चारआली । मेचीनगर–१३ चारआली बजारस्थित न्यौपाने निवासमा नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले वडास्तरीय चुनाव प्रचार कार्यालय खोलेका छन् ।
राजमार्गसँगै जोडिएको न्यौपाने निवासमा एउटा पुरानो र अर्को नयाँ भवन छ । पुरानो भवनको एउटा कोठामा राप्रपाले र सँगै टाँसिएको नयाँ भवनको अर्को एउटा कोठामा काङ्ग्रेसले कार्यालय सञ्चालन गरेको हो ।
‘वर्तिर हाम्रो र पर्तिर राप्रपाको कार्यालय हुँदा रमाइलै लागेको छ’, नेपाली काङ्ग्रेसका तत्कालीन दुहागढी गाउँ सभापति पुष्पराज कार्की भन्छन्–‘आफ्नो आफ्नो कार्यालयमा बसेर पार्टीको काम हुन्छ, नराम्रो मान्ने कुरै छैन ।’
चारआली बजारमा पार्टी कार्यालयका लागि अन्यत्र ठाउँ नभएको भने होइन । न्यौपाने निवासमै दुबैले कार्यालय खोल्नुमा रोचक कारण छ ।
घरधनी गणेशकुमारी न्यौपाने राप्रपाकी पुरानो कार्यकर्ता र छोरा सन्तोष न्यौपाने नेपाली काङ्ग्रेसका कार्यकर्ता हुन् । आमा र छोरा बर्षौदेखि अलग अलग पार्टीका नेतृत्व तहमा छन्, तर उनीहरुको बसोबास एउटै घरमा छ ।
शिक्षित र प्रतिष्ठित मानिएको सो परिवारमा राजनीतिक आस्थाले घरेलु सम्बन्धमा कहिल्यै प्रभाव पार्दैन । राजनीतिक कारणबाट त्यो घरमा कहिल्यै विवाद हुँदैन ।
गणेशकुमारी न्यौपाने राप्रपाकी जिल्ला सदस्य हुन् । प्रभावशाली वक्ताको रुपमा चिनिएकी उनकै कारण राप्रपाले पार्टी कार्यालय त्यहाँ राखेको हो ।
उता सन्तोष न्यौपाने पार्टीको तत्कालीन दुहागढी गाउँ समितिका सभापति हुन् । उनकै कारण काङ्ग्रेसले न्यौपाने निवासमा प्रचार कार्यालय खोलेको हो ।
राप्रपा कार्यालयका सचिव चन्द्र भण्डारीले गत जेठ ६ गते राप्रपाको वडा प्रचार कार्यालय खुलेको बताए । पार्टीका केन्द्रीय सदस्य भक्ति सिटौलाले कार्यालय उद्घाटन गरेका थिए । उनले दुबै पार्टीका कार्यालयमा आउने कार्यकर्ताविच सौहार्दता प्रकट हुँदै आएको बताए ।
यता काङ्ग्रेसको कार्यालय बैशाख १० गते नै केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले उद्घाटन गरेको पार्टीका वडा चुनाव प्रचार समितिका संयोजक लाल थेबे बताउँछन् । राप्रपाको तुलनामा काङ्ग्रेसको कार्यालयमा आउनेजानेको भीड देख्न सकिन्छ ।
लोकतान्त्रिक समाजमा एउटै परिवारका सदस्यहरु समेत भिन्न राजनीतिक आस्था बोकेको दलमा आवद्ध हुन सक्छन् । यसलाई स्वाभाविक मानिन्छ ।
राप्रपाले सो वडाको अध्यक्ष पदमा रामप्रसाद प्याकुरेललाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको छ । प्याकुरेल नियमित रुपमा कार्यालय आउने गर्छन् । तर काङ्ग्रेसले पुष्पराज कार्कीलाई वडाध्यक्ष पदको उम्मेद्वारमा सिफारिस गरे तापनि अरु आकांक्षीहरुले त्यसमा असहमति प्रकट गरे पछि हाल अन्तिम निर्णय हुन बाँकी नै छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)