एकमात्र ‘चिफ एडिटर’ सुशीला सङ्ग्रौला

  प्रकाशित मिति
२३ फाल्गुन २०७४, बुधबार २१:०४


मेची टाइम्सकी सुशीला सङ्ग्रौला झापाबाट प्रकाशित ९ वटामध्ये दैनिक पत्रिकामा कार्यरत एक मात्र महिला सम्पादक हुन् ।

पत्रकारिता जस्तो चुनौतीपूर्ण पेशा रोजेकी सम्पादक सुशीलाले २०५८ मा विवेचना दैनिकको कम्प्यूटर अपरेटरबाट क्यारियर सुरु गरेकी थिइन् ।

निरन्तर मिहेनत र सङ्घर्षपछि उनी जनआन्दोलन साप्ताहिक र अर्जुनधारा दैनिक हुँदै हाल मेची टाइम्सको सम्पादक भएकी हुन् ।

पछिल्लो समय महिला पत्रकारको सङ्ख्यामा बृद्धि भए पनि नेतृत्वदायी पदमा पहुँच थोरैको मात्र छ । जसमध्ये झापामा उनी इतिहास रच्न सफल भएकी छन् ।

२०२८ सालमा मोरङको रङ्गेलीमा जन्मिएकी उनले थुप्रै सामाजिक सम्मान पाएकी छन् । पेशा र जिम्मेवारीप्रति सन्तुष्ट उनी भन्छिन्–‘मिडियामा काम गर्नु आँफैमा ठूलो जिम्मेवारी बोक्नु हो, अरु महिलाहरु पनि यस्तै पदमा पुगुन् भन्न्ने चाहन्छु ।’

एउटा रिपोर्टरको सपना भनेको सम्पादक बन्ने नै हुन्छ । उनले त्यो सपना हासिल गरिसकेकी छिन् । तर उनले सुरुका सङ्घर्षमय दिनहरु भुलेकी छैनन् ।

‘महिलाले पत्रकार हुँ भन्दा पनि नपत्याउँला जस्तै गर्थे उबेला हाम्रै समाजका कतिपय मान्छेहरु’, उनी आफ्नो अनुभूति सुनाउँछिन्–‘तर आज समय बदलिएको छ, पुरुष पत्रकारलाई जस्तै सम्मान गर्छन् महिलालाई पनि ।’

सुशीलाको पत्रकारिता यात्रा विवाहपछि नै सुरु भएको हो । उनलाई पतिले नै यो पेशामा लाग्न हौसला र प्रेरणा दिएका थिए ।

महिलाको राजनीतिक सहभागिता बढ्दै जाँदा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पनि महिलाले सम्हालिसकेका छन् ।

‘अब पत्रकारितामा पनि महिला कमजोर छैनन् भन्ने सन्देश दिन जरुरी छ’, नेपाल पत्रकार महासङ्घको जिल्ला कमिटीमा बसेर पत्रकारहरुको नेतृत्व समेत गरेको अनुभव सँगालेकी उनी भन्छिन्–‘पत्रकार महासङ्घ र प्रेस काउन्सिल जस्ता संस्थामा पनि महिलाले नेतृत्व पाउनु पर्छ ।’

उनी पत्रकारिता क्षेत्रमा क्रियाशील आम सहकर्मीहरुलाई नारी दिवसको अवसरमा अझ मिहेनत, धैर्य र उत्साहपूर्वक निडर पत्रकारिताको मार्गमा अगाडि बढ्न आह्वान गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: