उद्घोषण कला

  प्रकाशित मिति
२७ श्रावण २०७३, बिहीबार १०:५२


27 gyanendra niraula

परिभाषा ः
दर्शक वा श्रोता समक्ष प्रत्यक्ष रूपमा विविध पक्ष वा विषयसँग सम्बन्धित सभा वा कार्यक्रम सञ्चालन गर्ने उद्घोषकलाई अङ्ग्रेजीमा मास्टर अफ सेरेमोनी वा छोटकरीमा एमसी भनिन्छ । उद्घोषकले दर्शक वा श्रोता र कार्यक्रम बिच माध्यम भई कार्य गर्दछ । यी दुवै बिच सन्तुलन कायम राख्न र सञ्चारको खाली (कम्युनिकेसन ग्याप) हुन नदिन उद्घोषकले बोल्ने प्रक्रियालाई उद्घोषण भनिन्छ । जसलाई अङ्ग्रेजीमा एनाउन्समेन्ट भनिन्छ । कार्यक्रमलाई रोचक तथा प्रभावकारी बनाउन उद्घोषकको महत्वपूर्ण भूमिका रहन्छ । एउटा कुशल उद्घोषकले नै कार्यक्रमलाई जीवन्त बनाउन सक्दछ । अत उद्घोषकले कार्यक्रम अवधिभर आफ्नो सम्पूर्ण विवेक र कलालाई कुशलतापूर्वक प्रयोग गर्न सक्नु पर्दछ ।

उद्घोषणको प्रकार ः
उद्घोषणलाई प्रकारमा बाँडेर हेर्ने हो भने कार्यक्रमको प्रकृति अनुसार दुई प्रकारको उद्घोषण पाइन्छ ।

(क) प्रत्यक्ष उद्घोषण ः
बन्द वा खुल्ला मञ्चमा दर्शक वा श्रोता सामु प्रत्यक्ष रूपमा रहेर कार्यक्रम सञ्चालन हुने प्रक्रियालाई प्रत्यक्ष उद्घोषण भनिन्छ । यस प्रकारको उद्घोषणमा उद्घोषक र दर्शक वा श्रोताको प्रत्यक्ष सम्पर्क हुने भएकाले दर्शक वा श्रोताको प्रतिक्रिया तत्काल प्राप्त हुने अवस्था रहन्छ र सोही अनुसार कार्यक्रमलाई अघि बढाउन सकिन्छ ।

(ख) अप्रत्यक्ष उद्घोषण ः
दर्शक वा श्रोताहरूसँग प्रत्यक्ष सम्पर्क नराखी पर्दा पछाडिबाट वा रेडियो, टेलिभिजन, चलचित्र, साँस्कृतिक कार्यक्रमहरूमा अप्रत्यक्ष रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रक्रियालाई अप्रत्यक्ष उद्घोषण भनिन्छ । प्रत्यक्ष उद्घोषणमा जस्तो यस प्रकारको उद्घोषणमा दर्शक वा श्रोताको तत्काल प्रतिक्रिया पाउन सकिंदैन । जसका कारण दर्शक वा श्रोताको रूची अनुरूप कार्यक्रमलाई तत्काल परिवर्तन पनि गर्न सकिंदैन । त्यसैले यस खाले उद्घोषणमा कार्यक्रम अगावै पूर्ण तयारी र दर्शक वा श्रोताको रूचीका बारेमा जानकारी आवश्यक हुन्छ ।
उद्घोषण गर्ने सबै ब्यक्तिको आ आफ्नै ढङ्ग वा शैली हुन्छ । घरमा बसेर पाठ्यपुस्तक घोकेको भरमा उद्घोषक बन्न सकिने अवस्था रहँदैन । एउटा कुशल उद्घोषकले विभिन्न बिषयको ज्ञान राख्नु पर्छ । साथै आफुले जुन सभा वा कार्यक्रम सञ्चालन गर्नु पर्ने हो, त्यस सम्बन्धी सम्पूर्ण जानकारी राख्नु पर्छ । साथै सफल उद्घोषक बन्न वाचनकलाको राम्रो अभ्यास हुनु जरूरी छ ।

कुशल वा असल उद्घोषकमा हुनु पर्ने गुणहरू ः
कार्यक्रमलाई रोचक ढङ्गबाट गर्ने हो भने वा आफ्नो उद्घोषणलाई प्रभावकारी र स्मरणीय बनाउने हो भने एउटा उद्घोषकमा निम्न गुणहरू हुनु आवश्यक छ ।
(क) आत्मविश्वास एवम् आकर्षक ब्यक्तित्व ।
(ख) स्वस्थ, फुर्तिलो र हँसिलो ।
(ग) कुशलता वा दक्षता ।
(घ) स्वर
(ङ) भाषाशैली
(च) प्रभावकारी प्रस्तुति
(छ) निर्णयशक्ति
(ज) अभिनयात्मक प्रस्तुति
(झ) यान्त्रिक बस्तुहरूको ज्ञान

उद्घोषकको दायित्व ः
सफल वा कुशल उद्घोषकले निम्न दायित्वहरूलाई पुरा गर्नु पर्दछ ।
(क) कार्यक्रमको सम्पूर्ण जानकारी राख्नु ।
(ख) कार्यक्रमको क्रमबद्ध ढङ्गमा तालिका तयार गर्नु ।
(ग) कार्यक्रम अनुसारको बक्ताहरूसँग सम्पर्क गर्ने र सूचित गर्ने ।
(घ) कार्यक्रम ठिक समयमा सुरू र अन्त्य गर्ने ।
(ङ) दर्शक वा श्रोतालाई कार्यक्रमप्रति आकर्षित गराई राख्नु ।
(च) तयार पारिएको कार्य विवरणलाई सिलसिलेवार रूपमा रोचक ढङ्गबाट प्रस्तुत गर्नु ।
(छ) मञ्च ब्यवस्थापनमा ध्यान दिनु ।
(ज) बक्ताहरूलाई सम्मानपूर्वक आमन्त्रण र बिदाई गर्नु ।
(झ) अभिवादन तथा हार्दिकताका साथ कार्यक्रमको शुभारभ्भ र कृतज्ञता साथ मिठो समापन गर्ने ।
(ञ) दर्शक वा श्रोता र कार्यक्रम बिच हुने खालीपन हुन नदिनु ।
(ट) कार्यक्रम सम्बन्धी पूर्व अभ्यास गर्ने ।

उद्घोषकले गर्नु पर्ने पूर्व तयारीहरू ः
उद्घोषकले कार्यक्रमलाई रोचक र उद्घोषणलाई प्रभावकारी बनाउने हो भने उद्घोषकले कार्यक्रम सञ्चालन हुनु अगावै कार्यक्रम सम्बन्धी पूर्व तयारीहरू गर्नु पर्दछ ।
पूर्व तयारी गर्ने क्रममा कहिलेकाहिँ उद्घोषकले बढी नै परिश्रम पनि गर्नु पर्ने हुन सक्छ । पूर्व तयारीका साथ उद्घोषक कार्यक्रमको उद्घोषण गर्न जान्छ भने उ सँधै सफल हुन्छ । त्यसैले उद्घोषण गर्ने कार्यमा पूर्व तयारी अति आवश्यक हुन्छ । अव उद्घोषकले कार्यक्रमको पूर्व तयारी गर्दा मुख्य रूपमा निम्न कुराहरूमा बढी ध्यान पु¥याउनु पर्दछ ।

(१) आयोजक संस्थाको बारेमा जानकारी ः
उद्घोषकको पहिलो काम भनेकै कार्यक्रमको आयोजक संस्थाका बारेमा जानकारी राख्नु नै हो । कार्यक्रम कसको आयोजनामा हुन लागेको हो र आयोजक संस्थाको बारेमा संक्षिप्त जानकारी उद्घोषकले कार्यक्रम सञ्चालन गर्नु पूर्व नै सङ्कलन गर्नु पर्दछ ।

(२) समय र स्थानको जानकारी ः
कार्यक्रम सञ्चालन हुने मिति, समय र स्थानको बारेमा यथार्थ जानकारी लिनु पर्दछ । स्थान सम्बन्धी जानकारी लिंदा खुल्ला मञ्चमा हो या बन्द कोठामा कार्यक्रम सञ्चालन गरिने हो सो को बारेमा स्पष्ट हुनु जरूरी छ ।

(३) कार्यक्रमको बिषय ः
सञ्चालन गरिने कार्यक्रम के शिर्षक वा कुन बिषयमा गर्न लागिएको हो सो सम्बन्धी पूर्व जानकारी लिने ।

(४) कार्यक्रमको प्रकृति ः
सञ्चालन गर्न लागिएको कार्यक्रमको प्रकृति कस्तो हो अर्थात सभा, समारोह, सम्मेलन, गोष्ठी, भेला के हो सो बारेमा जानकारी लिनु पर्छ ।

(५) कसका लागि कार्यक्रम ः
कसका लागी कार्यक्रम सञ्चालन गरिने हो अर्थात दर्शक वा श्रोता वालवालिका, युवा युवती वा बृद्ध के कस्ता हुन्छन् । कस्ता पेशाका ब्यकितहरू कार्यक्रममा सहभागी हुन्छन्, उनीहरूको सङ्ख्या र स्तरका बारेमा उद्घोषकले यथार्थ जानकारी लिनु पर्दछ ।

(६) कार्यव्रmमको उद्देश्य ः
कार्यक्रम किन सञ्चालन गर्न लागिएको हो अर्थात कार्यक्रमको उद्देश्यका बारेमा उद्घोषक स्पष्ट हुनु पर्छ ।

(७) कार्यव्रmमको विवरण ः
सञ्चालन गरिने कार्यक्रमको तालिका र सो को सम्बन्धित विवरणहरू आयोजकबाट समय रहँदै उद्घोषकले प्राप्त गर्नु पर्दछ ।

(८) व्यक्तित्वहरूको जानकारी ः
कार्यक्रममा सहभागी हुनु हुने अतिथिहरूको बारे र प्रमुख तथा विशेष ब्यक्तित्वहरूका बारेमा पर्याप्त जानकारी सङ्कलन गर्ने ।

(९) बक्ताहरूलाई जानकारी ः
कार्यक्रमका बक्ताहरूका बारेमा जानकारी लिई उद्घोषकले बक्ताका रूपमा भाग लिने ब्यक्तिहरूलाई उनीहरूले बोल्ने बिषय र समयका बारेमा पूर्व जानकारी दिने ।

(१०) मञ्च ब्यवस्थापन ः
कार्यक्रम सञ्चालनमा मञ्च ब्यवस्थापनका लागि चाहिने आवश्यक सामाग्रीहरूको तयारी तथा सङ्कलन गर्ने ।

(११) यान्त्रिक बस्तुहरूको पूर्व परीक्षण ः
कार्यक्रम सञ्चालनको समयमा प्रयोगमा आउने यान्त्रिक बस्तुहरू ठिक अवस्थामा छन् वा छैनन् सो को पूर्व परीक्षण गरी चुस्त दुरूस्त राख्ने ।

(१२) कार्य विवरणको पूर्व अभ्यास ः
कार्यक्रमका लागि तयार गरिएको कार्य विवरणको २÷४ पटक सम्म पूर्व अभ्यास गर्दा कार्यक्रम प्रभावकारी हुन्छ ।

कार्यक्रमका प्रकारहरू ः
उद्घोषकले कार्यक्रमको प्रकृतिलाई राम्रोसँग थाहा पाउनु पर्दछ । किनकि कार्यक्रमको प्रकृति अनुसार नै कार्यक्रमको तालिका तयार गर्नु पर्ने हुन्छ र सोही अनुसार उद्घोषणमा भिन्नता ल्याउनु पर्छ । प्रकृतिका आधारमा कार्यक्रमका प्रकारहरू निम्न छन् ।
(१) समारोह ः यस कार्यक्रम अन्तर्गत उद्घाटन, समापन, हस्तान्तरण, बिमोचन, अभिनन्दन, बार्षिक उत्सव जस्ता कार्यक्रमहरू पर्दछन् ।
(२) गोष्ठी ः कार्यशाला, बिचार, प्रवचन आदि ।
(३) सभा ः आम, श्रद्धाञ्जलि, शोक, प्रार्थना, साधारण सभा आदि ।
(४) भेला ः साधारण, बिशेष, वाल, प्रौढ, महिला आदि ।
(५) सम्मेलन ः पत्रकार, धार्मिक, समुदाय लगायत आदि ।
(६) प्रदर्शन ः सर्कस, नाटक, साँस्कृतिक, पुस्तक, फोटो आदि ।
(७) विविध ः मेला, जुलुस, ¥याली, यात्रा आदि ।

उद्घोषकले जहिल्यै पनि आफुलाई सजिलो महसुस गर्नु पर्दछ । उद्घोषण गर्ने बेलामा आफु प्रति शङ्का उपशङ्का नगर्ने र अप्ठ्यारो महसुस नगर्ने । उद्घोषण गर्दा आफुलाई पूर्ण बिश्वास हुनु पर्छ । म यो कार्यक्रम सजिलैसँग सञ्चालन गर्न सक्छु भनेर आत्मबल बढाउनु पर्छ । उद्घोषण गर्दा निर्धक्क साथ उद्घोषण गर्नु पर्छ । बोल्दा हडबडाउनु हँुदैन । त्यस्तो भयो भने दर्शक वा श्रोतालाई खल्लो महशुस हुन्छ र कार्यक्रम प्रभावकारी हुँदैन । थेगो प्रयोगमा ल्याउनु हुँदैन । उद्घोषणमा मौलिकपन भयो भने आकर्षक हुन्छ । अरूको नक्कल गरेर उद्घोषण गर्नु हुँदैन । उद्घोषण सरल काम होइन यो चुनौतीपूर्ण र महत्वपूर्ण जिम्मेवारी हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: