उत्सवहरुको सिलसिला र रिडर्स झापा

  प्रकाशित मिति
२९ माघ २०७३, शनिबार १५:०५


कला साहित्य उत्सवको लोगो (1)

नेपालको सुदूरपूर्व, सिमान्त क्षेत्र हुँदो यो बेला उत्सव र महोत्सवका अनेक श्रृङ्खलाहरु चलिरहेछन् । अझ, झापाको सुदूर मेचीनगरी त हाल उत्सवको रौनकताले भरपूर छ । धार्मिक, साहित्यिक, राजनीतिक आदि उत्सवहरुले मेचीनगरीको सनातनी तस्वीर नै बदल्न सफल भएका छन् । वारीपारी र तस्करीका अचेत शैलीले यहाँको प्रचलित दुर्नाम यो नगरीकै एक अपमान हो । यस्ता अपमानकारी तत्वलाई जितेर बौद्धिक वर्गको स्थान अग्रपङ्क्तिमा स्थापित गर्न महोत्सवहरु महत्वपूर्ण हुन्छन् । जो यहाँ भइरहेछन् । र, यो बेला यहाँका श्रृङ्खलाबद्ध महोत्सवी माहौलले पनि सिमान्त नगरीको छाप बदलिरहेछन् ।

उत्सवी श्रृङ्खलाहरुमा अस्ति भर्खरै प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव सकिएको छ । यसको धङधङी नसेलाउँदै बाल महोत्सवको अर्को तयारी भइरहेछ । पहिलो उत्सव, मुलुकको ठूलो र पुरानो भनिएको राजनीतिक शक्ति नेपाली काङ्ग्रेसको करकमलबाट आयोजित थियो । यो उत्सव जनगनको स्वास्थ्यमा लक्षित थियो । र, यसले हजारौँ रोगीको स्वास्थ्यको जाँच–पड्ताल गरेको थियो । क्षणिकै सही, यसले स्वास्थ्योपचारको माध्यमबाट जनमानसमा प्रसिद्धि प्राप्त गर्न जोड गरेको भान हुन्थ्यो । र, यो यस महोत्सवको रुपात्मकता हो ।
लाग्थ्यो, यो उत्सव राजनीतिक रेखीमा सलल अघि बढ्ने एक जोडबल हो । कारण, वर्तमान राजनीतिक धरातलमा उदाएका तिक्तता र वितृष्णाले जनमानसको कोमल हृदयमा काङ्ग्रेस वेहोसप्राय छ । जनमानसका तिक्तता र वितृष्णा मेटेर येनकेन प्रकारेण अबको नेपालमा काङ्ग्रेसलाई व्युँतिनु नै छ । नेपाली जनमानसमा यसैगरी अब भव्यता एवम् सभ्यताका सेवाबाट काङ्ग्रेसलाई बौरिनु पनि छ । तब नै, बौरिने र ब्युँतिने पथको छाँटमा उद्दत काङ्ग्रेसको यो उत्सव घनघोर थियो । र, यो यस महोत्सवको सारसंक्षेप हो ।

दोस्रो उत्सव, बाल महोत्सव हो । मुलुकको ठूलो भनिएको अर्को पुरानो शक्ति एमालेको करकमलबाट यो आगत फागुनको दोस्रो साता आयोजित हुँदैछ । काङ्ग्रेसको स्वास्थ्य पछि एमालेले यो बाल महोत्सव गर्दैछ । बाल उत्सवी एमालेले पनि बालबालिकाको अधिकार एवम् सुरक्षाका सन्देशलाई प्रमुखतामा राख्दो हो । र, उत्सवको रौनकता एवम् मनोरञ्जनमा बालहितका बहस पनि अघि सार्दो हो । छाँटकाँटले यसको पनि उत्सवको यो नजारा र विविधता एक किसिमको रुपात्मकता नै हुनेछ ।

काङ्ग्रेसझैँ एमालेलाई पनि राजनीतिक तवरमा नेपाली जनमानसका पीडा र व्यथा, तिक्तता र वितृष्णा सख्त गोचर हुँदो हो । अथिर राजनीति, भ्रष्टाचारले गँगटोझैँ कक्रिएको समाज र महँगीका मारबाट पीडित जनताबारे एमालेले पनि त केही सोच्नु छ । एमाले, विक्षिप्त र विक्षुब्ध जनताको ढाडस पनि बन्नु छ । र, आर्थिक, सामाजिक तथा राजनीतिक पीडाले विचलित जनतालाई क्षणिक नै सही, उत्सवका रङ्गभरे सेवाले निश्चित गति दिलाउनु पनि त छ । लाग्छ, यो महोत्सवको पनि सारसंक्षेप राजनीतिक जोडबल नै हो । तब त, एमालेको उत्सवी अभियानको तीब्रता प्रखर रुपेण अघि बढिरहेको छ । कामरेडजनको यस सुविचार एवम् सुकर्म रीतको उल्लासमय उत्सवले सफलता प्राप्त गरोस्, शुभकामना छ ।

तेस्रो उत्सव, माथिका दुई उत्सवमध्ये भिन्न प्रवृत्तिको भई आएको छ । भिन्न यस मानेमा छ, उत्सवी पथ तथा उत्सवी अभियानबाट दलीय कित्तामा भोट प्राप्तिका निमित्त जनसमर्थनको सिला खोज्ने प्रयास यसमा शून्य हुन्छ । भिन्न यस अर्थमा छ, उत्सव सम्पन्नताको श्रेय कसले लिने भनेर गुट, उपगुट तथा मोर्चाबिच किलीकरणको होड यसमा छैन । र, भिन्न यस हिसाबमा छ, उत्सव आयोजनाबारे यो प्रकल्पित छ, पूर्वनिर्धारित छ ।

रिडर्स झापाको ‘कला साहित्य उत्सव’ यही तेस्रो उत्सव हो । यसको दज्र्यानी स्थान तेस्रो होइन । मेचीनगरभित्र आयोजित उत्सवहरुको सिलसिलामा मात्र यो तेस्रोमा परेको हो । मुलुकभरबाट गरिमा र महत्ता बटुलेको यो कला साहित्य उत्सव तेस्रो संस्करण हो । मुलुकलाई नै तरङ्गित पार्ने यो कला साहित्य उत्सवले यस जिल्लामै उच्चकोटीको स्थान प्राप्त गरिसकेको छ । तर, संस्करण क्रमाङ्कका हिसाबले भने यो तेस्रो नै हो । र, छैठौँ वर्षको तेस्रो संस्करणका रुपमा यो उत्सव आयोजनाको मिति यही फागुन १२,१३ र १४ गते रहेको छ । उत्सव आयोजनाको हकमा रिडर्स झापाको निजी पात्रो छ । पात्रो अनुसार नै द्विवार्षिकी रुपमा उत्सवका मितिहरु पूर्व निर्धारित हुन्छन् । र, उत्सव कुनै देखासिकीको तालमा भन्दा रचनात्मक तथा सिर्जनात्मक गुणमा गतिमान हुन्छ ।

उत्सव आयोजनाको हकमा रिडर्स झापाको निजी एउटा ढाँचा पनि छ । त्यस ढाँचामा निमन्त्रित अतिथिजनको आदर सत्कार त हुन्छ नै । तर, माथि मञ्चमा अतिथि आसनको लम्बेतान होड हुँदैन । न त अतिथिबिच आसन प्राप्त गर्न गाँड कोराकोर नै हुन्छ । र, ती खादामा सजिएर गजक्क पनि पर्दैनन् । अतिथिजनको आगमन त, बौद्धिक विचारको विचरण तथा वितरणका निम्ति हुन्छ ।

रिडर्स झापाको एउटा निजी नारा पनि छ । ‘गतिशीलताका लागि निरन्तर अध्ययन ।’ गतिशीलताको शाब्दिक अर्थ ‘परिवर्तन’को सूचक शब्द पनि हो । र, अध्ययन शब्दले अनेकन विषयमा अनेकन कोणबाट गरिने गहन विचारको पनि अर्थ राख्छ । परिष्कार अध्ययनले परिष्कृत ज्ञान प्रदान गर्छ । त्यसले व्यक्ति हुँदै समाज तथा मुलुकको चारित्रिक विकास एवम् गतिका निमित्त परिष्कृत पथ निर्माण गर्छ । त्यस परिष्कृत पथमा विभेदी अवयवका अनेक कुव्यवस्था र नकारात्मक गतिहरु क्रमशः समाप्त हुँदै जान्छन् । र, सिर्जना हुन्छन् सहअस्तित्वका सर्वस्वीकार्य गतिहरु । तब त, गतिशीलताका लागि निरन्तर अध्ययन ।
‘शनिवारे रिडर्स झापा’ अध्येता युवाहरुको एक खुल्ला फोरम हो । हरेक शनिबार सुदूरपूर्व झापाको काँकरभिट्टा खानेपानी कार्यालय परिसरमा पुस्तक, अध्ययन र अध्ययनको महत्वबारे साप्ताहिक रुपमा छलफल गरिबस्ने एउटा समूह हो रिडर्स झापा । अब यो समूह ‘शनिबारे’ तथा ‘झापा’मा मात्र सीमित छैन । यो एक संयन्त्रमा रुपान्तरित भएको छ । र, यसले द्विवार्षिकी रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वौद्धिक अभियन्तालाई एकैठाउँमा राखेर वर्तमान परिप्रेक्षका अनेकन घटना र समस्याको सोधखोज गर्ने गरेको छ । आर्थिक, सामाजिक, राजनीतिक र कला–साहित्यका ज्ञाता एवम् प्रखर वक्ताहरुलाई समसामयिकी तथा ऐतिहासिक विषयवस्तुमा विभिन्न कोणबाट बहसका साथ बौद्धिक मन्थन गराउने गरेको छ । र, सो मन्थनबाट प्राप्त रसलाई सूचनारुपी बतासबाट मुलुक भरी नै सेचन गरेको छ । तर, शक्तिको केन्द्रविन्दु ठानिएको काठमाडौँले मोफसलका बौद्धिक बहसको वजन, निचोड र निष्कर्षलाई कुन रुपमा ग्रहण गरिआएको छ, यो पनि एउटा प्रमुख प्रश्न हो ।

राजनीतिमा मात्र होइन, साहित्य जगतको पनि शासन, सत्ता र शक्तिको केन्द्र काठमाडौँ नै हो भन्ने ठानिँदै आएको कुरा हो । यो एकप्रकारको स्थापित ठनाइ हो । यो ठनाइ र मोफसलप्रति काठमाडौँको दृष्टिलाई गम्भीर रुपले ध्यानाकर्षित गराउन रिडर्स झापा भने प्रयासरत छ । उता, साहित्यमा सिर्जना, साहित्यमा पुरस्कार र साहित्यमा महोत्सवको एकल बर्चस्वता एवम् दम्भ पालेर बसेको काठमाडौँ अटेर नै गरिरहेछ । यता त्यसको दम्भ र दामन तोड्न तथा बर्चस्वताको क्षयीकरण र विकेन्द्रीकरण गर्न कला साहित्य महोत्सवद्वारा मोफसल हरदम कसरत गरिरहेछ ।
रिडर्स झापाको निजी पात्रोमा आसन्न द्विबार्षिकी कला साहित्य उत्सवले विद्यार्थीदेखि प्रौढसम्म सबैलाई चाहिने खुराक दिनेछ । साहित्यकार र साहित्यप्रेमीको साक्षात्कारसँगै हरेक दलका हरेक राजनीतिकर्मी प्रत्यक्ष रुपले लाभान्वित हुनेछन् । विचार, बहस र प्रश्नोत्तरीका छलफलले नेतृत्वगणमा उर्जा र गति, ज्ञान र विवेक तथा नैतिकता र पथ प्राप्त हुनेछ । आशा गरौँ, विगतका श्रृङ्खलाभन्दा यो श्रृङ्खला, तथा भावी श्रृङ्खलाहरु समेत दमदार र फलदायी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: