एउटै कोठामा विद्यार्थी कोचाकोच

  प्रकाशित मिति
२३ बैशाख २०७३, बिहीबार ०९:०३


DSC07119

कुञ्जिबारी । एउटा कक्षामा सामान्यतः कति विद्यार्थीलाई राखेर पढाइन्छ ? ३० जना, ४० जना वा ५० जना । तर, झापाको दक्षिणी गाविस महाभारा–३ कुञ्जिबारीमा रहेको बालकल्याण उमाविमा एउटै कक्षामा १ सय ६ जना विद्यार्थी राखेर पढाइ हुन्छ ।

कक्षाकोठा र शिक्षक दरबन्दीको अभाव भएपछि यस विद्यालयमा कक्षा–९ का यी सबै विद्यार्थी एउटै कोठामा कोचिएर पढ्न बाध्य भएका हुन् ।

‘यो हाम्रो बाध्यता हो’, विद्यालयका प्राचार्य भोलाप्रसाद खतिवडाले भने–‘एकातिर शिक्षक दरवन्दी छैन, अर्काेतिर भवनको चरम अभाव छ । जसले गर्दा जति विद्यार्थी भए पनि सेक्सन छुट्याएर पढाउन सकिएको छैन छ । भर्ना अभियान जारी भएकाले यो सङ्ख्या अझै बढेर १ सय २० सम्म पुग्ने सम्भावना देखिन्छ ।’

यसो त यो विद्यालयको कक्षा–९ मात्र होइन, अन्य कक्षाहरूको अवस्था पनि उस्तै छ । कक्षा–१ देखि १० सम्म हरेक कक्षामा सरदर ७७ भन्दा माथि विद्यार्थीलाई एउटै कोठामा पढाइँदै आएको छ । नमुना विद्यालयका रुपमा अघि बढ्दै गएको र पढाइ समेत राम्रो हुने भएकाले दिनानुदिन विद्यार्थी सङ्ख्या बढ्दै गएका हुन् ।

लोकतन्त्रकर्मी ३ बजेर ४५ मिनेटमा विद्यालय पुग्दा सबै कक्षाकोठामा पढाइ भइरहेको थियो । यसले के देखाउँछ भने सामुदायिक विद्यालय भएर पनि कुनै निजी भन्दा कम नभएको प्रमाणित गरिदिएको छ । पढाइको गुणस्तरका लागि विद्यालयले हरदम कसरत गरिरहेको देखिन्छ । साथै आदिबासी समुदायको बाक्लो वस्ती भएका कारण यस विद्यालयमा उल्लेख्य रुपमा विद्यार्थी सङ्ख्या रहेको छ । बालकक्षामा मात्र ५२ जना विद्यार्थी रहेको शिक्षक लोचन यादवले बताए । उनका अनुसार प्रावि तहमा २ सय ५० विद्यार्थी रहेका छन् । यसैगरी कक्षा ६ मा ६५, कक्षा ७ मा ५४, कक्षा ८ मा ८०, कक्षा ९ मा १ सय ६ र कक्षा १० मा ८१ जना विद्यार्थी अध्ययनरत छन् । यी कुनै पनि कक्षामा सेक्सन नछुट्याई यस्तो गर्मी मौसममा पनि एउटै कक्षामा राखेर पढाउनु पर्ने बाध्यता विद्यालयको रहेको छ । एउटै कक्षामा यति धेरै विद्यार्थी राखेर पढाउनु पर्ने बाध्यताले गर्दा पढाइको गुणस्तरलाई भनेजस्तो बढाउन नसकिएको शिक्षकहरू बताउँछन् ।

‘होमवर्क कहिलै चेक हुँदैन’, कक्षा–९ की विद्यार्थी मनिषा राजवंशीले भनिन्, ‘विद्यार्थी धेरै भएकाले होमवर्क हेर्न समय लाग्छ । जसले गर्दा सरले होमवर्क हेर्न नै भ्याउनु हुँदैन । कमसेकम हामीलाई सेक्सन छुट्याएर पढाइदिए राम्रो हुने थियो ।’

जिल्ला शिक्षा कार्यालय झापाले सञ्चालन गरेको नमुना विद्यालय अभियान अन्तरगत ५२ वटा भित्र परेको यो विद्यालयमा मङ्गलबार सम्ममा ७ सय ५० जना विद्यार्थी सङ्ख्या पुगेको छ । यो व्रmम अझै बढ्ने सम्भावना छ ।

शिक्षा मन्त्रालयको मापदण्ड अनुसार सामान्यतया १ जना शिक्षकका लागि ३० जना विद्यार्थी हुनुपर्छ । यस हिसाबले हेर्ने हो भने यो विद्यालयमा ३ जना शिक्षकको दरबन्दी अपुग देखिन्छ । अहिले यस विद्यालयमा प्रावि तहमा ८, निमाविमा ४, माविमा ५ र सहयोगी कार्यकर्ता २ जना कार्यरत छन् ।

यस विद्यालयमा नजिकै रहेको निजी विद्यालयबाट पनि विद्यार्थी धमाधम आइरहेका छन् । प्राचार्य खतिवडाका अनुसार ३५ जना भन्दा धेरै विद्यार्थी निजी विद्यालयबाट आएका छन् ।

‘भवन अभावले पढाइमा असर परेको छ’, स्रोत व्यक्ति छवि बस्नेतले भने, ‘जिल्ला शिक्षा कार्यालयबाट प्राप्त चार कोठे भवन निर्माणको व्रmममा छ । यो भवन बनेपछि केही सहज त हुन्छ तर शिक्षक दरबन्दी नभएका कारण समस्या रहिरहेन छ । दरबन्दीका लागि पनि हामीले पहल गरिरहेका छौँ ।’

कक्षा–१० की विद्यार्थी जमुना कट्वालले भवन नभएपछि एउटै कोठामा धेरै विद्यार्थी पढ्न बाध्य भएको बताइन् । उनले कक्षा–१० लाई सेक्सन छुट्याएर पढाइ भए उत्तीर्ण गर्न सहज हुने बताइन् ।

प्राचार्य खतिवडाका अनुसार विद्यार्थी सङ्ख्याका आधारमा दुई वटा दरवन्दी थप हुने अवस्था भए पनि प्राप्त गर्न नसकिएकाले यो समस्या भएको हो  । जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जिल्लाभर दरवन्दी मिलान गरिरहेकाले विद्यार्थी सङ्ख्याका आधारमा सबै विद्यालयमा दरवन्दी दिने तयारी गरिरहेको बताए । ‘यस विद्यालयमा दरवन्दी कम छ’, जिशिअ लुइँटेलले भने–‘हामी सकेसम्म चाँडै दरवन्दी मिलानको व्रmममा छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: