एउटा पालिकाबाट अर्कोमा जान नपाइने

  प्रकाशित मिति
२२ चैत्र २०७६, शनिबार २१:२६


पूर्वी नाकामा झन कडाइ

काँकरभिट्टा । एक पालिकाबाट अर्को पालिकामा जान अब नपाइने भएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका संक्रमित नेपालमा पनि थपिदै गएपछि सरकारले एउटा नगरपालिकाबाट अर्को नगर तथा गाँउपालिका जान नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

विदेशबाट नेपाल आएकालाई मात्र अहिलेसम्म संक्रमण भएको थियो । तर, अब नेपालमा स्थानीयलाई संक्रमणले भेटेपछि सरकारले लकडाउनलाई कडा पार्ने निर्णय गरेको छ ।

संक्रमित एकपछि अर्को थपिदै गएपछि लकडाउनलाई कडाइ गर्ने निर्णयमा पुग्यो । नेपालमा कोरोना संक्रमितको संख्या शनिबारसम्म ९ पुगेको छ ।

एकैपटक तीन जना कोरोना संक्रमित फेला परेका छन् । त्यसमध्ये एक जना पहिलो पटक नेपालभित्रै संक्रमित भएको सरकारले पुष्टि गरेको छ ।

कोभिड–१९ को संक्रमणले भारत स्थित पानीट्याङ्कीका स्थानीयलाई समेत भेट्न थालेपछि पूर्वी नाका काँकरभिट्टामा प्रहरीले झन कडाइ गर्न थालेको छ ।

भारतको पानीट्याङ्की बजारबाट दुई किलोमिटर दुरीको बतासीमा एक जना युवामा कोरोना भाइरसको संक्रमण भेटिएपछि पूर्वी नाकामा थप कडाइ गरिएको छ ।

एकहप्ता अघिमात्र दार्जिलिङ्बाट सिलिगुडीसम्म गाडीमा संक्रमितसँगै आएकी एक नेपाली युवतीलाई समेत संक्रमण भेटेको थियो । बागडुग्रा निवासी उनको संक्रमणकै कारण मृत्यु भएको बुझिएको छ ।

कोभिड–१९ को संक्रमण भारत स्थित पानीट्याङ्कीमा पनि भेटिन थालेपछि काँकरभिट्टा तथा मेचीनगरबासी थप शशंकित हुन थालेका छन् ।
सीमा नाकाबाट नेपाल पस्ने जो कोहिलाई स्थानीयले सोधपुछ तथा लखट्नेसम्म गर्न थालेका छन् । स्थानीयबासीले आफ्ना घर तथा टोल–टोल जाने बाटो र सडकमा बासका भाटा तेर्साएर बाटो बन्द गरेका छन् ।

गाउँलेले नयाँ मान्छे गाउँमा देख्ने वित्तिकै सोधपुछ र निगरानी समेत बढाएका छन् । विदेशबाट आएको थाहा पाउनसाथ गाउँलेले तुरुन्त पक्रेर क्वारेन्टाइन बुझाउने गरेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डिएसपी राजेन्द्र पोखरेलले पूर्वी नाका पुरै कडा पारिएको बताए ।
सरकारले लकडाउन गरेको आज १२ दिनमा २६ जनालाई नाकाबाट पक्राउ गरी क्वारेन्टाइनमा बुझाइएको उनले जानकारी दिए ।

शनिबारमात्र भारतबाट भोजपुर हिडेका २६ वर्षिय आनन्द लम्साललाई मेची पुल छेउ खोलाबाट काँकरभिट्टा तर्दै गर्दा विहान पक्राउ गरिएको डिएसपी पोखरेलले बताए ।

उनका अनुसार लम्साललाई आदर्श मावि इटाभट्टाको क्वारेन्टाइनमा राखिएको छ । यसअघि पक्राउ परेका अन्यलाई समेत मेचीनगरको पशुपति मावि र सरस्वती मावि बाहुनडाँगी, स्वास्थ्य चौकी धाइजनको क्वारेन्टाइनमा राखिएको छ ।

लम्सालसहित मेचीनगरका क्वारेन्टाइनमा ४५ जना कोरोना आशंका गरिएका व्यक्तिलाई राखिएको मेचीनगरपालिकाको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

लकडाउनको उल्लघंन गर्नेलाई दैनिक पक्राउ गर्दै सचेतना दिने गरेको प्रहरीको भनाई छ । ‘प्रहरी एक्लैले लकडाउनमा उल्लघंन गर्ने र नाकामा कडाइ गर्नेलाई रोक्न सक्दैन’, डिएसपी पोखरेलले भने –‘स्थानीयबासीको सहयोग अपरिर्हाय छ । कोभिड–१९ को संक्रमणबाट बच्न तपाई–हामी सबै एकजुट भएर लागे मात्र रोकथाम गर्न सकिन्छ ।’
प्रहरीलाई भ्रमित हुने खालका कुनैपनि सूचना नदिनसमेत प्रहरीले स्थानीयलाई आग्रह गरेको छ ।

झापाको सीमा नाकाको ११८ किलोमिटर क्षेत्रमा पोष्टहरु र जनशक्ति थपेर कडाइ पारिएको प्रहरीको भनाई छ । नाकाबाट अब चरोमुसो समेत नछिर्ने गरी त्यति कडाइ गरिएको प्रहरीले दावी गरेको छ ।

झापाको गौरीगञ्ज, भद्रपुर, सतिघट्टा, नकलबन्दा, बाहुनडाँगीको तेलपानीदेखि इलामको सलकपुर नाका तिरिङ्सम्मको क्षेत्रमा प्रहरी र पोष्ट थपेर कडाइ गरिएको डिएसपी पोखरेलले जानकारी दिए ।

कोभिड–१९ को संक्रमण पानीट्याङ्कीका नागरिकमा समेत देखिन थालेपछि मेचीनगरबासी चिन्तित बन्न थालेका छन् । संक्रमणबाट बच्न नगरबासीले होसियारी अपनाउन थालेका छन् ।

लकडाउनमा घर बाहिर नस्किन, सावुन पानीले मिचिमिचि हात धुन, मास्क लगाउन, भिडभाड नर्गन, हात नमिलाई नमस्ते गर्न, घर वरपर सरसफाइ राख्न सबैले सचेतना लिन थालेका छन् ।

त्यस्तै, अत्याआवश्यक खाद्य वस्तु लिन विहान बेलुकाको समयमा भिडभाड नगरी एक मिटर दुरीमा बस्न, ज्यालादारी मजदुरका लागि स्थानीय सरकारसँगको समन्वयमा राहत वितरण गर्न, विदेशबाट कोहि आएको थाहा पाए तत्काल क्वारेन्टाइनमा लान र नाकामा स्थानीयले निगरानी गर्न थालेका छन् ।

लकडाउनको पुरै पालना गर्न, नगरपालिका र प्रहरीको आग्रहलाई नगरवासीले ध्यान दिन थालेको डिएसपी पोखरेलको भनाई छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: