धाइजन, १ बैशाख । उपराष्ट्रपति नन्दकिशोर पुन बिहीवार झापा आउने भएका छन् ।
झापाको दुहागढी–६ धाइजनमोडमा आयोजना गरिएको ‘तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिता २०७३’ को उद्घाटनका लागि उपराष्ट्रपति पुन झापा आउने भएका हुन् ।
उपराष्ट्रपति पुन काठमाडौँबाट भद्रपुरको पहिलो हवाई उडानमा झापाको चन्द्रगढी विमानस्थल हँुदै नेपाली सेनाको चारआली व्यारेक जाने र त्यहाँबाट भलिवल खेलस्थल पुगेर खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
उपराष्ट्रपति आउने भएपछि झापामा नेपाली सेना, नेपाल प्रहरीले सुरक्षा व्यवस्थालाई कडा तुल्याएका छन् । भलिवल खेल मूल आयोजक समितिले धाइजनचोकदेखि पूर्वपश्चिम उत्तरदक्षिण २ सय मिटर क्षेत्रमा नेपालको झण्डा र व्यानरले सिङ्गारेको छ ।
आयोजकले पूर्व र पश्चिममा एक एक वटा र खेल स्थल जाने ठाउँमा मूल गेट बनाएको छ ।
उपराष्ट्रपतिसँग उनकी श्रीमतिसहित ७ जनाको टोली आउने भएको हो । उपराष्ट्र«पति भएपछि पुन झापामा आउने भएका हुन् ।
भलिवल खेल देशकै पहिलो तथा सर्वाधिक राशीको पुरस्कार रहेको छ । नेपाल भलिवल सङ्घ र बिहानी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगितामा सहभागी बन्नका लागि बुधबारै विभिन्न ८ वटा भलिवल टीमहरू झापा आइपुगेका छन् ।
खेललाई मर्यादित ढङ्गले खेलाउनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रि समेत आइपुगेका भलिवल सङ्घका केन्द्रीय सदस्य लेखनाथ पराजुलीले बताए ।
पराजुलीका अनुसार भलिवल टीममा सहभागी खेलाडी र राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रिको उचित व्यवस्थापन गरिसकिएको छ ।
होटल व्यवसायी सङ्घको समन्वयमा आयोजकले खानका लागि मेस निर्माण गरेको छ भने बस्नका लागि झापाका व्यवस्थित होटल तथा लज बुकिङ गरेको छ । प्रतियोगिताबाट प्रथम हुने टीमलाई सर्वाधिक पुरस्कार राशी नगद ३ लाख १५ हजार तथा शिल्ड ट्रफि तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।
पहिलो पुरस्कारको राशी दुहागढी–६ का दानवीर दाता नरेन्द्र मेचे (गछाम)ले उपलब्ध गराउने दिने भएका छन् । त्यसैगरी दोश्रो पुरस्कार रामकुमार कन्दङ्वाले नगद १ लाख ७५ हजार तथा तेश्रो पुरस्कारको राशी विएन्डसी हस्पिटलले १ लाख १० हजार उपलब्ध गराएको आयोजक तथा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण रिजालले जानकारी दिए ।