उही पारा देख्ता बोतल मात्रै फेरियो भन्नुझैं भा’छ

  प्रकाशित मिति
२१ फाल्गुन २०७६, बुधबार १०:५७


                        पुण्यप्रसाद खरेल

झापाली गर्जन उपन्यासका लेखक पुण्य खरेलसँग उहाँको पुस्तकले दिनेको खोजेको सन्देश र वर्तमान सरकारको कार्यशैलीप्रति गरिएको कुराकानीको अंश

झापा विद्रोहलाई समेटर लेख्नुभएको ‘झापाली गर्जन’ उपन्यासको सन्देश के हो ?
पहिलो कुरा त यसलाई इतिहासमा आधारित उपन्यास भन्न सकिन्छ । यसले मुलुकका ऐतिहासिक घटना या राजनीतिक आन्दोलन पनि साहित्यका विषय बन्न सक्छन् भन्न सकिएला । अर्को कुरा झापा आन्दोलन स्वयम् जे उद्देश्यमा सञ्चालित थियो, त्यसलाई नै पक्षपोषण गर्नु यस उपन्यासले दिन खोजेको सन्देश हो ।

उपन्यासमा सुखानी सहिदको बारेमा कुन कुरालाई फोकस गर्नुभएको छ ?
उपन्यासको २५ औं अध्यायमा ५ जना विद्रोही झापाली बन्दीलाई जेल सरुवा गर्ने निहुँमा सुखानीको जङ्गलमा ल्याइपु¥याएपछि एक–एक गर्दै हतकडी र नेलसम्म नखोली कायरतापूर्वक हत्या गरिएको चित्रण छ । ती विद्रोही बन्दीहरुले पिठ्यूँ फर्काएका होइनन् । भागेका बेला गोली हानिएको पनि होइन । उनीहरुले जीवनको भिख मागेका पनि होइनन् । बरु आफ्नो अन्तिम अवस्थामा जनताको मुक्तिको दर्शन ‘माक्र्सवाद लेनिनवाद–जिन्दावाद !’, ‘जनवादी क्रान्ति–जिन्दावाद !’ भन्दै नारा लगाएका हुन् । यो दृश्यले क्रान्तिकारी योद्धाहरु देश र जनताको लागि आफूलाई वलिदान गर्नु परे पनि हिच्किचाउँदैनन्, तर क्रान्तिलाई धोका दिँदैनन् भन्ने प्रष्टिन्छ ।

सुखानीका सहिदले चाहेको परिवर्तन मुलुकमा भयो कि भएन ?
सुखानीमा यसरी निर्ममतासाथ हत्या गरिएका सहिदको सपना आंशिक रुपमा पूरा भयो नै । उनीहरुले तत्कालीन प्रतिक्रियावादी शासनलाई ध्वस्त पार्न चाहेका थिए । त्यो ध्वस्त भएको छ । तर आफ्नै सहयोद्धा कमरेडहरु अहिले शासनसत्तामा बसेका छन् । यसरी सतही रुपमा हेर्दा त चाहेअनुसारको परिवर्तन भएकै हो कि जस्तो लाग्छ । तर आफ्नो वर्गको हितमा राज्यतहबाट कुनै कामहरु भएका नदेख्ता र शासन–प्रशासनमा उही पारा देख्ता बोतल मात्रै फेरियो रक्सी त उही छ भन्नुझैं भा’छ ।

सरकारले के गरेदेखि सहिद परिवार र जनताप्रति सरकार वफादार भएको देखिन्छ ?
सहिद परिवारको बिचल्लीको कुरा अवर्णनीय छ । परिवारको मेरुदण्ड जस्तो मुख्य व्यक्ति आन्दोलनमा लागेर सहिद बनेपछि परिवारको हविगत के हुन्छ ? त्यसकारण, सहिदका परिवारको लालनपालन, शिक्षादीक्षा र रोजगारीको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ । यसो भन्दा म ‘सहिद’ भनेर गोलमटोल रुपमा भनिरहेको छुइन । मुलुकको निरङ्कुश शासनसत्ताका विरुद्ध सचेतन रुपमा लागेर प्रतिवद्ध रहेका योद्धाको प्रतिक्रियावादीका गोलीले, बन्दी रहँदा या सङ्घर्षरत रहँदा मृत्युवरण गरेका योद्धाको हकमा भन्दैछु ।

बत्र्तमान दुई तिहाईको सरकारलाई तपाईको सुझाव ?
दुई तिहाई त छैन, तर त्यस नजिक रहेको सरकारलाई सुझाव दिने कुरा आयो । अहिलेको सरकारलाई हाम्रा कुरा त भैंसीका अगाडि विनबाजा जस्तो हुन्छ । तैपनि, तपाईंको प्रश्नको उत्तरको सन्दर्भमा भन्नुपर्दा–केन्द्रमा नेकपाको पूर्ण बहुमतको सरकार छ, ७ प्रदेशमध्ये ६ प्रदेशमा पनि पूर्ण बहुमतको प्रदेश सरकार छ । ७५३ स्थानीय पालिकामध्ये ४०० भन्दा बढी पालिकामा पूर्ण बहुमतको सरकार छ । यी आफ्नो वहुमत भएका जति पालिकाहरु, प्रदेशहरु तथा सङ्घीय सरकारले पूर्ण रुपमा भ्रष्टाचारमुक्त, स्वच्छ र सुशासन देखाउन सकुन् ! निजी आर्जनमा नलागुन् ! विदेश भ्रमण र सौखिन कुरामा नलागुन् ! हिजोका प्रतिक्रियावादीको दलनमा परेको बेलाको कुरा सम्झिउन् ! सबै अड्डा–अदालतमा भुइँमान्छेले काम गर्न सहज वातावरण बनोस् ! घुस र भ्रष्टाचार नहोस् ! विधिमा, रितमा मुलुक चलोस् ! यस्तो अपेक्षा गर्थें म । यति गर्न कुनै आर्थिक दायित्व थप्नु या खप्नु पर्ने थिएन ।

शिक्षा र स्वास्थ्य जनतासँग जोडिएका कुरा हुन् । यसमा व्याप्त निजीकरणले पञ्चायत कालभन्दा डरलाग्दो गरी यी सामान्य मान्छेका पहुँचभन्दा पर पुगेका छन् । यसलाई सच्याएर सबैले रोजेको विषय पढ्न पढाउन पाउने र उपचार गराउन सक्ने व्यवस्था गरे हुन्थ्यो । तर नेकपाको सरकार नै शैक्षिक र स्वास्थ्यका माफियाको फन्दामा फँसेको महसुस हुँदा दुःख लागेको छ ।
सांस्कृतिक कुराको विषय त भनूँ कि नभनूँ ? हिजो क्रान्तिताकाको चेतनालाई बुझेर त्यसबेलाको साहित्य, त्यसबेलाका गीतसङ्गीत सम्झिए हुने । त्यस बेलाका सांस्कृतिक कार्यक्रम र अन्धविश्वास या रुढीका वारेको सोचलाई बुझी त्यसबमोजिम आचारसंहिता बनाए, चले हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: