ज्यामिरगढी । कक्षा १ मा अध्ययन गर्ने विद्यार्थी कति वर्षका होलान् ? ४, ५ वा ७ वर्ष ? तर, ज्यामिरगढीस्थित कालिका प्राथमिक विद्यालयमा ५५ वर्षकी वृद्धा पढ्ने धोको पूरा गर्न कक्षा १ मा भर्ना भएकी छन् । ज्यामिरगढी–२ घर भएकी उनको नाम पञ्चमाया बराइली हो ।
‘उहाँ त आफ्नै हजुरआमा जस्तै लाग्छ’, पञ्चमायालाई भेट्न लोकतन्त्रकर्मी कक्षा कोठामा पुग्दा विद्यार्थीले रमाउँदै सुनाए–‘हामी सँगै मिलेर पढ्छौँ ।’
पञ्चमाया उमेरले ५५ वर्षकी भइन् । घर नजिकै छ कालिका प्राथमिक विद्यालय । उनका ३६ र २६ वर्षका दुई छोरा छन् । जेठो तेस्रो मुलुकमा र माइलो छोरा भारतमा रोजगारीका लागि गएका छन् । माइली बुहारी भारतमै छिन् ।
जेठी बुहारी र नाति नातिनासँग बस्दै आएकी उनलाई छोराहरूले पठाइदिएको मोबायल चलाउन गाह्रो भएछ । कारण उनले मोवायलका अक्षर चिन्न सकिनन् । ‘धेरैलाई सिकाई मागे, तर कसैले सिकाइदिएनन्’–पञ्चमाया भन्छिन् । उनले कयौ दिन अरुलाई नम्वर डायल गरिमागिन् । अक्षर नचिनेकै कारण कठिनाइ भोग्नु परेपछि उनलाई पढ्ने रहर जाग्यो ।
आफ्नै घरमा सिकुवामा बसेर पढ्न थालेको देख्नेले उनलाई घरै अगाडिको स्कुलमा जान सुझाए । ‘बुढेसकालमा नातिनातिना उमेरकासँग कसरी पढ्न जानु भनेर सुरुमा लाज लाग्यो’, उनले पढ्न जाने बेलाको वेलिविस्तार लगाउँदै भनिन्–‘जसरी पनि अक्षर नचिनी भएकै छैन भन्ने सोचेर लुरुलुरु स्कुल जान थालेँ ।’
स्कुल जान थालेपछि उनको दिनचर्या फेरिएको छ । उनी विहान चाडैँ उठ्छिन् । पुजापाठ गरेर घर धन्धा र नाति नातिनीलाई विद्यालय पठाउने काम सकेर उनी किताव च्यापेर विद्यालय जाने गर्छिन् । उनका नातिहरू चाहिँ बोर्डिङ स्कुल पढ्छन् ।
२२ वर्षसम्म वैभव चिया बगानमा मजदुरी गरेकी पञ्चमायाले यसै वर्ष मात्र उमेरका कारण अवकास लिएकी हुन् । बाल्यकालमा विद्यालय जान नपाएकी उनको १६ वर्षको उमेरमा हस्तबहादुर बराइलीसँग विवाह भउको थियो । पौढ शिक्षासम्म पढ्न नपाएकी उनी विद्यालय जान थालेपछि मनग्गे नेपाली अक्षर चिन्ने भएकी छिन् ।
विहान १० बजे स्कुल गएकी उनी ४ बजे छुट्टीमा एकैचोटी घर फिर्छिन् । उनलाई विद्यार्थीले ‘हजुरआमा’ नै भनेर बोलाउने गर्छन् । उनी पनि धेरैलाई नाति नातिनि नै भन्ने गर्छिन् । यसो त उनी आफुले नजानेका पढाइका कुरा तिनै बालबालिकालाई सोध्ने गर्छिन् । ‘सानो भएर हुँदैन’, कक्षामा पढ्दै गरेकी उनले भनिन्–‘राम्ररी सिकाइदिन्छन् ।’ यसो त उनी घरमा पनि फुर्सद निकालेर होमवर्क र पढ्ने काम गर्दै आएकी छिन् ।
‘मर्ने बेलामा यो बुढीले के गरेको होला भन्नेहरू पनि थुप्रै थिए’, पञ्चमाया पढेर विस्तारै अक्षर चिन्न थालेकोमा प्रसन्न हुँदै भन्छिन्–‘तर, निरन्तर पढ्दै गएपछि अहिले हौसला दिने धेरै छन् ।’
वुढेसकालमा पनि विद्यार्थी बन्न आइपुगेकी पञ्चमायाको उत्साह देखेर शिक्षक रीता प्याकुरेल खुसी व्यक्त गर्छिन् । ‘सुरुमा त मलाई पनि उहाँलाई पढाउन निकै अफ्ठेरो भएको थियो’, शिक्षक प्याकुरेलले भनिन्–‘उमेरले आमा समानको मान्छेलाई कसरी पढाउने, कराउन पनि नमिल्ने ।’
तर, पञ्चमायाले सोचेभन्दा छिटो अक्षर लेख्न र पढ्न सिकेको प्याकुरेल बताउँछिन् । छोटो समयमा पनि धेरै जान्ने भइकी उनी अब त मोवायल आफै चलाउन सक्ने भइसकेकी छन् ।
एन्ल्े प्रधानाध्यापकलाई ठूलो सर, कुनै सरलाई मोटो, कसैलाई दुब्लो, कसैलाई गोरँे भनेर चिन्ने गरेकी छन् । उनी आफ्नो मोबायल विद्यालयमा आफुसँगै लिएर जान्छिन् । झोलामा मोबायल हाल्छिन् र छोराहरूको फोन आयो भने शिक्षकलाई सोधेर बाहिर गएर मनलाग्दी कुराकानी गर्छिन् ।
उनी राष्ट्रिय गीत पनि उनी पुरै गाउन सक्ने भएकी छिन् । आफ्नो नाम नेपाली र अङ्ग्रेजी दुवैमा लेख्छिन् ।
सधैँ घरमा पढेको देखेर हामीले पनि पढ्नलाई विद्यालय आउनुहोस् भनेर हौसला दिएको प्रधानाध्यापक भक्तराज खड्काले बताए । ‘हामी उत्साहित भएका छौँ’, प्रधानाध्यापक खड्काले भने–‘उहाँ यो उमेरमा त विद्यालय आउनु भएको छ । पढाईलाई उमेरले छेक्दैन भन्ने कुरा अरुले उहाँबाट सिक्नु पर्छ ।’
उनको उत्साहलाई प्रशंसा गर्नु पर्ने काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालले बताए ।