उपप्रमुखलाई ‘थाहै नदिई’ पत्रकार सम्मेलन

  प्रकाशित मिति
८ असार २०७६, आईतवार २०:२३


उपप्रमुख मीना उप्रेती

इटाभट्टा । मेचीनगर नगरपालिकाकी उपप्रमुख एवम् नेकपा संसदीय दलकी नेता मीना उप्रेतीले आफुलाई थाहै नदिई दलका उपनेता टीकाराम मग्रातीले आयोजना गरेको पत्रकार सम्मेलन आधिकारिक नहुने बताएकी छन् ।

उनले दलका तर्फबाट पत्रकार सम्मेलन गर्ने कुनै निर्णय नभएको र सम्मेलनमा भनिएजस्तो अवस्था मेचीनगर नगरपालिकामा नभएको जिकीर गरेकी छन् ।

दलका उपनेता मग्रातीले गत शुक्रवार काँकरभिट्टामा पार्टीका नगर अध्यक्ष माधव अर्यालसहित अगुवा नेताहरुलाई राखेर पत्रकार सम्मेलन गर्दै नगरको विकास निर्माणमा नगरका प्रमुख विमल आचार्य बाधक रहेको आरोप लगाएका थिए ।

दलको तर्फबाट औपचारिक रुपमै त्यस्तो धारणा स्थानीय सञ्चारमाध्यमहरुमार्फत आएपछि नगरको राजनीतिमा तरङ्ग उत्पन्न भएको छ ।

नेकपा र नेपाली काङ्ग्रेस दुबै दलभित्र यस विषयले चर्चा पाएको छ भने नगरप्रमुख आचार्यले स्थानीय एक दैनिकमार्फत आरोपको कडा प्रतिवाद समेत गरिसकेका छन् ।

उपप्रमुख उप्रेतीले नेकपा संसदीय दलको प्रमुख आफु भएको हुँदा आफुलाई नै थाहा नदिई गरिएको पत्रकार सम्मेलन आधिकारिक नहुने बताएकी छन् ।

‘पत्रकार सम्मेलन नै आधिकारिक होइन’, उपप्रमुख उप्रेतीको प्रतिक्रिया उद्धृत गर्दै नेकपा मेचीनगरका एक नेता भन्छन्–‘त्यो दिनका कुरा टीकारामजीका निजी विचार हुन्, पार्टीको धारणा होइनन् ।’

प्रमुख र उपप्रमुखविच फाटो ल्याउने प्रयास भएको र नगरका प्रमुख विमल आचार्यले विकास निर्माणमा सहयोगी भूमिका निर्वाह गरिरहेको उपप्रमुखको धारणा रहेको स्रोतले उल्लेख गरेको छ ।

नेकपा संसदीय दलको धारणा भन्दै पत्रकार सम्मेलनमार्फत आएको धारणाले नेपाली काङ्ग्रेस मेचीनगरलाई समेत तरङ्गित बनाएको छ ।

‘नगरप्रमुखमाथि विकासको बाधक भएको भनेर लगाइएको आरोप झुठको खेती हो’, मेचीनगर काङ्ग्रेसका एक नेता भन्छन्–‘यस विषयमा पार्टीमा छलफल भइरहेको छ, पार्टी चुप लागेर बस्नेवाला छैन ।’

काँकरभिट्टामा शुक्रवार भएको पत्रकार सम्मेलनमा नेकपाका नगर अध्यक्ष माधव अर्याल एवम् अगुवा नेताहरु डिल्लीराम घिमिरे, प्रकाश भण्डारी र देवकुमार राई समेत उपस्थित थिए ।

नगरपालिकाभित्र बहुमतमा रहेको नेकपा आन्तरिक शक्ति सङ्घर्षमा फँसेको देखिदै आएको छ । शक्ति सङ्घर्षकै कारण नेकपा संसदीइ दलले नगरपालिकाका लागि प्रवक्ता सिफारिस गरिसक्दा समेत नगर बोर्डबाट पारित हुन सकेको छैन ।
………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: