाई काठमाडौं जाने उनीहरुको उद्देश्य नै परिवर्तित गराई त्यत्तिकै फर्कन बाध्य बनाइदिन्थे । त्यस्तै नेपालका शक्तिशाली राजामा चित्रित राजा महेन्द्रले पनि चितवनलाई केन्द्रविन्दु बनाई पूर्व मेचीदेखि पश्चिम महाकाली जोड्न महत्वाकांक्षी महेन्द्र राजमार्ग (वर्तमान पूर्व–पश्चिम राजमार्ग¬) नवलपरासीको गैंडाकोटमा २०१९ सालमा शिलान्यास गरे । उनको पनि निधन ०२८ सालमा चितवनको भरतपुरको दियालो बङ्गलामै भयो । त्यस्तै तत्कालिन एमालेका नेताहरु मदन भण्डारी र जीवराज आश्रितहरु पनि यहि चितवनकै दासढुङ्गामा ०५० साल जेठ ३ गते दुर्घटना परी मारिए ।

भौगौलिक रुपमा मुग्लिन जस्तो पहाड र नारायणी–राप्ती किनार आसपासका समथर भू–भाग जस्तो भएको चितवनमा लगभग १ हजार वर्ग कि.मी. क्षेत्रफलको चितवन राष्ट्रिय निकुञ्ज पनि छ । यहाँ विश्वकै दुर्लभ एक सिङ्गे गैंडा, एसियाली बाघ, भालु लगायत सङ्कटापन्न जीवजन्तु पाइन्छ । यस निकुञ्जकै आसपास बग्ने राप्ती र नारायणी नदीमा दुर्लभ डल्फिन प्रजातिको माछा र घडियाल गोही पनि पाइन्छ । निकुञ्ज घुम्न, जङ्गल सफारी गर्न, विदा मनाउन दैनिक हजारौं स्वदेशी र विदेशी पर्यटकहरु सौराहा, मेघौली र कसरा क्षेत्रमा आउँछन् । नेपालमा मात्र हुने हात्ती पोलो खेल पनि यहि निकुञ्जको मेघौली र सौराहामा बर्षेनी हुन्छ । विदेशी पर्यटकका लागि भनेर भरतपुर विमानस्थल बाहेक अर्को मेघौलीमा विमानस्थल पनि स्थापना गरिएको छ साथै स्थलमार्गबाट पर्यटकहरु बढाउन भरतपुर–मेघौली ३२ कि.मी. सडकलाई हाल २ लेनमा स्तरोन्नति गरिरहेकोछ ।

भरतपुर महानगरदेखि झण्डै ५ कि.मी. उत्तरमा रहेको नवलपरासी, तनहुँ र चितवनको सीमानामा पर्ने कालीगण्डकी र त्रिशुली नदी सङ्गमस्थान त्रिवेणी देवघाट धामले पनि धार्मिक पर्यटनमा ठुलै योगदान दिइरहेको छ । यस देवघाट धाममा हजारौं स्वदेशी भक्तजनसँगै साथै भारतबाट विभिन्न समयमा लाग्ले धार्मिक अनुष्ठान तथा मेलाहरुमा भारतीय बाबाहरुको आगमन पनि हुन्छ भने नेपाली राजनीति र इतिहासमा महत्वपुर्ण योगदान पु¥याएका योगी नरहरिनाथको पनि आश्रम यहि देवघाट धाममा पगला बाबाको आश्रम भनेर चिनिइरहेको छ । हालसालैदेखि नारायणी नदीमा डुङ्गा सयरको व्यवस्था पनि गरिएको छ । यसरी पनि चितवनले राजनीतिमा जस्तै पर्यटनमा पनि टेवा दिइरहेको छ ।
चितवनको प्रमुख बजार नारायणगढ नवलपरासी र चितवनको मात्र नभई मध्य नेपालको पहाडी क्षेत्रका बजार तथा शहरहरुको लगायत काठमाडौं उपत्यकाको पनि प्रमुख व्यापारिक केन्द्र हो । मुख्यतः वीरगञ्ज भन्सारबाट कारोबार गर्ने प्रायजसो व्यापारीहरुले आफ्नो सम्पर्क स्थानको(डिलर)को रुपमा यहि नारायणगढलाई चुनेका छन् । यसो गर्नुमा नारायणगढ आसपास सामान भण्डारणका लागि खुला रुपमा प्रशस्त खाली भुभाग हुनु, नेपालका प्रायजसो प्रमुख बैंकहरुको कम्तीमा १ देखि ४ वटासम्म शाखा कार्यालय हुनु र पोखरा, काठमाडौं, बुटवल, हेटौडा, वीरगञ्ज जस्ता शहरहरुको समदुरीमा हुनु पनि एक हो ।

यस चितवनलाई आर्थिक क्षेत्रका रुपमा उभ्याउन विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुले महत्वपूर्ण योगदान दिएका छन् । यी बैङ्क तथा वित्तीय संस्थाहरुले भरतपुर महानगरमा मात्रै कम्तीमा एकदेखि ४ वटासम्म शाखा खोली आर्थिक कारोबारलाई सरल र सुरक्षित बनाएका छन् । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरु चितवनमा खोल्न कडाई गरेपछि यहि नारायणगढ बजारलाई नै केन्द्रीत गरि बैङ्क तथा वित्तीय संस्थाहरुले १ कि.मी. दुरीमा पर्ने नवलपरासी गैंडाकोटमा शाखा तथा केन्द्रीय कार्याालयहरु धमाधम खोलिरहेका छन् ।

त्यस्तै सयौंको सङ्ख्यामा बचत तथा ऋण सहकारी संस्थाहरु पनिहरु पनि यहाँ आर्थिक कारोबार गरिरहेका छन् र नेपालकै उत्कृण्ठ सहकारी संस्थाहरुमा यहीकै सहकारी संस्थाहरुले नाम राखेका छन् । स्मरण रहोस, नेपालको पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्था ०१३ साल चैत २० गते भरतपुर महानगरको १९ नं. वडाको शारदानगरमा रहेको छ ।

त्यसकारण नेपालका विभिन्न क्षेत्रमा रहेका सहकारी संस्थाका प्रतिनिधि तथा संचालकहरु अध्ययन भ्रमणमा चितवनलाई नै रोज्दै आउँछन् । केरा तथा पोल्ट्री (कुखुरा) व्यवसायमा चितवन अग्रणी मानिन्छ । यहाँ हजारौं संख्यामा पोल्ट्री व्यवसाय र हवारौं विगाहामा केरा खेती छ भने दजनौं सङ्ख्यामा पोल्ट्रीसँग सम्बन्धित उद्योगहरु खुलेका छन् साथै चिनियाँ लगानीमा भरतपुर १५ मङ्गलपुरमा नेपालकै ठुलो कृषि तथा पोल्ट्रीसँग सम्बन्धित उद्योग खुलेको छ ।
यस्तै चितवन पनि शैक्षिक केन्द्रकै रुपमा पनि आकार ग्रहण गरिरहेको छ, सयौंको सङ्ख्यामा रहेका निजी तथा सरकारी विद्यालयदेखि दर्जनौ क्याम्पसहरु लगायत नेपालकै एकमात्र प्राविधिक शिक्षा पढाई हुने कृषि तथा वन विश्वविद्यालय, रामपुर पनि यहि छ । त्यस्तै मेडिकल शिक्षाका लागि नेपालमै अग्रणी निजी तथा सरकारी साझेदारी व्यवस्थापनमा चलिरहेको चितवन मेडिकल कलेज, सरकारी व्यवस्थापनको पुरानो मेडिकल कलेजदेखि निजी क्षेत्रको दर्जनौं संस्थाहरुले मेडिकल शिक्षामा योगदान दिइरहेका छन् ।

मध्य नेपालको पहाडी क्षेत्र र चितवन आसपासको क्षेत्रको लागि महत्वपूर्ण शैक्षिक केन्द्रको रुपमा चितवन विस्तार भइरहेको छ । साथै भरतपुरमा रहेको वीपी कोइराला क्यान्सर अस्पतालले बर्षेनी हजारौं दक्षिण एसियाली मुलुकहरुको गरिव र निम्न आयस्तरका नागरिकहरुको उपचारमा महत्वपूर्ण योगदान दिदैं छ भने योग्य र दक्ष चिकित्सकहरुको पनि उत्पादन गरिरहेको छ ।

विकास निर्माणमा पहाडको त कुरै नगरौं यहाँ तराईको अन्य शहरहरुको तुलनामा चितवनको भरतपुरले जेठको स्थानीय चुनाव पछि ठुलै फड्को मारिरहेको छ । महानगरको हरेक वडाहरुको १ बर्ष अगाडि धुलो उड्ने कच्ची सडकहरु धमाधम कालो पत्रे भइरहेका छन् भने पिच भइसकेको सडकहरु धमाधम स्तरोन्नति भइरहेका छन् । विकास निर्माण कतिको र कसरी भइरहेको छ भने माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक बर्ष २०७३÷७४ मा अन्य जिल्लामा फ्रिज हुन लागेका बजेटहरु यहि भरतपुर महानगरमा हालेर यति छिटो र यति धेरै विकास भएको भन्ने चियागफहरु चियापसलमा स्थानीयहरुको हुने वातावरण छ ।

चितवन जिल्लाले आफुलाई राजनीतिक, भौगोलिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक, शैक्षिक, पर्यटकीय तथा आर्थिक रुपमा मात्र चिनाएन् कैयौं मानवहरुलाई जन्मभूमि र कर्मभूमि पनि प्रदान ग¥यो । यहि भूमिमा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई महानगरकै शिवनगरमा, वर्तमान गृहमन्त्री रामबहादुर थापा बादल, निवर्तमान प्रधानन्याधिस गोपाल प्रसाद पराजुली र पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई महानगरकै शारदानगर क्षेत्रमा कर्मभूमि दियो । जसले गर्दा १ बर्षको अगाडिको चितवन र अहिलेको चितवन आकाश पातालको फरक हुन थालिसकेको छ, आगामी १० बर्षको अवधिमा उचित र व्यवस्थित तरिकाले यस्तै रफ्तारमा विकास हुँदै गएमा र आफ्नो यस्तै पहिचान बचाउन सकेमा नेपालकै एक उत्कृष्ट र समृद्ध शहरहरुको जिल्ला हुनेमा दुई मत छैन ।

(सूयोदय–१४, इलाम)
इमेल ः [email protected]
मो.ः ९८५२०२१३००

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: