उम्मेद्वारको भीडभित्र देवीप्रसादको खोजी

  प्रकाशित मिति
२७ जेष्ठ २०७४, शनिबार ०८:२४


devi
एक आङ र एक छाकको समस्याले कैयन नेपालीहरु आजका दिनमा पनि तड्पिरहेका छन् । तर, निर्वाचनको समयमा यस्तो लाग्छ कि यहाँ कसैलाई एक आङ र एक छाकको कुरो त के, विजुलीको पिलर र घरका छतले पनि छताछुल्ल लाउन पाएका छन् । प्रसङ्ग स्थानीय तहको चुनावकै हो । अहिले जहाँ–जहाँ चुनावी चहलपहल छ, त्यो ठाउँका रुखका हाँगाले पनि लुगा लगाउन पाएका छन् । सयौँ नेपालीका घरका छानाहरु च्यातिएका छन् तर होडिङ बोर्ड र फ्लेक्स प्रिन्टले वेकामे भित्ताहरु पनि छोपिएका छन् ।

जीवनमै मुन्टो फर्काएर नहेर्नेहरु जुम्ल्याहा हात गरेर भोट माग्दै नतमस्तक बनिरहेका छन् । बोली र व्यवहारको कहिल्यै पनि तालमेल नगर्नेहरु रातारात गाउँ र वस्तीलाई अनुपम सुन्दरताको पगरी लगाइदिन पछि परेका छैनन् । चुनावी माहोलमै भन्नुपर्छ– भक्ति, शक्ति र दौलतले धेरै नै ठूलो चलखेल गरेको हुन्छ नै । राजनीतिक आस्था, विचार र सिद्धान्त भन्दा पनि वाक पटुकहरुको वोलवाला नै चुनावी रौनक हो भन्दा सायदै फरक पर्दैन । दुई दशक लामो समयपछि फेरि पनि हामी स्थानीय सरकार गठनको महाअभियानमा जुटेका छौँ । धेरै नयाँ र पुराना अनुहारहरु अहिले उम्मेद्वारको रुपमा चुनावी मैदानमा छन् । कति पार्टीको टिकट पाएर मख्ख परेका छन्, नपाउनेहरु रिसले रन्किएर थन्किएका छन् । कति अझै पाउँछु कि भन्ने ध्याउन्नमा जेल, नेल र आन्दोलनका कुरा उठाएर चौतर्फी दौडिरहेका छन् । कतिको ध्यान कसलाई जिताउने र कसलाई हराउने खेलोफड्को मै बितेको छ । तर, यही चुनावी माहौलको भीडभित्र म त्यस्तो एउटा अनुहारको खोजी गरिरहेको छु जो सदा मेरो जनप्रतिनिधि बनिरहेका छन् ।

हुन त उनी अहिल्यै यो भौतिक संसारमा छैनन्, फेरि पनि उनले गरेका सत्कर्महरुले आज पनि उनी एक असल कर्मठ र इमान्दार जनप्रतिनिधिको रुपमा जनताको मनमा विराजमान बनेका छन् । उनी अर्थात् देवीप्रसाद काफ्ले । देवीप्रसाद काफ्ले उम्मेद्वार बन्दा एउटा राजनीतिक पार्टीकै उम्मेद्वारको रुपमा बन्थे तर जव उनी जनप्रतिनिधि बन्थे, उनी जनताका प्रतिनिधिका रुपमा बोली र व्यवहारको एक रुपतामा उभिने गर्थे । आज पनि झापाको महारानीझोडा देवीप्रसाद काफ्लेसँग उत्तिकै सजीव ढङ्गले उभिरहेको छ । एक आदर्श पात्रको रुपमा बाँचेका देवीप्रसाद जस्ता उम्मेद्वार आज सिङ्गो झापाले खोजिरहेको छ । तर, विडम्वना भन्नुपर्छ– सिद्धान्त र आदर्श दन्तेकथाको रुपमा उभिएको वर्तमान राजनीतिक माहोलमा देवीप्रसादहरु भेट्न निकै नै कठिन हुँदो रहेछ । सपनाको विस्कून लगाएर चुनाव जितेपछि फर्किदा पनि नफर्किने चतुर राजनीतिका खेलाडीहरुको धेरैवटा खेल हामीले रमिते बनेर हेरिसकेका छौँ ।
स्थानीय तहको निर्वाचन लामो समयपछि भएपनि यसअघि भएका संविधानसभा र संसदीय निर्वाचनमा विजयी बनेर गएका जनप्रतिनिधि हौँ भन्ने राजनीतिक खेलाडीले देखाएका तमासाहरुबाट पनि हामी जानकार नै छौँ । यहाँ मैले उठाउन खोजेको कुरा के हो भने आफूलाई जनप्रतिनिधिको रुपमा उभ्याएर आफ्नो स्वार्थ पूरा गरेपछि दायाँबायाँ नहेर्ने प्रवृत्तिलाई नजिकबाट नियालेर अब हुने स्थानीय तहको निर्वाचनमा हामीले ‘हाम्रो उम्मेद्वार हाम्रै लागि’ भन्ने विश्वासका साथ अगाडि बढ्न सक्यौँ भने हामीसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा हामी देवीप्रसाद जस्ता जनप्रतिनिधिलाई प्रतिनिधित्व गर्न सक्छौँ । मैले यहाँ यसर्थ पनि देवीप्रसाद काफ्लेको प्रसङ्ग ल्याएको हुँ कि उनी तत्कालीन महारानीझोडाका जनपक्षीय प्रधानपञ्च थिए । आज पनि त्यो ठाउँमा देवीप्रसाद जनपक्षीय प्रधानपञ्चदेखि बहुदलीय व्यवस्थाको आगमन पश्चात निरन्तर गाविसको एकल नेतृत्व बन्न यसर्थ पनि सफल थिए कि उनी वास्तविक जनप्रतिनिधि थिए ।

भौतिक रुपमा देवीप्रसाद हामीसँग हुँदा हुन् त आजको स्थानीय तहको निर्वाचनमा उनी फेरि कुनै पार्टीका उम्मेद्वार त बन्न सक्थे तर भावनात्मक रुपमा भने जनताको उम्मेद्वारका रुपमा रहन्थे र उनको प्रचार उनको पार्टीले होइन, जनता आफैले गर्ने थिए । निर्वाचनको समयमा बोल्ने मान्छे र त्यसले बोलेका कुराहरु बीचको तालमेललाई हामीले अहिले बुझ्न सकेनौँ भने पछि गएर हामीले आफैले आफैलाई पश्चतापको पात्र बनाउनुको विकल्प पनि हुँदैन । विशेषगरी स्थानीय तह गाउँपालिका वा नगरपालिका भनेको हाम्रो लागि अबको सिंहदरवार हो । हाम्रो भाग्य र भविष्यको निर्णयको एउटा हिस्सेदारको रुपमा रहेको गाउँपालिका र नगरपालिकामा आम शोषित पीडित जनताको प्रतिनिधि, विकास र निर्माणमा सक्रिय व्यक्ति र सवैलाई समान व्यवहार र दृष्टि पु¥याउने मान्छेलाई हामीले यही बेलामा चिन्न सक्नुपर्छ । मलाई त लाग्छ, यहाँ पार्टीको नीति र निर्णय अनुसार नै उम्मेद्वारहरु छानिएका होलान् । तर, पार्टीको नीति र निर्णय आफ्नै ठाउँमा हुन्छ, पार्टीभित्र पनि गुट र उपगुट हुन्छन् भन्ने सुनेको छु । गुट र उपगुटका पनि आ–आफ्नै मान्छे होलान् तर हामीलाई हाम्रा लागि अर्थात् जनताका लागि काम गर्ने असल मान्छे चाहिएको छ । अर्थात् जुनसुकै दल, पार्टी वा स्वतन्त्र भएपनि जनताको मर्म र भावनालाई आत्मसात् गरेर हिजोका दिनमा आफूले बोलेका कुराहरुलाई व्यवहारबाट पुष्टि गर्न सक्ने जनप्रतिनिधिको खाँचो छ । जसरी देवीप्रसाद निर्वाचनपछि कुनै दलको जनप्रतिनिधि नभई जनताको जनप्रतिनिधिको रुपमा जनताको अपेक्षाभन्दा पनि बढी जनताका कामका लागि, समाज विकासका लागि र जनमुखी काममा मरिहत्ते गर्ने गर्थे ।

मैले माथि उठाएको एउटा प्रसङ्गलाई अलिकति स्पष्ट पार्ने पर्छ कि अहिले चोक, सडक, गल्ली जताततै टाँगिएका र टाँसिएका फ्लेक्स प्रिन्ट, चुनाव चिन्ह र झण्डाको हिसाव गर्ने हो भने करोडौँभन्दा माथिको खर्च देखिन्छ । जुन गाउँ र बस्तीमा गएर उम्मेद्वारहरु भाषण गरिरहेका छन्, त्यही गाउँ बस्तीका मान्छेहरुका आङ नाङ्गै छन् । जुन मानिससँग उनीहरु भोट मागिरहेका छन्, तिनीहरुका छाना च्यातिएका छन्, तिनीहरुका घरमा पुग्ने बाटा भत्किएका छन्, कतिपय तिनीहरुका घरमा चुलो जलेको छैन होला तर रमिता झण्डा र व्यानरको छ । उम्मेद्वार र कार्यकर्ताहरु भोट जित्ने कुरा गर्छन् तर जनताको मन जित्ने कुरा आझेलमा पार्छन् । यो समय म उनै देवीप्रसादलाई उम्मेद्वारहरुको भीडभित्र खोज्ने प्रयत्न गरिरहेको छु । देवीप्रसाद नै त नपाइएलान् तर देवीप्रसाद जस्ता असल जनप्रतिनिधिको अनुशरण गर्नेहरु नै अहिले हाम्रा लागि काफी छन् । त्यसैले आसन्न निर्वाचनमा हामीले फेरि पनि देवीप्रसाद जस्तालाई जिताएर पठायौँ भने भोलिका दिनमा आफ्नो मतप्रति हामी गर्व गर्न सक्छौँ । यस्तो होस् कि एउटा झुत्रे लुगा लगाएको जनता पसिना चुहाउँदै गाउँपालिका वा नगरपालिकामा गएर आफ्नो समस्या हाँकाहाँकी आफ्नो जनप्रतिनिधिलाई भन्न सकोस्, त्यो जनप्रतिनिधिले आफूलाई त्यही जनता सम्झेर उसको समस्या आफ्नो सम्झन सकोस् । हुकुमीतन्त्रको शैलीमा जनप्रतिनिधिका अड्डालाई चलाउँछौँ भन्ने मैमत्त कर्मचारीतन्त्रको वर्तमानको शैलीलाई सदाका लागि जनमैत्री र जनमुखी सुशासनको साझा चौतारी बन्न सकोस् र त्यो जनप्रतिनिधि एक अमुक पार्टीको नभई आम जनतालाई मेरो हो भन्ने भावनात्मक सम्बन्ध जोड्न सक्ने प्रतिनिधि हामीले पठायौँ भने फेरि पनि हाम्रा गाउँ र बस्ती सुन्दर र समृद्धतर्फ अगाडि बढनेछन् । यसर्थ, हाम्रो होइन राम्रो जनप्रतिनिधि पठाएर हाम्रो मतलाई हामीले न्याय गर्ने दिन आएको छ, जसरी पटक–पटक देवीप्रसादलाई महारानीझोडाका जनताले मतदान गरेका थिए । उम्मेद्वार राजनीतिक पार्टीको टिकटबाटै उठेका हुन्छन्, स्वतन्त्र हुँ भन्नेहरु पनि कुनै न कुनै राजनीतिक विचारधाराबाट प्रेरित हुन्छन् तर मूल प्रश्न यो हो कि ऊ जनताप्रति इमान्दार र जवाफदेही छ कि छैन । ऊ आफूले चुनावका बेला बोल कबोल गरेका पूरा गर्ने इमान्दार र जवाफदेही चरित्रको हो कि होइन ? यो कुरालाई हामीले आजकै दिनमा उसको शैली, बोली र व्यवहारबाट चिन्न सक्नुपर्छ । हुन त निर्वाचनका बेलामा बाघहरु पनि स्यालजस्ता अझ भनौँ, ब्वाँसा प्रवृत्तिका भएर गाउँ र बस्तीमा पस्ने गर्छन्, प्रलोभनका मिठा र गुलिया बोली बोल्ने गर्छन् तर भोलिका दिनमा उनीहरुले आफ्नो असलीरुप प्रकट गर्छन् नै । यो बेला हामीले बेठिक ठाउँमा आफ्नो मत जाहेर गरेछु भनेर पछुताउनु भन्दा समयमै सचेत बनेर आफ्ना प्रतिनिधि चुनौँ, जसरी महारानीझोडाका जनताले देवीप्रसादलाई चिनेर चुनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: