एउटा पुस्तक भर्खर लेखीसिध्याएँ

  प्रकाशित मिति
३ असार २०७३, शुक्रबार २२:१६


tirtha

पत्रकार तीर्थ सिग्देल झापाको पत्रकारिता जगतमा नेतृत्व तहको सुपरिचित नाम हो । रेडियो नेपाल, नेपाल समाचारपत्र, गोरखापत्र, मेची टाइम्स लगायतका पत्रिकामा समाचारदाता र सम्पादकको जिम्मेवारी सम्हालेका सिग्देल पछिल्लो समय पुस्तक लेखनमा व्यस्त छन् । कृतिकारको रुपमा फड्को मार्न लागेका उनीसँग लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीले गरेको पुस्तक वार्ता प्रस्तुत छ–

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
झापा आन्दोलनमा मारिएका धर्मप्रसाद ढकालको जीवनीमा आधारित पुस्तक र पद्मसुन्दर लावतीको आत्मकथा पढ्दैछु । म आफु पनि आत्मकथा लेखिरहेको हुँदा अरुका पुस्तक पनि कस्ता रहेछन् भनेर पढिरहेको छु ।

कस्ता पुस्तक बढी मन पर्छन् ?
राजनीतिक र ऐतिहासिक पृष्ठभूमि भएका पुस्तक मन पर्छ । पुस्तक मनोरञ्जनका साधन मात्र हुन सक्दैनन् । यसले समाजको इतिहास र विकासका क्रम बारे पनि सन्देश दिन्छ । त्यस्ता पुस्तकले मानिसलाई सामाजिक परिवर्तनको बाटोमा लाग्न प्रेरणा दिन्छ ।

मन परेको नेपाली लेखक ?
पत्रकार एवम् लेखक मोहन मैनाली । उहाँको उपल्लो थलो, मान्ठा हराएको जुग लगायतका पुस्तक ज्यादै राम्रा छन् । यसर्थ राम्रा कि उहाँका कृतिमा कल्पना र कुण्ठाका गथासाहरू हुँदैनन् । उहाँ सत्यको खोज र अनुसन्धान गरेर मात्र पुस्तक लेख्नु हुन्छ । समकालीन लेखनमा उहाँ भिन्नै धारको सर्जक हो ।

साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
मोहन मैनालीको ‘मान्ठा हराएको जुग’ नामक पुस्तक पढ्न अनुरोध गर्दछु । यस पुस्तकमा नेपाली समाजले १० वर्षे द्वन्द्वकालमा र त्यसपछिको शान्तिकालमा गरेको अनुभूतिको वस्तुपरक चित्रण छ । द्वन्द्वले छियाछिया पारेको गाउँवस्तीको जीवन कसरी चल्दैछ भन्ने पुस्तकमा मार्मिक उल्लेख छ ।

पुस्तक खरिदमा मासिक कति खर्च हुन्छ ?
बजेट छुट्याएरै पढ्ने मेरो बानी छैन । मन परेका पुस्तक जतिबेला र जति मूल्यमा पनि किनेर पढ्छु ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
थुप्रै छन् । एउटा यो भनेर किन उल्लेख गर्नु र !

पुस्तक पढ्ने उपयुक्त समय ?
बेलुका अलि छिटै घर पुगियो भने मज्जाले पढिन्छ । नत्र मन परेका पुस्तक जतिबेला भ्याउँछु त्यतिबेलै पढ्छु ।

पढिसकेपछि पुस्तक कसरी जतन गर्नु हुन्छ ?
घरमा र्याकमा राख्छु । ज्ञानका भण्डार हुन् भनी जतन गर्छु । किनभने पुस्तक फेरि कुनै पनि बेला र्याकबाट निकालेर पढ्नु पर्ने हुन सक्छ ।

पढ्न मन लागिरहेको पुस्तक ?
नेत्र पन्थीजीले लेख्नु भएको ‘डिभोर्स’ । प्रचण्ड र बाबुराम छुट्टिएको कथा त्यसमा छ भन्ने सुनेको छु ।

कुनै पुस्तक लेख्दै हुनुहुन्छ कि ?
‘जीवनको गति’ नामक एउटा पुस्तक भर्खरै लेखीसिध्याएँ । यो मेरो पहिलो पुस्तक हो । मैले पत्रकारिता जीवनको २ दशकमा देखेका र भोगेका राजनीतिक र सामाजिक परिदृश्य नै मेरो पुस्तकको विषयवस्तु हो । झापा विद्रोहदेखि यता २०६२÷०६३ सम्मको घटनामा दुबै पक्षका पीडित विभिन्न पात्रहरू मेरो कितावमा आउनेछन् । यो एउटा झापाको राजनीतिक र सामाजिक इतिहास चिनाउने महत्वपूर्ण ऐना बन्ने छ । यही साउनको पहिलो सातामा बजार पुस्तक आउन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: