उम्मेदवारी मनोनयन दर्ता सुरु

  प्रकाशित मिति
४ असार २०७४, आईतवार ११:०२


झापा । दोस्रो चरणको स्थानीय निर्वाचनको क्रममा आइतवार प्रदेश नं. १, ५ र ७ मा उम्मेद्वारहरुको मनोनयन दर्ता सुरु भएको छ ।
निर्वाचन आयोगले आज विहान ८ देखि बेलुका ४ बजेसम्मको समय उम्मेद्वारी दर्ताका लागि तोकेको छ ।

दोस्रो चरणको निर्वाचन प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुनेछ । जसमा बिराटनगर महानगरका साथै ७ उपमहानर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका छन् ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिने छन् र १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् ।निर्वाचन आयोगका अनुसार ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने छन् ।

आगोगले ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ ।

झापाको १५ वटै स्थानीय तहमा आइतवार दल तथा स्वतन्त्र उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी दर्ता गर्ने छन् । यसका लागि सम्पूर्ण तयारी पूरा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चन्द्रगढीले जनाएको छ ।

मुख्य दललाई तोकियो समय ः
निर्वाचन आयोगले तोकेको प्रावधान अनुसार गाउँपालिका र नगरपालिकाहरुमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले मनोनयन दर्ता गर्नु पर्ने छ ।

निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय सहमतिका आधारमा दलहरुलाई मनोनयन दर्ताका लागि अलगअलग समय छुट्याइदिएको छ ।
मेचीनगरमा नेकपा एमालेलाई आइतवार विहान ८ देखि १० बजेभित्र, नेकपा माओबादी केन्द्रलाई १० देखि १२ बजेभित्र, नेपाली काङ्ग्रेसलाई १२ देखि २ बजेभित्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई २ देखि ४ बजेभित्र मनोनयन गरिसक्न सयम दिइएको छ ।

मुख्य दलहरुको धेरै उम्मेद्वार हुने र उनीहरु दलबलका साथ आउने भएका कारण अलग समय तोकिदिनु परेको बताइएको छ ।

अन्य दल र स्वतन्त्र उम्मेद्वारहरुले विहान ८ देखि अपरान्ह ४ बजेसम्मको जुनसुकै समयमा पनि मनोनयन दर्ता गर्न सक्ने भएका छन् ।
अन्य नगरपालिका तथा गाउँपालिकाहरुमा भने दलहरुले पाएको समय मेचीनगरको भन्दा फरक छ ।

दलहरु दलबलसहित जाने ः
मुख्य दलहरु तामझाम र दलबलसहित उम्मेद्वारी मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालय जाने भएका छन् ।

मेचीनगरमा नगरपालिकाको कार्यालयमा नै निर्वाचन अधिकृतको कार्यालय रहेको छ । उम्मेद्वारी दर्ता त्यहीँबाट हुने भएको छ ।

नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी र सङ्घीय समाजबादी पार्टीले आफ्ना उम्मेद्वारहरुलाई अघि लगाएर तामझामसहित दर्ताका लागि जाने जानकारी दिएका छन् ।

एमालेले इटाभट्टाको पार्टी सम्पर्क कार्यालयबाट र्याली निकालेर दर्ताका लागि नगरपालिका जाने जनाएको छ भने काङ्ग्रेसले स्वास्थ्य महोत्सव भएको स्थानमा भेला भएर जाने जनाएको छ ।

काङ्ग्रेस स्रोतका अनुसार स्वास्थ्य महोत्सव भएको खाली चौरमा आमसभा पनि हुने भएको छ । एमाले, माओबादी र राप्रपाले पनि मनोनयनपछि अलग अलग स्थानमा आमसभा गर्ने भएका छन् ।

महिलालाई धरौटीमा छुट ः
निर्वाचन ऐनमा हरेक उम्मेद्वारहरुले मनोनयन दर्ता गराउँदा पद अनुसारको धरौटी रकम बुझाउनु पर्ने व्यवस्था गरेको छ ।
तर महिला, दलित, अल्पसङ्ख्यक र आर्थिक रुपले विपन्न उम्मेद्वारलाई धरौटीमा ५० प्रतिशत छुट दिने कानूनी व्यवस्था छ ।
आर्थिक रुपले विपन्न भन्नाले वार्षिक आय ५० हजार रुपैयाँभन्दा कम भएको भनी स्थानीय तहले सिफारिस गरेकोलाई सम्झिनु पर्ने छ ।

धरौटी रकम कसलाई कति ः
नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेद्वार बन्नेले १ हजार ५ सय रुपैयाँ धरौटी बुझाउनु पर्ने भएको छ ।

यसैगरी, नगर तथा गाउँपालिकाको वडा अध्यक्षको उम्मेद्वार बन्न चाहनेले १ हजार र वडा सदस्यको उम्मेद्वार बन्न चाहनेले ५ सय रुपैयाँ धरौटी दाखिला गर्नु पर्ने छ ।

सबै धरौटी नगदै बुझाउन सकिने छ । धरौटी बुझाएको निस्सा निर्वाचन अधिकृतको कार्यालयले दिने छ ।

जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत पाउने उम्मेद्वारहरुको धरौटी रकम जफत हुने अर्थात फिर्ता नहुने कानूनी व्यवस्था छ । तर तोकिएको समयभित्र उम्मेद्वारी फिर्ता लिनेको रकम भने फिर्ता हुने छ ।

नाम फिर्ता लिने र १० प्रतिशत मत पूरा गर्ने उम्मेद्वारहरुको धरौटी रकम मतपरिणाम घोषणा भएको ९० दिनभित्र फिर्ता गर्ने कानूनी व्यवस्था रहेको छ ।

दलीय उम्मेद्वारका लागि पार्टीको टिकट अनिवार्य ः
स्वतन्त्र उम्मेद्वारहरुले आफुखुसी उम्मेद्वारी दर्ता गर्न पाउने भए पनि दलीय उम्मेद्वारहरुका लागि सम्बद्ध पार्टीले दिएको औपचारिक पत्र (टिकट) अनिवार्य हुने भएको छ ।

दलहरुले आफ्नो पार्टीका उम्मेद्वारको मनोनयन पत्रमा गरेको आधिकारिक नेताले गरेको हस्ताक्षर र पार्टीले १५ दिन अगावै निर्वाचनमा बुझाएको पार्टीका आधिकारिक नेताको हस्ताक्षर मिलेमा मात्र दलको उम्मेद्वारी दर्ता हुने प्रावधान छ ।

प्रमुख दलहरुले केही दिन अगावै मनोनयन पत्र लगेर आफ्ना उम्मेद्वारहरुको विवरण भरिसकेका छन् । आइतवार त्यसलाई अधिकृतको कार्यालयमा बुझाउने छन् ।

उम्मेद्वार बन्न योग्यता ः
उम्मेद्वार बन्ने व्यक्ति मतदाता नामावलीमा नाम समावेश भएको हुनु पर्ने प्रावधान छ । कुनै कारणवश नाम समावेश रहेन छ भने उसले उम्मेद्वार बन्न पाउने छैन ।

उम्मेद्वार २१ बर्ष पूरा भएको हुनुपर्ने र जुन पदमा उम्मेद्वार बन्न चाहेको हो सोही गाउँ वा नगरको मतदाता नामावलीमा नाम समावेश भएको हुनु पर्ने छ ।

जस्तो कि मेचीनगर–१० को वडाअध्यक्षको उम्मेद्वार बन्ने हो भने सोही वडाको मतदाता नामावलीमा नाम हुनु पर्छ । अर्को वडामा नाम भएर पाइँदैन ।

उम्मेद्वारी बदर हुने अवस्था ः
नेपाल सरकार, सरकारी कुनै कार्यालय र स्थानीय निकायमा कार्यरत कर्मचारी वा त्यसबाट अनुदानमा सञ्चालित परियोजनाबाट पारिश्रमिक लिइरहेको व्यक्ति उम्मेद्वार बन्न पाउने छैनन् ।

यदि उनीहरुल उम्मेद्वार बन्ने हो भने राजीनाम स्वीकृत गरेर आउनु पर्ने छ । शिक्षक पदमा रहेकाहरुको हकमा समेत यही नियम लागू हुन्छ । राजीनामा स्वीकृत नगरी दिएको उम्मेद्वारी बदर हुने व्यवस्था छ ।

यसैगरी, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन, लागू औषध, सम्पत्ति शुद्धिकरण, राहदानी दुरुपयोग, अपहरण, नैतिक पतन जस्ता फौजदारी कसुर गरेको ठहरिएको व्यक्तिको उम्मेद्वारी बदर हुने प्रावधान छ ।

जातीय विभेद, छुवाछुत, बोक्सी, बहुविवाह सम्बन्धी कसुरमा सजाय पाएको व्यक्ति समेत उम्मेद्वार बन्न पाउँदैन । यदि त्यस्तो उम्मेद्वारी दर्ता भएको रहेछ भने बदर हुने व्यवस्था छ ।

भोलि दावी विरोध ः
आइतवार नै मनोनयन दर्ता भएको उम्मेद्वारहरुको सूची प्रकाशित हुने भएको छ ।
सोमवार उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उम्मेद्वारको नाम प्रकाशित गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: