उदयपुरका १३ जनालाई नेपालमै सल्किएको थियो कोरोना

  प्रकाशित मिति
७ बैशाख २०७७, आईतवार १६:३१


उदयपुर, ७ वैशाख । कोरोना भाइरसको संक्रमण पुष्टी भएका उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका १३ जना नेपालमै संक्रमित भएको पाइएको छ ।संक्रमण भएका १३ जनामध्ये ११ भारतको दिल्लीका र २ जना विराटनगर १७ का छन् । उनीहरुसँगै बसेका थप एक जना भारतीय नागरिक र विराटनगर १७ का २ जना गरी ३ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

संक्रमित १३ लाई विराटनगरस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा र अन्य तीन जनालाई टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका १३ जनामा हालसम्म कुनै किसिमको लक्ष्ण देखिएको छैन । कोशी अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा. संगीता मिश्राका अनुसार संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य छ ।

‘उनीहरुमा अहिलेसम्म रोगको कुनै किसिमको लक्षण देखिएको छैन,’ उनले भने, ‘संक्रमितहरुको यात्रा इतिहास र स्वास्थ्य अबस्था हेर्दा १५ दिन यता नै संक्रमित भएको हुन सक्ने देखिन्छ ।’ कोरोनाको संक्रमण भएको १४ दिनसम्ममा लक्षण देखिने गरेको मिश्राको भनाई छ ।

संक्रमित भारतीय जमात (इस्लाम धर्म गुरु) मंसिर २५ गते भारतको दिल्लीबाट विराटनगर १७ रानीस्थित मस्जिदमा आएको ट्राभल हिस्ट्रिबाट देखिएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

‘रानी मस्जिदमा भारतीयहरु माघ १ गतेसम्म बसेको थियो,’ उनले भने ‘रानीबाट विराटनगर ८ स्थित बलुवाही मस्जिदमा एक हप्ता बसेर सुनसरीतर्फ लागेका थिए ।’

विराटनगरबाट हिडेपछि उनीहरुसँग रानीका पनि ४ जनासँगै गएका थिए । उनीहरु सुनसरीको दुहबी मस्जिदमा ३, छिटहामा २०, भोक्राहामा ७ र भण्टाबारी मस्जिदमा ८ दिन बसेको अधिकारीले बताउनुभायो । भण्टाबारीबाट सप्तरीको बरमझियामा ७ दिन, चर्कियामा १० र फत्तेपुर मस्जिदमा ३ दिन बसेको ट्राभल हिस्ट्रि रहेको प्रहरीको भनाई छ ।

फत्तेपुरबाट उदयपुरको चौदण्डी नगरपालिका ५ स्थित सिवाही मस्जिदमा ७ दिन बसेर त्रियुगा नगरपालिकास्थित भुल्के मस्जिदमा ३५ दिनदेखि उनीहरु बस्दै आएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनीहरुको ट्राभल हिस्ट्रिका आधारमा संक्रमण नेपालमै भएको प्रष्ट रहेको अधिकारीको दाबी छ । ‘संक्रमण देखिए पनि उनीहरुमा कोरोनाको हालसम्म कुनै लक्ष्ण देखिएको छैन,’ उनले भने, ‘त्यसैले अहिले ट्राभल हिस्ट्रिको बारेमा सम्बन्धित मस्जिदहरुमा समेत भेरिफाइ भइरहेको र कन्ट्रयाक्ट ट्ेरसिङको काम भइरहेको छ ।’

उनीहरुको ट्राभल हिस्ट्रि पटक पटक जाँच गरिएकाले मान्नै पर्ने अवस्था समेत रहेको अधिकारीले बताए ।

अधिकारीले विराटनगरस्थित २५ वटै मस्जिदमा नवाज पढ्ने र आवत जावतमा रोक लगाइएको बताए । उक्त मस्जिदहरुमा रहेका ९ जना पाकिस्तानी, १० जना भारतीय र १० नेपाली नागरिकलाई हरेक चेकजाँच गराएर क्वारेन्टाइनमा राखिएको उनले बताए ।

स्थानीय प्रशासनले प्रदेश १ स्थित प्रत्येक मस्जिदहरुमा कडाइ गरेर एक जना धर्मागुरुलाई मात्रै बस्ने व्यवस्था गरेको छ । मस्जिदहरुमा आवतजावतमा समेत रोक लगाएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका स्रोतव्यक्ति ज्ञानबहादुर बस्नेतले भुल्के मस्जिदका संक्रमित १३ जना नेपालमै संक्रमित भएको बताए । ‘ट्राभल हिस्ट्रिका आधारमा उनीहरु ३५ दिनदेखि भुल्केको मस्जिदमा बसेकाले त्यही संक्रमित भएको हुन सक्ने अबस्था छ,’ उनले भने, ‘त्यसैले भुल्केका सबै जनाको स्वाब परीक्षणको काम भइरहेको छ ।’

शनिबार एक महिलासहित ६९ जनाको स्वाबको नमूना संकलन गरी परीक्षणका लागि कोशी अस्पताल ल्याइएको बस्नेतले बताए ‘संघीय सरकारले हेलिकेप्टरमा आइतबार विज्ञ प्राविधिक पठाएर स्वाब संकलन गरिरहेको छ, ’उनले भने, ‘मोरङ, सुनसरीका प्रत्येक मुस्लिम समुदायका व्यक्तिको स्वाब नमूना संकलन गरी परीक्षण गर्ने तयारी प्रदेश सरकारले गरिरहेको छ ।’

(साभार : रेडियो कान्तिपुर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: