संविधानसभामार्फत् जारी भएको नेपालको संविधानले गरेको व्यवस्था अनुसार मुलुक नयाँ संरचनामा रुपान्तरण भएको छ । संविधानले तोके बमोजिम मुलुकको शासकीय संरचनामा तीन तह हुनेछ । जसमा स्थानीय तह, प्रादेशिक तह र सङ्घीय वा केन्द्रीय तह रहने छन् । त्यसमा पनि स्थानीय तह प्रत्यक्ष जनतासँग सरोकार राख्न तह हो भने अधिकारका दृष्टिले पनि स्थानीय तह शक्तिशाली भएको छ । तर, संविधानले शक्ति दिँदैमा आजकै मितिमा स्थानीय तहले त्यो शक्ति प्रयोग गरेको पनि छैन र सक्दैन पनि । त्यो शक्ति प्रयोगका लागि स्थानीयमा जनताबाट निर्वाचित प्रतिनिधिहरु स्थापित हुन जरुरी छ ।
स्थानीय तहमा जनप्रतिनिधिको प्रतिनिधित्वका लागि सरकारले आगामी बैशाख ३१ गते निर्वाचनको मिति तोकिसकेको छ । विगतका निर्वाचन पटक–पटक सरेको भोगाइका कारण स्थानीय तहको चुनाव पनि सर्छ भन्ने एकथरि मानिसहरु पनि नभएका होइनन् । तर, यसपालि त्यस्तो हुने छैन र ख्याल ख्यालमा नै चुनावको दिन बैशाख ३१ मतदान हुने दिनको रुपमा हाम्रा सामु आउने निश्चित प्रायः छ । निर्वाचन भन्ने बित्तिकै त्यो निर्वाचनको मैदानमा उत्रिने राजनीतिक दल र तिनका उम्मेद्वारकै बारेमा चर्चा हुने गर्दछ र त्यो स्वाभाविक पनि छ । यतिबेला सबै राजनीतिक शक्ति उम्मेद्वार छनोटमा लागेका छन् । दलहरुको मुख्य चुनौती भनेको नै उम्मेद्वार छनोट हो । राज्यको पुनर्संरचना पछि पहिलोपटक हुन लागेको स्थानीय तहको निर्वाचनमा मुख्य राजनीतिक शक्तिहरु आफूलाई स्थानीय तहमा बलियो रुपमा उभ्याउन चाहन्छन् । तर, उम्मेद्वार छनोटमा आफ्ना भजन मण्डलीहरु परुन् भन्ने पनि चाहना राख्छन् । त्यसैले पनि उम्मेद्वार छनोट दलहरुका लागि पेचिलो विषय बनेको छ ।
माथिल्लो तहको जस्तो स्वरुपमा स्थानीय तहको पनि उम्मेद्वार छनोट गर्ने काम भयो भने त्यो त्यस्ता राजनीतिक दलका लागि दुर्भाग्य हुनेछ । दुर्भाग्य यसकारण कि संसदीय निर्वाचनमा राजनीतिक दल प्रधान हुन्छ भने स्थानीय तहमा व्यक्ति वा उम्मेद्वार स्वयम्ले पनि बहुसङ्ख्यक भोट प्रभावित पार्न सक्छ । हाम्रो जस्तो देशमा संसदीय निर्वाचनमा समेत २५ देखि ३० प्रतिशत मतदाताले कहीँ कतै नखुलिकन मतदानकै दिन आफूलाई मन परेको उम्मेद्वार या राजनीतिक दललाई भोट हाल्ने गरेको तथ्याङ्क छ । यस्तो अवस्थामा स्थानीय तह भनेको छरछिमेक नै उम्मेद्वार पनि मतदाता पनि हुन्छ । खासगरी वडा तहमा उठ्ने उम्मेद्वारहरु त झन् एउटै वडामा सीमित हुनुपर्छ या भनाँै सानो घेरा भित्रबाट निर्वाचित हुनुपर्छ । त्यस्तो बेलामा उम्मेद्वार बन्ने व्यक्ति स्वयम्को प्रभाव बढी नै हुन्छ । कहिले काहीँ त उम्मेद्वार बनाउने राजनीतिक दल गौण बनेर व्यक्ति प्रधान भएर पनि निर्वाचनको परिणाम आउन सक्छ ।
त्यसै भएर पनि स्थानीय तहमा उम्मेद्वार छनोट गर्न लागिरहेका दलहरुले जित्ने उम्मेद्वार छान्दै गर्दा उसले सम्बन्धित पार्टीभित्र गरेको योगदान मात्र हेरियो भने त्यो कमजोर मूल्याङ्कन हुने निश्चित छ । पार्टीभित्र कति पुरानो, पार्टीको कुन–कुन तहमा कति वर्ष काम गरेको, पार्टीले अराएको काममा कति सफल भन्ने कुरा पार्टीभित्र मात्र सीमित हुन्छ, आम मतदाता नागरिकका लागि यी सबै कुराको कुनै अर्थ हुँदैन । मतदाताले खोज्ने त मुख्य तीन कुरा हो । पहिलो कुरा, उम्मेद्वार हुने व्यक्तिको चरित्र कस्तो छ ? ऊ सामाजिक गतिविधिमा कत्तिको भिज्न सकेको छ ? उसले सारोगारो पर्दा कतिको सहयोग गर्ने गरेको छ ? दोस्रो, उसलाई जिताउँदा भोलि आफ्नो काम गर्न कति सजिलो हुन्छ हँुदैन र तेस्रो, निर्वाचन जितेपछि त्यो व्यक्तिले जीतको जस आफूले मात्रै लिन्छ कि आफ्ना मतदाताहरुसँग पनि बाँड्छ ? यी बाहेक पनि अरु थुप्रै कुरा उम्मेद्वार हुने व्यक्तिका बारेमा आम मतदाताले मत खसाल्न भन्दा पहिला विचार गर्नेछन् ।
त्यसैले यो घडी जतिबेला राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार छनोटमा जुटेका छन्, त्यतिबेला ध्यान दिने कुराहरुमाथि गलत बुझाइ भयो भने तपार्इंको हार निश्चित छ । जीत पनि चाहने र आफ्ना हुक्के चम्चेहरु जो अलोकप्रिय छन्, तिनीहरुलाई उम्मेद्वार पनि बनाउने सोचबाट निर्णय भयो भने सम्झे हुन्छ, त्यस्ता दलहरु नराम्रो ढङ्गबाट पछारिने छन् र तिनलाई उठेर हिँड्न लामो समय लाग्नेछ ।
यसपालिको निर्वाचनमा उम्मेद्वार छनोटका बेला आउन सक्ने अर्को समस्या भनेको राजनीतिक दलका पुराना नेतृत्वहरुको व्यवस्थापन पनि हो । लामो समय स्थानीय निकायको निर्वाचन हुन नसकेका कारण थुप्रै नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु चुनावी मैदानमा जानै पाएका छैनन् । बल्ल–बल्ल निर्वाचन हुँदै गर्दा यतिबेला तिनीहरुले आफू पुरानो हुनुको धाक लगाउने निश्चित देखिन्छ र त्यो दबाव उम्मेद्वार छनोटको जिम्मा पाएकाहरुलाई पर्न सक्छ । तर, वास्तविकता माथि भनिए जस्तो आम मतदाताले पुरानो र नयाँ जान्दैन, कपाल साँच्चै कालो हो कि फुलेको, कपालमा कालो लगाएको हो त्यो पनि मतदाताले छुट्याउन सक्छन् । कसैभन्दा कोही ढिलो जन्मनु कसैको अपराध होइन । तर, उसले स्थानीय स्तरमा आफूलाई अब्बल र विश्वसनीय बनाएको छ भने सानै उमेरको किन नहोस् उसले उम्मेद्वार हुने हक राख्दछ । तर, कपाल फुलेको भए पनि छरछिमेकी र समाजका लागि सधँै सकारात्मक रुपमा काम गरिरहेको छ भने उसलाई उम्मेद्वार बन्न उमेरले छेक्दैन । जसले जिते पनि राजनीतिक दलको चुनाव चिन्हबाट जितेपछि त्यो व्यक्ति त्यही चिन्हधारी दलकै सङ्ख्याभित्र गनिनेछ । त्यस्तो अवस्थामा राजनीतिक दलले उम्मेद्वार छनोटमा दूरदृिष्ट राख्नैपर्छ ।
………………….