उम्मेद्वार बन्न शिक्षकले दिए राजीनामा

  प्रकाशित मिति
२१ चैत्र २०७३, सोमबार १६:५०


मेचीनगर । यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार दिनका लागि झापामा तीन जना शिक्षकले राजीनामा दिएका छन् ।

शिक्षा नियमावली र ऐनमा राजनीति र शिक्षण पेशासँगै गर्न नपाइने भएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिव नारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी र शिवसाताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।

उनीहरु तिनै जना नेकपा एमाले र नेपाली काङ्ग्रेस पार्टीबाट नगर, गाउँपालिका तथा वडाका उम्मेद्वार बन्न लागेको बताउँछन् ।

‘मेरो पहिलेदेखि राजनीति तथा सामाजिक सेवा गर्ने धोको थियो’ प्रधानाध्यापक सिटौलाले भनिन्–‘त्यही भएर शिक्षण पेशाबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएकी हुँ ।’

उनी नेपाली काङ्ग्रेस पार्टीबाट स्थानीय तह निर्वाचनमा अर्जुनधारा नगरपालिकाको मेयर पदको उम्मेद्वारी बन्ने तयारीमा जुटेकी छिन् ।
२०४० साल भदौ १ गते शिक्षण क्षेत्रमा प्रवेश गरेकी उनी सेवा निवृत्त (रिटार्ड) हुन ४ बर्ष बाँकी छँदै २०७३ फागुन २३ गते जिल्ला शिक्षा कार्यालय झापामा राजीनामा दिएकी हुन् । २८ बर्ष सोही प्राविमा प्रअ रहेकी सिटौला यतिबेला मेयर पदको टिकटको लागि पार्टीमा लभिङ गरिरहेको बताउँछिन् ।

त्यसैगरी लोकबहादुर पनि नेकपा एमाले शिवसताक्षी नगरपालिका–६ को वडाध्यक्ष उठ्ने तयारी गर्दैछन् । विसं. २०४८ सालमा मङ्सिर १ गते स्थायी शिक्षकको रुपमा शिक्षण क्षेत्रमा प्रवेश गरेका उनले स्थानीय निकायको निर्वाचनमा उम्म्देवार बन्न कै लागि यही चैत ५ गते जिल्ला शिक्षा कार्यालयमा राजीनामा दिएको बताए ।

२६ बर्ष शिक्षण क्षेत्रमा विताएका ५२ बर्षे रोक्का भन्छन् ‘पार्टीले विश्वास गरेर वडाध्यक्षको उम्मेद्वार बन्न टिकट दिए चुनाव लडुछ् दिएन भने पनि पार्टीकै जिम्मेवारीमा बसेर काम गर्छु र टिकट पाउने साथीलाई विजय गराउन सक्दो भूमिका खेल्छु ।’

त्यसैगरी कवन कवल गाउँपालिकामा नेपाली काङ्ग्रेस पार्टीबाट उम्मेद्वारको आकांक्षी बनेका बुद्ध आधारभूत विद्यालय घेरावारीका प्रधानाध्यापक कालिन्द्र राजवंशीले पनि राजीनामा दिएको बताए ।

उनले उम्मेद्वार बन्नैका लागि २०७३ माग १४ गते राजीनामा दिएको बताए । २०५० भदौ ९ गते मोति निमाविमा पथरिया –१ (साविक) मा स्थायी शिक्षकको रुपमा नियुक्ति हुनुभएका उहाँ २०५६ सालदेखि निरन्तर बुद्ध आधारभूत निमाविमा प्रअको जिम्मेवारीमा थिए ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उनलाई पार्टीले गाउँपालिकाको उम्मेद्वार दिन्छ भन्नेमा विश्वास छ । उनी भन्छन्–‘पार्टीभित्र थुप्रै आकांक्षी हुनुहुन्छ तर पनि मेरो मूल्याङ्कन हुन्छ जस्तो लाग्छ ।’

तिनै जना शिक्षकको राजीनामा स्वीकृत भइसकेको जिल्ला शिक्षा कार्यालयका उपसचिव उद्वव विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: