दुहागढी, ३ बैशाख । उपराष्ट्रपति नन्दकिशोर पुनले हरेक क्षेत्रमा अगाडि हुने झापाको विशेषता भएको बताउँदै राजनीतिक परिवर्तनमा झापालीले पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।
विहीवार दुहागढी–६ धाइजनमोडमा नेपाल भलिवल सङ्घद्वारा आयोजना गरिएको ‘तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिता २०७३’ को उद्घाटन गरेपछि सम्बोधनका क्रममा उनले झापाको प्रशंसा गरेका हुन् ।
‘झापा हरेक क्षेत्रमा अग्रणी छ’, १५ मिनेट लामो मन्तव्यको करीव एक चौथाई समय झापाको विषयमा खर्चिएका उपराष्ट्रपति पुनले झापालीको एकता र साहस अनुकरणीय भएको बताए ।
उनले झापा विद्रोहको समेत चर्चा गरे । ‘ढिलै भए पनि झापा विद्रोहमा सहादत प्राप्त गरेका सहिदहरूलाई सरकारले सहिद घोषणा गर्यो’–मन्तव्यको क्रममा उनले सरकारको समेत प्रशंसा गरे ।
झापाको पर्यटकीय स्थल र जातीय विविधताको चर्चा गर्दै उनले झापामा आउने आफ्नो पहिलदेखिको इच्छा पूरा भएको बताए । उनले भने–‘मलाई झापामा आउने अवसर जुटाइदिनु भएकोमा आयोजकप्रति आभार व्यक्त गर्दछु ।’
उनले राष्ट्रिय परिस्थिति र खेलकुदका विषयमा समेत बोलेका थिए । नेपाली जनताको साहसले नै नेपालमा नयाँ संविधान आएको उनको भनाई थियो भने आफु पनि भलिवलको पूर्व खेलाडी नै भएको बताए । उनले राज्यले खेलकुदको विकासका लागि खासै चासो नदिएको गुनासो गर्दै खेलाडीहरूले मुलुकका लागि अतुलनीय योगदान पुर्याएको बताए ।
उपराष्ट्रपति नन्दकिशोर पुन पदमा पुगेपछि पहिलोपल्ट झापा आएका हुन् । उद्घाटन समारोहपछि भएको पहिलो खेल समेत उनले अभिरुचिपूर्वक हेरेका थिए ।
प्रतियोगिता उद्घाटनका लागि उपराष्ट्र«पति पुन काठमाडौँबाट भद्रपुरसम्मको नियमित हवाइ उडानमार्फत विहीवारै झापा आएका हुन् ।
कार्यव्रmममा उपराष्ट्रपति पुनले कार्यव्रmममा भलिवल प्रतियोगितालाई प्रायोजन तथा सहयोग गर्ने सोनिया घरघडेरी प्रालिका सञ्चालक नरेन्द्र गछाम मेचे, सूर्य एग्रोका सञ्चालक जगदीश मिण्डा लगायतलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
आयोजक समितिका अध्यक्ष बालकृष्ण रिजालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, एकीकृत माओबादीका केन्द्रीय सदस्य राम कार्की, नेकपा एमालेका नेता तथा सांसद् मनकुमार गौतम, राप्रपा नेपालका नेता कुमार भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।