उत्तर कोरियाली नेता किम जोङ जिवितै छन् ?

  प्रकाशित मिति
१५ बैशाख २०७७, सोमबार १२:४२


झापा । उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यको विषयमा अन्तर्राष्ट्रिय रुपमा चर्चा चलिरहँदा त्यहाँका सरकारी मिडिया भने उनको अवस्थाका बारेमा मौन छन् ।

शनिवार उत्तर कोरियाको कोरियन पिपल्स रिभोलुसनरी आर्मी (केपीआरए) को ८८औँ वार्षिकोत्सव भयो । त्यस कार्यक्रममा पनि किमको उपस्थिति देखिएन ।

उत्तर कोरियाली मिडियाले किमको स्वास्थ्य अवस्था बारेभन्दा पनि केपीआरएको स्थापना दिवसको विषयमा चर्चा गरेको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ ।

अप्रिल ११ देखि सार्वजनिक रुपमा नदेखिएका उनको विषयमा मृत्युसम्मको चर्चा चलिसक्दा पनि उत्तर कोरिया भने यस विषयमा मौन छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले आर्मीको स्थापना सम्बन्धी जानकारी गराएको छ । तर, सेनाका प्रमुखसमेत रहेका किमको विषयमा केही उल्लेख गरेको छैन ।

जापान विरोधी युद्धका क्रममा किमका हजुरबुबा किम इल सङले स्थापना गरेको ‘जनताको गुरिल्ला सेना’ देखि अहिलेको आधुनिक सैनिकसम्मको इतिहास केसीएनएले देखाएको छ ।

त्यस्तै, त्यहाँको सत्तारुढ पार्टीको मुखपत्र रोडौङ सिनममको सम्पादकीयमा नेता किम जोङ उनले सैन्य शक्ति बढाउन जोड दिएको भन्दै नेतृत्वलाई सैन्य समर्थन थप बलियो भएको बताएको उल्लेख छ ।

यता, थर्टी माइल जोन (टीएमजेड) ले उत्तर कोरियाली नेता किमको मृत्यु भएको समाचार प्रकाशित गरेको छ । उसले चिनियाँ तथा जापानी सञ्चार माध्यमको हवाला दिँदै नेता किमको मृत्यु भएको उल्लेख गरे पनि स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको समाचारमा उल्लेख छ ।

हङकङको एक न्युज च्यानलकी उपनिर्देशकले सामाजिक सञ्जाल विवोमा किमको मृत्यु भएको लेखेको समाचारमा उल्लेख छ । जापानी म्यागेजिनले पनि अवस्था मृत्युसम्म पुगेको जनाएको रिपोर्टमा लेखिएको छ । यो रिपोर्टमा पनि त्यहाँको सेनाको वार्षिकोत्सवमा किम उपस्थित नभएको कुरालाई उनको मृत्युसँग जोडेको छ ।

‘यदि किम ठीक छन् र मृत्युको मुखमा थिएनन् भने उनको टिमले उनलाई सार्वजनिक गर्दै हल्लाहरुलाई गलत भन्थ्यो । यदि उनीहरुले यस्तो गरिरहेका छैनन् भने यो राम्रो संकेत होइन । यसले केही नराम्रो संकेत गर्छ,’ रिपोर्टमा भनिएको छ ।

यता समाचार संस्था रोयटर्सले उत्तर कोरियाली नेता किमको स्वास्थ्य जाँचका लागि चीनले स्वास्थ्यकर्मीसहित विज्ञको टोली उत्तर कोरिया पठाएको उल्लेख गरेको छ ।

उसले यसबारे जानकार राख्ने तीन जना व्यक्तिको नाम उल्लेख नगरी चिनियाँ चिकित्सकहरु नेता किमको स्वास्थ्यको बारेमा हल्ला भएकोसँगै उत्तर कोरिया गएको बताएको छ ।

यो टोलीको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका वरिष्ठ सदस्यले गरेको र यो टोली बिहीवार उत्तर कोरियाका लागि गएको बताइएको छ । चीनको विदेश विभागले यस विषयमा जानकारी दिन मानेको छैन ।

यता, रोयटर्सले नै किमले प्रयोग गर्ने विशेष रेल प्योङयाङ बाहिर एक गाउँको रिसोर्ट नजिकै देखिएको जनाएको छ ।
वासिङटनको मोनिटरिङ प्रोजेक्ट ‘३८ नर्थ’ ले शनिवार अप्रिल २१ र २३ मा रेल लिटरसिप स्टेसनमा पार्क गरिएको र सो स्टेसन किमको परिवारका लागि रिजर्भ गरिएको बताइएको छ ।

वासिङटनले यो रेल किमको हुन सक्ने बताएको छ । रोयटर्सले स्वतन्त्र रुपमा वनसनमा रहेको रेल उनको नै हो भन्ने पुष्टि गर्न नसकेको जनाएको छ ।

यद्दपि, रेल देखिनुसँग किमको स्वास्थ्यलाई जोडेर हेर्ने कुनै आधार भने नरहेको समाचारमा उल्लेख छ ।

दक्षिण कोरियाका अधिकांश सञ्चार माध्यमले यस साता किम वनसन क्षेत्रमा रहेको भन्दै नाम नखुलाई स्रोतको हवाला दिएर समाचार लेखेका छन् ।

शुक्रवारमात्र दक्षिण कोरियाको न्यूजसिसले दक्षिण कोरियाली जासुसी संस्था निकट स्रोतलाई उल्लेख गर्दै किमको रेल वनसनमा देखिएको र उनको निजी हेलिकोप्टर प्योङयाङमै रहेको समाचार प्रकाशित गरेको रोयटर्समा उल्लेख छ ।

न्यूजसिसले किम कोभिड–१९ बाट बच्न एकान्तमा बसेको हुन सक्ने उल्लेख गरेको छ ।

दक्षिण कोरियाबाट उत्तर कोरिया मामिलाबारे लेख्ने डेली एनकेले किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको समाचार प्रकाशित गरेसँगै उनको स्वास्थ्यको विषयमा चर्चा भएको थियो ।

डेली एनकेले प्योङयाङ बाहिर पियोङगान प्रान्तको म्योह्याङ पर्वत नजिकै रहेको अस्पतालनमा उनको शल्यक्रिया भएको र उनी ह्याङसान भिलामा चिकित्सकको निगरानीमा आराम लिइरहेको उल्लेख छ ।

प्योङयाङको किम मान यो अस्पतालका चिकित्सकहरुले उनको शल्यक्रिया गरेको उल्लेख छ । यो टोलीमा कोरियन रेडक्रस जनरल अस्पताल र प्योङयाङ मेडिकल युनिभर्सिटीका चिकित्सकहरु पनि सहभागि रहेको बताइएको थियो ।

डेली एनकेले अप्रिल २३ मा अर्को रिपोर्ट प्रकाशित गर्दै किमले प्योङयाङको अस्पतालमा शल्यक्रिया नगरी किन प्योङयाङ बाहिरको अस्पताल छनोट गरे भनेर लेखेको छ ।

उनको शल्यक्रिया प्योङयाङ बाहिरको ह्याङसान अस्पतालमा भएको र यो अस्पताल २०१४ देखि किमको परिवारको लागि निधारित गरिएको रिपोर्टमा उल्लेख छ ।

यो अस्पताल किम इल सङको मृत्यु पछि १९९४ मा निर्माण भएको बताइएको छ । त्यतिबेला किम इल ह्याङसान भिलामा विरामी परेका थिए ।

लगातार वर्षापछि हेलिकोप्टर उड्न नसक्दा उनको मृत्यु सोही स्थानमा हर्ट अट्याकका कारण भएको थियो । आफ्ना बुवाको मृत्यु पछि किम जोङ इल (किम जोङ उनका बुवा) ले अस्पताल निर्माण गर्न निर्देशन दिएका थिए ।

यहाँको भुगोलले पनि अस्पताल निर्माणमा महत्वपूर्ण भूमिका खेलको बताइन्छ । प्योङयाङमा अस्पताल निर्माण गर्दा सबैको ध्यान केन्द्रीत हुने र बाहिरी पहुँच भन्दा अस्पताल निर्माण गरिएको बताइएको छ ।

अस्पताल प्योङयाङबाट नजिक ह्यङसानमा निर्माण भए पनि यहाँ पहुँच भने कडाइ गरिएको छ ।

यस अस्पताललाई मुटु रोग सम्बन्धी विशेष सुविधासहित तयार पारिएको थियो । अस्पतालमा जर्मनी र जापानबाट उपकरण मगाएर जोडिएको छ । यहाँ खटिने चिकित्सक देशकै उत्कृष्ट भन्दा उत्कृष्ट छन् ।

एनके डेलीले किमको शल्यक्रिया गर्ने चिकित्सक विदेशमा गएर तालिम प्राप्त हुन् । उनी किमको निजी चिकित्सकको रुपमा छनोट हुनु पहिले प्योङयाङको किम मान यु अस्पतालको कार्डियोभास्कुलर विभागमा एक वर्ष काम गरेका थिए र छनोट पछि तालिमका लागि जर्मनी पठाइएका थिए ।

किमको शल्यक्रियापछि उनी प्योङयाङ फर्किएका छन् । उनलाई निजी सुरक्षा गार्डले नियमित पहरा दिइरहेका छन् ।

किम मान यु अस्पतालमा महिनामा एक पटक उपचारका लागि पुग्छन् । किमको हेरचाहका लागि अहिले पनि ह्याङसान अस्पतालमा विज्ञ चिकित्सकहरु खटिइएका छन् । उनीहरु सबै जर्मनीमा पढेर फर्किएका रहेको डेली एनकेले जनाएको छ । (पहिलोपोस्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: