उप्रेतीद्वारा मेयरको  उम्मेद्वारी घोषणा

  प्रकाशित मिति
२४ चैत्र २०७३, बिहीबार ०९:५९


mani sir 1 (1)

मेचीनगर । नेपाली काङ्ग्रेसभित्र कुशल सङ्गठकका रुपमा चिनिएका क्षेत्रीय सभापति मनिकुमार उप्रेतीले मेचीनगर नगरपालिकाको आसन्न चुनावमा मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

झापा जिल्लामै नेपाली काङ्ग्रेसबाट मेयर पदमा उम्मेद्वारी घोषणा गर्ने उप्रेती पहिलो आकांक्षी हुन् । पार्टीले निर्णय नदिइकन नबोल्ने भन्दै पार्टीका अरु कुनै आकांक्षीले हालसम्म यसरी उम्मेद्वारी घोषणा गरेका थिएनन् ।

बुधवार लोकतन्त्र पोस्ट र सरगम एफएमसँग कुराकानी गर्दै उनले पार्टीमा क्रियाशील रहेको र योगदान दिएको आधारमा आफुले नै मेयर पदको टिकट पाउने विश्वास व्यक्त गरे ।

‘पार्टीलाई जिताएर नगरको विकासको नेतृत्व प्रदान गर्ने उद्देश्यका साथ मेरो घोषणा हो’, उम्मेद्वारी सार्वजनिक गर्दै उनले भने–‘अन्य आकांक्षीहरुले समेत मलाई समर्थन गर्नु हुने अपेक्षा गरेको छु ।’

नेपाली काङ्ग्रेसले नगरको मेयर र उपमेयरको उम्मेद्वार चयन गर्नका लागि वडा समितिको सिफारिस, नगर समितिको राय, क्षेत्रीय समितिको निर्णय र जिल्ला समितिको अनुमोदन रहने गरी कार्यविधि बनाएको छ ।

‘शुभेच्छुक साथीहरुले तपाई किन बोल्नु हुन्न भनेर भनिरहनु भएको थियो, मैले पख्नुस् पख्नुस् भन्दै आएँ’, झापा क्षेत्र नं. १ का प्रभावशाली काङ्ग्रेस नेता उप्रेतीले भने–‘पार्टीले टिकट दिन्छ कि दिदैन भन्ने कुरा एउटा ठाउँमा होला, तर अब आफ्नो कुरा बोल्ने बेला आइसकेको छ ।’

मेचीनगरमा मेयर पदका लागि पार्टीबाट उप्रेती लगायत विमल आचार्य, राम कट्टेल, केशवराज पाण्डे, टेकबहादुर सुब्बा (भरत), अशोक पोखरेल, प्रेम सम्वाहाम्फे, तारावीर कटुवाल र तिलक गिरी आकांक्षीका रुपमा चर्चामा छन् ।
उम्मेद्वारी घोषणा गरेका उप्रेतीले अन्य आकांक्षीहरुको चाहनालाई स्वाभाविक भन्दै आफुले मेयरको टिकट पाउँदा अरुलाई उचित व्यवस्थापन गरिने बताए ।
पार्टी जस्तोसुकै कठिन अवस्थामा रहँदा समेत आफुले पार्टीको सङ्गठन निर्माण र विचारलाई बोकेर हिँडेको भन्दै उनले पार्टीले गर्ने अन्तिम निर्णयलाई सम्मान गर्ने समेत बताएका छन् ।

टिकटको निर्णय गर्ने ठाउँमै भएको नेताले यसरी उम्मेद्वारी घोषणा गर्दा पार्टीको निर्णयमा दवाव पर्छ कि भन्ने प्रश्न गर्दा काङ्ग्रेसका क्षेत्रीय सभापति उप्रेतीले अन्य आकांक्षीहरुले यस विषयमा कुनै शङ्का नगर्न आग्रह गरेका छन् ।
‘अरु आकांक्षीहरुलाई मेरो उम्मेद्वारीको घोषणाका कारणले अन्याय हुन दिन्न’–उनले भने । तर अरु आकांक्षीहरुले आफ्नो योगदानलाई सम्झेर समर्थन गर्नु पर्ने उनको आग्रह छ ।

को हुन् मनि ?
स्नातकसम्मको शिक्षा हासिल गरेका मेचीनगर–९ निवासी मनिकुमार उप्रेती साधारण किसान परिवारमा हुर्किएका राजनीतिक योद्धा हुन् ।

हाल ५६ वर्ष उमेर भएका शारीरिक रुपमा तन्दुरुस्त उनी २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नेपाली काङ्ग्रेसमा आवद्ध भएको बताउँछन् ।

समाजवादी नेताहरु सीके प्रसाई, परशुराम शर्मा, याम भण्डारी, नरेन्द्रविक्रम नेम्वाङ लगायतको विचारबाट प्रभावित भएर काङ्ग्रेसमा लागेको बताउने उनी २०३६ सालको बहुदल प्राप्तिको सङ्घर्ष, २०४६ सालको प्रजातन्त्र वहालीको पहिलो जनान्दोलन र २०६२ सालको लोकतन्त्र वहालीको दोस्रो जनान्दोलनमा ज्यानको समेत पर्वाह नगरी होमिएको नेता हुन् ।

उनले हालसम्म पार्टी जीवनमा ३७ वर्ष, जनप्रतिनिधि भएर १० वर्ष र खानेपानी समितिको नेतृत्वदायी समितिमा १० वर्ष बिताएका छन् ।

मेचीनगरको पहिलो जनप्रतिनिधिको रुपमा उनी नेपाली काङ्ग्रेसको उम्मेद्वार भएर २०४९ सालमा तत्कालीन धुलावारी गाउँ विकास समितिको वडा नं. ३ को वडाध्यक्ष निर्वाचित भएका थिए भने मेचीनगर नगरपालिका स्थापना भएपछि २०५४ सालमा भएको पहिलो निर्वाचनमा वडा नं. ४ बाट वडाध्यक्ष पदमै निर्वाचित भएका थिए ।

धुलावारी खानेपानी आयोजनाको संस्थापक रहेका उनले खानेपानी समितिको संस्थापक सचिव र पछि एक कार्यकाल अध्यक्ष भई नेतृत्व प्रदान गरेका थिए ।
व्यक्तिगत रुपमा समेत अत्यन्त भद्र, शालीन र बेदाग छवि बनाएका उप्रेती अरु राजनीतिक दलका कार्यकर्तामाझ समेत मिलनसार नेताका रुपमा चिनिएका छन् ।

पार्टीको लागि भन्दै आफुले सम्पूर्ण जीवन काङ्ग्रेसमा समर्पित गरेको बताउँदै उनी आर्थिक रुपमा कमजोर भए पनि चुनाव जित्न पैसा चाहिन्छ भन्ने भ्रम आफुमा र आफ्नो पार्टीका कार्यकर्तामा नरहेको बताउँछन् ।

‘पैसा कति छ भन्ने कुरा उम्मेद्वारको योग्यता होइन’, उनी भन्छन्–‘नेपाली काङ्ग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, यहाँ आम कार्यकर्ताको भावना र मन जित्न सक्नेले नै नेतृत्व गर्ने अवसर पाउँछ ।’

को को छन् चर्चामा ?
झापाको सबैभन्दा बढी जनसङ्ख्या भएको मेचीनगर नगरपालिकामा मेयर पदका लागि उम्मेद्वारी घोषणाको क्रम अब तीब्र हुने अनुमान गरिएको छ ।
यस अघि राप्रपाले मेयरमा अशोक सुब्बा र उपमेयरमा सबिना बजगाईलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

काङ्ग्रेसले कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा पार्टीको निर्णय आउन बाँकी नै छ । उनले लामो अवधिपछि हुन लागेको स्थानीय तहको चुनाव एकप्रकारले उत्सव जस्तो भएको उल्लेख गर्दै आफ्नो घोषणालाई स्वाभाविक रुपमा लिइनु पर्ने बताएका छन् ।

२०६८ सालको जनगणना अनुसार जिल्लाको सबैभन्दा ठूलो नगरको रुपमा रहेको मेचीनगर नगरपालिकाको जनसङ्ख्या एक लाख ११ हजार ७९७ रहेको छ । दोस्रो ठूलो नगर दमक नगरपालिकाको जनसङ्ख्या ७५ हजार १०२ रहेको छ । प्रमुख दलमध्येको नेकपा एमालेले बैशाख ३ गते नगर कमिटीको बैठक बसेर मेयर र उपमेयरको नाम सिफारिस गर्ने जनाएको छ । सो पार्टीबाट मेयर पदको उम्मेद्वारी पाउने दौडमा विष्णु प्रसाइँ, गोपाल बुढाथोकी र डिल्लीराम घिमिरे प्रमुख दावेदार रहेका छन् ।

मेयर पदका लागि एमालेभित्र देबकुमार राई, निलकण्ठ तिवारी, श्रीप्रसाद मैनाली, भीम खवास, हरिचरण बानियाँ, रामचन्द्र उप्रेती, लक्ष्मी उप्रेती लगायतको नाम पनि चर्चामा छ ।

एमालेबाट उपमेयरको उम्मेद्वारको रुपमा मीना उप्रेती, रेणुका डाँगी, सुभद्रा अर्याल, शारदा शर्मा र बादलु खड्काको नाम अग्रपङ्तिको चर्चामा छ ।

नेकपा माओबादीबाट मेयर पदमा उम्मेद्वारको रुपमा हंशलाल राजबंशी, प्रकाश भण्डारी, यज्ञराज प्रसाई र माधव अर्यालको नाम चर्चामा छ भने उपमेयरमा लीला राजबंशी, कृष्णकुमारी सुबेदी र अनिता पाठकको नाम चर्चामा छ ।

नयाँ शक्ति पार्टीबाट भने मेयर पदमा पनिता ढकाललाई उम्मेद्वार बनाउने चर्चा छ । मेयरमा उम्मेद्वार बन्ने महिलाको रुपमा मेचीनगरमा ढकालको नाम मात्रै आएको छ ।

साविक दुहागढी, बाहुनडाँगी, ज्यामिरगढी र धाइजन गाविसलाई समायोजन गरेर हालको मेचीनगर नगरपालिका गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: