बुधवारे । झापा बुधवारे–७ की अनिता गुप्ताको सधैँभरिको एउटै चिन्ता छ–विरामी छोराहरूको सफल उपचार कहिले होला ?
अनिताका तीन छोरामध्ये जेठो भुवन र कान्छो सरोज गुप्ताले जन्मदै शरीरमा अनौठो रोग लिएर आए । उनीहरूको शरीरभरि माछाको कत्ला जस्तो घावैघाउँ छ । छाला पट्पटी फुटेर भित्री मासु देखिन्छ । घाउ सुकेर कत्ला जस्तो बनेका उनीहरूको शरीरको छाला दिउँसो घामले तातिएर पीडादायी बन्छ भने राति चिलाउने र दुख्ने पीडाको सकस छ ।
एउटै घरका दुई छोराको यो हालत देखेर नजिकैको नवकिरण निम्न माध्यमिक विद्यालयका शिक्षकहरू समेत दुःखी छन् । ९ वर्षका भुवन कक्षा ३ मा र ४ वर्षका सरोज शिशु कक्षामा त्यही विद्यालयमा पढ्छन् ।
घाउको कत्लाले शरीर ढाकेका कारण ‘फिस मेन’ जस्ता देखिने यी वालकको उपचार परिवारले नगरेको होइन । तर भरपर्दो उपचार भने अहिलेसम्म उनीहरूले पाएका छैनन् । कारण गुप्ता परिवार आर्थिक रुपले गरीव छ ।
भुवन र सरोजका वावु सञ्जय गुप्ता घर नजिकैको चोकमा साइकल मर्मत गर्ने पसल सञ्चालन गर्छन् । दाजुभाइसँगको सँगोलमा ७ धुर जग्गा भएका सञ्जयको कमाईले जसोतसो हातमुख जोड्न पुगिरहेकै छ । तर उपचारमा महङ्गो खर्च गर्ने उनको सामथ्र्य पुग्दैन ।
विरामी गुप्ता दाजुभाइ स्कुल पढ्न जान्छन् । तर घाममा बस्नु पर्यो भने घाउका कत्ला बढेर सास्ती हुन्छ । ‘राम्रो उपचार गराउन पाए हाम्रो छोराहरू पनि निको हुन्थे कि !’–समस्या सुनाउँदै गुप्ता दम्पत्ति विलौना गर्छन् ।
अनिताका अनुसार जेठो छोरा भुवन धुलावारीको मेनुका मेडिकलमा जन्मेका हुन् । जन्मदै शरीरमा घाउ देखिएपछि भोलिपल्टै उनीहरूले शिशुलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याए ।
डाक्टर पनि कस्ता निर्दयी, गुप्ता दम्पत्तिलाई भन्दिएछन्–‘तिम्रो छोरो पाँच दिनको पाहुना मात्र हो, जहाँ लगे पनि बाँच्दैन ।’ नबाँच्ने भविष्यवाणी सुनेका उनीहरूले हस्पिटलबाट डिस्चार्जपछि रुँदै रुँदै नवजात सन्तानलाई घर फर्काए । स्याहार सुसार गरिरहे ।
भुवन र सरोजलाई कहिले दाहाल मेडिकोमा सिलगढीबाट आउने डा. मणि शर्मा र कहिले कुष्ठरोग अस्पताल लालगढमा पुर्याइयो । विराटनगरको जगदम्बा जडिबुटी सेन्टरमा पनि लगियो । न त डाक्टरले रोग पत्तो लगाए, न त उपचार नै सफल भयो । शरीरभरि माछाका कत्ला बढिरहे, सास्ती भोगिरहनु पर्यो ।
मुलुकमा ठूला ठूला हस्पिटल खुलिरहेका छन्, नामी नामी डाक्टरको चर्चा चुलिइरहेकै छ । उपचारको प्रविधि पनि नयाँ नयाँ भित्रिरहेकै छ । तर गरीव भएकै कारण भुवन र सरोजले भरपर्दो उपचारबाट वञ्चित हुनु अन्याय हो । मानवता, समाजसेवा र परोपकारको क्षेत्रमा लागेका संस्था र व्यक्तिका लागि यो अवस्था सोचनीय विषय हो ।
आशा गरौँ, कोही परोपकारीले यी दाजुभाइको पीडा बुझेर उपचारको व्यवस्था मिलाउने छ र पुनर्जीवन दिलाउने छ ।