उपभोक्ता सचेत हुनुपर्यो : मार्सेली

  प्रकाशित मिति
२९ पुष २०७८, बिहीबार २०:०५


मेचीनगर, २७ पुस । उपभोक्ताहरुको अधिकार सुनिश्चित गर्दै बजारलाई व्यवस्थापन गर्ने उद्घेश्यले झापाको मेचीनगरमा उपभोक्ता अधिकार र बजार व्यवस्थापन सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सबैभन्दा पहिला उपभोक्ताहरु सचेत हुनुपर्नेमा जोड दिदै उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले प्रशिक्षण प्रदान गरेका थिए ।

उनले नेपालमा उपभोक्ताको अधिकार र विद्यमान अवस्थाको चर्चा गर्दै उपभोक्ताहरुको हक, हित अधिकारका क्षेत्रमा सक्रिय संघ संस्थाले बजारको बेथिति हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए ।

नेपालको संविधान २०७२ को धारा ४४ मा उपभोक्ता हकको व्यवस्था रहेको र संविधानमा गुणस्तरीय वस्तु र सेवाको उपभोग गर्न पाउनु उपभोक्ताको हक हुने र गुणस्तरहीन वस्तुको उपभोगबाट हानी नोक्सानी भएमा उपभोक्ताले क्षतिपूर्ति पाउने हक सुनिश्चित गरिएको अध्यक्ष मार्सेलीले सहभागीलाई जानकारी गराए ।

अहिले बजार स्वच्छ र उपभोक्तामैत्री हुन नसक्दा उपभोक्ताले बस्तुको मूल्य, गुणस्तर र तौलमा मात्र नभएर सेवाका हरेक क्षेत्रमा ठगिनु परेको उनले बताए ।

कार्यक्रमको आयोजना मेचीनगर नगरपालिकाले गरेको हो । जागरण अभियानले उपभोक्ताका हक, अधिकारको संरक्षणका लागि सरोकारवालाहरुलाई दबाब दिने बताइएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख विमल आचार्यले उपभोक्ताहरु हरेक क्षेत्रमा सचेत हुनुपर्ने बताए । उनले खाद्य वस्तुको उत्पादन मिति, उपभोग्य मिति, व्याच नम्बर लगायतका सवै कुरा हेर्नुपर्नेमा जोड दिए ।

नगरकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बजार अनुगमनलाई तीव्र पार्नुपर्ने बताउँदै जागरण अभियानसँग मिलेर काम गर्न नगरपालिका इच्छुक रहेको बताएकी थिइन् ।

जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समितिका अध्यक्ष मोहन काजीले उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले समिति गठन भएको बताए ।

अध्यक्ष काजीले लोकतन्त्रमा नागरिक सर्वोच्चता सर्वोपरि रहेको हुँदा उनीहरुको हित र संविधानप्रदत्त उपभोक्ता अधिकारको कार्यान्वयनका लागि समितिले इमानका साथ नागरिक सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, मेची उद्योग वाणिज्य संघ, रोटरी क्लव, उद्योगी, व्यवसायीका प्रमुख तथा प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रमको सञ्चालन जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समितिका सदस्य ज्ञानेन्द्र निरौलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: